वीरगन्जमा ३ जनामा हैजा पुष्टिसँगै स्वास्थ्यकर्मीको सक्रियता समुदायमा

पर्सा- वीरगन्ज महानगरपालिका–१२ मुर्लीको नयाँ टोलमा हैजा (Cholera) का बिरामी भेटिएसँगै रोकथाम तथा नियन्त्रणका लागि महानगरले शुक्रवार रातिदेखि नै स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ।
महानगर प्रमुख राजेशमान सिंहले हैजालाई अत्यन्त गम्भीर सङ्क्रामक रोग भन्दै कुनै पनि प्रकारको लापरबाही नगर्न सबैलाई चेतावनी दिनुभएको छ। उहाँले शङ्का लागेका लक्षण देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्नुभएको छ।
*३० जना एकै पटक अस्पताल*
महानगरका अनुसार, मुर्ली टोलका करिब ३० जना बासिन्दा झाडापखालाका कारण वीरगन्जको तराई हस्पिटलमा भर्ना भएका थिए। एकै पटक ठुलो सङ्ख्यामा बिरामी पुगेपछि अस्पतालले शङ्का व्यक्त गर्दै महानगरलाई खबर गरेको थियो।
नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा गरिएको परीक्षणमा ३ जनामा हैजाको जीवाणु भिब्रियो कोलेरा पाइएको हो। सङ्क्रमितमध्ये १६ वर्षीय बालक, २४ वर्षीय युवक र २४ वर्षीय महिला रहेका छन्। तीमध्ये बालकको अवस्था गम्भीर रहेको महानगर स्वास्थ्य शाखा प्रमुख राजु शाहले जानकारी दिनुभयो।
*पानीको नमुना काठमाडौँ पठाइयो*
सङ्क्रमणको श्रोत पत्ता लगाउन मुर्ली टोलका घर–घरमा प्रयोग भइरहेको पिउने पानीको नमुना सङ्कलन गरी थप परीक्षणका लागि काठमाडौँको टेकुस्थित राष्ट्रिय स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ।
*घर–घरमा स्वास्थ्यकर्मी*
हैजा फैलिन नदिन शुक्रवार रातिदेखि नै स्वास्थ्यकर्मी टोली घर–घर पुगेको छ। टोलीले स्थानीयलाई रोगबाट जोगिने उपायबारे जानकारी दिँदै कुनै पनि शङ्कास्पद बिरामी भेटिए तुरुन्त स्वास्थ्य संस्थामा लैजान आग्रह गरिरहेको छ। सचेतना अभियानमा जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुर, महानगरका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरलगायतको टोली सक्रिय छ।
यसैबिच नारायणी अस्पतालमा दर्जनाैकाे सङ्ख्यामा झाडापखालाको बिरामी पुगेका छन् भने एकैदिनकाे पखालाबाट अन्दाजी ३५ वर्षका पुरुषको मृत्यु भएको छ । यो हैजा हुनसक्ने डा उदयनारायण सिंहले बत्ताउनुभएको छ । उस्तै समस्या वीरगन्ज हेल्थ केयर (विएचसी) मा देखिएको छ । विएचसिका सञ्चालक अब्बुल हैसका अनुसार शुक्रवार नै झाडापखालाबाट एक महिलाको मृत्यु भएको छ । तर यो हैजा हो होइन भन्ने बारे आवश्यक जाँच भइरहेको अस्पतालले जनाएको छ ।
*१० वर्षपछि हैजाको प्रकोप*
जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार, पर्सा जिल्लामा पछिल्ला १० वर्षयता पहिलो पटक हैजाको प्रकोप देखिएको हो। दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्ने भिब्रियो कोलेरा जीवाणुका कारण हैजा लाग्छ।
यस रोगका लक्षणमा निरन्तर झाडापखाला, बान्ता, पेट दुखाइ, आँखाको गाडिनु, शरीरमा पानी कमी, मांसपेशी दुखाइ र ज्वरो देखिने गर्छ। समयमै उपचार नपाए मृत्यु समेत हुन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन्।
*रोकथामका लागि महानगरको अपिल*
महानगरले स्थानीयलाई निम्न सावधानी अपनाउन आग्रह गरेको छ:
उमालिएको वा निर्मलीकरण गरिएको पानी प्रशस्त मात्रमा पिउनुहोस्
तरकारी तथा हरियो सागपात उमालेको पानीले पखालेर मात्र पकाएर खानुहोस्
बासी खाना वा राम्ररी नपकाएको मासु/माछा नखानुहोस्
साबुन पानीले पटक–पटक हात धुनुहोस्
खानपिनका भाँडाकुँडा सफा राख्ने तथा सफा शौचालय प्रयोग गर्नुहोस् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार २०:३२जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
समाचार२०८२ पुष १३, आईतवार १९:३५डा. शाक्यको ‘मेरो गीतभित्र’ बजारमा
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १३, आईतवार १५:११गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ पुष १३, आईतवार १३:३८‘मिरमिरे’मा किन दयाहाङ र सिर्जना नै ?








