सुनापतिको पर्यटन विकासका पूर्वाधारमा लगानी बढाइनुपर्ने

काठमाडौँ- रामेछापको सुनापति गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि पूर्वाधार निर्माणमा जोड दिन सरोकारवालाले सुझाव दिएका छन् ।
गाउँपालिकाले आइतबार नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजना गरेको ‘सुनापति गाउँपालिकाको पर्यटन विकासका लागि अन्तरक्रिया’मा उहाँहरुले सुनापतिको पर्यटन विकासका लागि दिगो पर्यटन विकासमा जोड दिन सुझाव दिनुभयो ।
सांसद पूर्णबहादुर तामाङले सुनापतिको पर्यटन विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त भएको बताउनुभयो । उहाँले स्थानीय तहका पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गरी आकर्षण गर्ने प्याकेज बनाएर आन्तरिक तथा विदेशी पर्यटक ल्याउन सकिने धारणा राख्नुभयो । उहाँले तीन वटै तहका सरकारको समन्वयमा लगानी अभिवृद्धि गर्न जरुरी भएको औंल्याउनुभयो ।
सांसद तामाङले विभिन्न शीर्षकमा स्थानीय तहमा जाने बजेटको प्रभावकारी परिचालन नहुँदा योजना कार्यक्रमले गति लिन नसकेको भन्दै यसप्रति सबै सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सुनापतिको पर्यटन विकासका लागि रणनीतिक योजना समन्वयका साथ अगाडि बढाइनुपर्ने बताउनुभयो । उहाँले पर्यटकीय सम्भावना बोकेका पालिकालाई धार्मिक, सांस्कृतिक र प्राकृतिक विविधितालाई जोडेर पर्या पर्यटन विकासमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले पालिकाको पर्यटन विकासका लागि बोर्डले बलियो सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कम लगानीमा बढी प्रतिफल दिने तुलनात्मक लाभको क्षेत्र पर्यटनको विकासमार्फत मुलुकको आर्थिक समृद्धिको यात्रामा योगदान गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने खाँचो औंल्याउनुभयो ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले सुनापतिको भूगोल, संस्कृति र इतिहासकासाथै कृषि उत्पादनलाईसमेत जोडेर एकीकृत पर्यटन विकास गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन विकासका लागि टानले गाउँपालिकासँग सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रवन्ध निर्देशक कुलमान घिसिङले सङ्घीय राजधानी काठमाडौँ नजिकको गन्तव्य सुनापतिको पर्यटन विकासका लागि लगानी बढाएर पदमार्गहरु निर्माण गरिनुपर्ने बताउनुभयो ।
सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले पर्यटनसँग सम्बद्ध सरकारी, गैर सरकारी र निजी क्षेत्रसँग समन्वय सहकार्य गर्दै सुनापतिको पर्यटन विकासका लागि लगानी अभिवृद्धि गर्ने, सुनापति गाउँपालिकाको मौलिक संस्कृति, धार्मिक स्थल, पौराणिक सम्पदाहरु, पर्यावरणीय विविधता र ऐतिहासिक स्थलहरुको संरक्षण, विकास र प्रचार–प्रसार गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।
प्राकृतिक विविधता, सांस्कृतिक सम्पदा र ऐतिहासिक पृष्ठभूमि रहेको सुनापतिको सुनापति गाउँपालिकालाई धार्मिक, सांस्कृतिक र पर्यावरणीय गन्तव्यको रुपमा विकास गर्न गाउँपालिको मात्र नभई सङ्घ, प्रदेश र निजी क्षेत्रसमेतको लगानी अभिबृद्धि गर्नको लागि सुनापति गाउँपालिकाको आयोजना र नेपाल पर्यटनका लागि अन्तरक्रिया गरिएको हो ।
स्थानीय कला संस्कृतिहरु जस्तै थान्का चित्रकला, गलैंचा बुनाईलगायत विभिन्न धार्मिक स्थलहरुको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्नु, होमस्टे, पर्यटकीय होटल तथा रेष्टुरेन्ट, टुरिष्ट गाइड, हस्तकला, कृषि पर्यटनलगायतका माध्यमबाट स्वरोजगार सृर्जना गरी स्थानीय रोजगार र आयआर्जनका अवसर प्रदान गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।
सुनापति सूर्योदय र सूर्यास्त अवलोकनका लागि रमणीय स्थल मानिन्छ । जहाँबाट जुगल, लाङटाङ, गौरीशङ्कर हिमशृृङ्खलादेखि सर्वोच्च शिखर सगरमाथाको दृश्यावलोकन गर्न पाइन्छ ।
हाल उक्त क्षेत्रमारु नेपालथोक-लुभु-हिलेदेवी र सुनापति-शैलुङ्ग पदमार्ग छन् । एकसय आठ लहरेमाने, लखपतिमाने, सुनापति महादेव, डम्फु पार्क आदि यहाँक महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु छन् ।
पर्यटन क्षेत्रका विकासका लागि गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ मा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरी सुनापति डाँडा आसपासका क्षेत्रमा विभिन्न पर्यटकीय पूर्वाधरहरु निर्माण गरिएको जनाएको छ । कार्यक्रममा सुनापति गाउँपालिकाको पर्यटनसम्बन्धी श्रब्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो भने डम्फु र टुङ्गनाका साथ तामाङ कलाकारको विशेष प्रस्तुतिकरण गरियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १९, मंगलवार १६:४७काठमाडौँबाट ७ लाख ५० हजारभन्दा बढी मानिस बाहिरिए
समाचार२०८२ फाल्गुन १९, मंगलवार १४:०९राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०७:५६भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १९, मंगलवार ०७:४६एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा







