अटिजम स्पेक्ट्रम डिसअर्डर (ASD) सम्बन्धी निर्देशिकाको मस्यौदा तयार

काठमाडौँ- अटिजम स्पेक्ट्रम डिसअर्डर (ASD) सम्बन्धी राष्ट्रिय निर्देशिकाको मस्यौदा तयार भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राडा दीपक प्रकाश महराको संयोजकत्वमा गठित कार्यदलले सो मस्यौदा तयार पारेको हो ।
कार्यदलले अटिजम स्पेक्ट्रम डिसअर्डर भएका व्यक्तिहरूको हेरचाह, शिक्षा र अधिकार सुनिश्चित गर्ने सम्बन्धमा तयार पारेको राष्ट्रिय अटिजम निर्देशिकाको मस्यौदा आज स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई बुझायो ।
मस्यौदामा अटिजमलाई एक महत्त्वपूर्ण सार्वजनिक स्वास्थ्य चुनौतीको रूपमा स्वीकार गरिएको र यसको व्यवस्थापनका लागि राष्ट्रियस्तरमा एकीकृत र बहुक्षेत्रीय प्रयास आवश्यक रहेको विषय उल्लेख गरिएको छ।
निर्देशिकाले अटिजम भएका व्यक्तिहरूको जीवनलाई सहज बनाउन विस्तृत र चरणबद्ध कार्ययोजना प्रस्ताव गरेको छ , जसमा अन्तर मन्त्रालय समन्वय र तीनै तहका सरकारको भूमिकालाई स्पष्ट पारिएको मस्यौदा निर्माण कार्यदलका संयोजक डा महराले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।
संघीय तहमा राष्ट्रिय अटिजम समिति गठन गरी नीति, कानुन र लगानी सुनिश्चित गर्ने सुझाव पनि मस्यौदा उल्लेख छ । यसैगरी, प्रत्येक प्रदेशमा क्षेत्रीय स्रोत केन्द्र स्थापना गरी जनचेतना र प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्न भनिएको छ ।
स्थानीय तह र वडाहरूले बजेट विनियोजन गरी समुदायस्तरमा महिला स्वास्थ्य स्वयंसेविकामार्फत अटिजमको प्रारम्भिक पहिचान, स्क्रिनिङ र आधारभूत थेरापी सेवाको व्यवस्था गर्नुपर्ने विषयलाई प्रतिवेदनमा समेटिएको संयोजक डा महराको भनाइ छ ।
यसैगरी, अटिजम भएका सबै बालबालिकालाई समावेशी शिक्षा प्रणालीमा समेट्नुपर्ने र यसका लागि शिक्षकहरूलाई अटिजममैत्री शिक्षण विधिबारे तालिम दिइने व्यवस्था गर्न पनि सरकारलाई कार्यदलले सुझाव दिएको छ।
मस्यौदा प्रतिवेदन बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसलाई सरकारले महत्त्वपूर्ण सम्पत्तिको रूपमा लिएको र आगामी दिनमा सम्बन्धित समितिहरूमा प्राथमिकताकासाथ छलफल गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मन्त्री पौडेलले अटिजमको पहिचान र यसका लागि आवश्यक कार्यदिशा प्रदान गर्न यो मस्यौदा एक कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय अटिजम निर्देशिका मस्यौदा तयार पार्न प्राडा महरा संयोजक रहेको कार्यदलमा दीपक राज सापकोटा, डा सुनिता मालेकु, डा मेरिना श्रेष्ठ, डा अरुण कुँवर, ध्रुव अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङलगायत सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरु संलग्न हुनुहुन्थ्यो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार ११:३२निर शाहको ‘कमला मिस’ को पोस्टर सार्वजनिक









