राप्ती आँखा अस्पतालमा जलविन्दु उपचार सेवा सुरु भएपछि स्थानीयलाई राहत

दाङ, ८ जेठ । राप्ती आँखा अस्पताल रक्षाचौरले जलविन्दु (ग्लुकोमा) रोगको विशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालमा उपचारका लागि आउने जलविन्दुको समस्या देखिएकाहरूलाई उपचारका लागि काठमाडौँ पठाउनुपर्ने अवस्था अन्त्य गर्ने सेवा सुरु गरेको अस्पतालले जनाएको छ ।
अस्पतालमा सहायक प्राध्यापक डा रञ्जितकुमार शाहको आगमनसँगै केही दिनअघि जलविन्दुको विशेष उपचार सेवा सुरु भएको हो । सेवा सुरु भएसँगै बिरामीहरू घर आँगनमै उपचार पाएको भन्दै खुसी भएका छन् ।
तुलसीपुर–१५ की ८३ वर्षीया जयमोती थरुनीले लामो समयपछि उपचार सेवा पाएपछि खुसी व्यक्त गरे । घरबारविहीन थरुनीले उपचारपछि नयाँ जीवन पाएको अनुभव भएको बताए।
डा शाहका अनुसार यहाँ बहिरङ्ग सेवा (ओपिडी) लिन दैनिकजसो दुईदेखि तीन सय बिरामी आउने गरेका छन् । तीमध्ये पाँचदेखि सात जनामा जलविन्दुको समस्या देखिने गरेको छ । “जलविन्दु आँखामा दबाब बढेर दृष्टिमा असर पु¥याउने रोग हो । प्रारम्भिक अवस्थामा उपचार सुरु गरिएमा दृष्टि जोगाउन सकिन्छ तर धेरैजसो बिरामी ढिलो गरी अस्पताल आउने भएकाले दृष्टिमा स्थायी क्षति पुगिसकेको हुन्छ”, डा शाहले भने ।
नेपालमा हालैको एक सर्वेक्षणअनुसार दुई दशमलव एक प्रतिशतभन्दा बढी जनसङ्ख्यामा जलविन्दुको समस्या देखिएको छ । डा शाह धेरैलाई यसबारे थाहा नहुने, लक्षणको बेवास्ता गर्ने र अस्पताल ढिलो पुग्ने समस्या रहेको बताउँछन् । जलविन्दुको मुख्य लक्षणहरूमा दृष्टि धमिलो हुँदै जानु, बत्तीमा हेर्दा इन्द्रेणी रङ देखिनु, टाउको र आँखामा दुखाइ, वाकवाकी लाग्नुलगात रहेका उनले बताए ।
“यो रोग परिवारमा एक जनामा देखिएको खण्डमा अन्य सदस्यमा पनि हुने सम्भावना रहन्छ । साथै मधुमेह, उच्च रक्तचाप वा आँखामा चोटपटक लाग्दा पनि जलविन्दु हुने सम्भावना बढ्छ”, डा शाहले भने,“राप्ती आँखा अस्पतालले आँखासम्बन्धी विविध उपचार सेवा दिँदै आएकामा जलविन्दु विशेषज्ञ सेवा पनि थपिएपछि यहाँका सेवाग्राहीलाई निकै राहत हुनेछ ।”
जलविन्दु भएका बिरामीहरूलाई काठमाडौँ वा अन्य ठाउँ जानुपर्ने बाध्यता अन्त्य भएपछि यसले दाङलगायत आसपासका जिल्लाका जनतालाई ठूलो राहत मिलेको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ श्रावण ५, मंगलवार २३:४३ला लिगा प्रमुखको आरोपः ‘फिफाले फुटबल उद्योगलाई ध्वस्त पार्दैछ’
समाचार२०८३ श्रावण ५, मंगलवार १९:२५नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ५, मंगलवार १७:३२शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत कर लागू नगर्ने प्रधानमन्त्रीको निर्णय गगन थापाद्वारा स्वागत
समाचार२०८३ श्रावण ५, मंगलवार १६:५६राम्जा–पोखरा सम्पर्क समाज नेपालद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण









