निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन महासंघको माग

काठमाडौँ – देशभर भएको आन्दोलन एवं प्रदर्शनका क्रममा भएको जनधनको क्षति प्रति नेपाल उद्योग वाणिज्य महासङ्घ गहिरो दुःख व्यक्त गर्दछ । आन्दोलनका क्रममा ज्यान गुमाउनु भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवार जनमा महासङ्घ समवेदना व्यक्त गर्दछ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछौ ।
सुशासन , भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजश्वको सदुपयोग लगायतका विषयमा युवा पुस्ताले चासो देखाएको छ । यसका लागि विकसित घटनाक्रमको विवेकपूर्ण अवतरण भई युवा पुस्ताको चाहना बमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढ्ने अपेक्षा महासङ्घले गरेको छ ।
देशको समुन्नतिका लागि अन्योल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा महासङ्घ समन्वय एवं सहकार्य गर्न तयार छ । नवनिर्माण एवं पुर्ननिर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको हुँदा उद्यम व्यवसायको निर्बाध सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका लागि महासङ्घ आग्रह गर्दछ । महासङ्घको सबै जिल्ला र एक सय भन्दा बढी पालिकाहरूमा सदस्य उद्योग वाणिज्य सङ्घहरू मार्फत उपस्थिति रहेको छ । जिल्ला, नगर, वस्तुगत, एसोसिएट लगायतका सदस्यता मार्फत महासङ्घले देशभरका करिब ६ लाख साना मझौला एवं ठुला उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्दछ ।
पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन् । यसरी व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासङ्घ भर्त्सना गर्दछ । साथै महासङ्घ व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सम्पूर्ण सबैको ध्यानाकर्षण गराउन चाहन्छ । उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौँ रुपैयाँ बराबरको क्षति भएको छ । यसबारे महासङ्घले थप विवरण सङ्कलन गरिरहेको भएता पनि क्षतिका कारण राजश्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आङ्कलन गरिएको छ ।
यसै गरी, निजी क्षेत्रका गतिविधि निर्बाध रूपमा सञ्चालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजश्वमा समेत नकारात्मक प्रभाव पर्न जानेछ । त्यसैले सर्वप्रथम आम सर्वसाधारण तथा उद्यमी व्यवसायले निर्बाध रूपमा पेसा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन हुन आग्रह गर्दछौ ।
निषेधाज्ञा एवं कप्mयुका सामयमा पनि अत्यावश्कीय सेवा तथा पेसाकर्मीहरूको आवतजावत एवं वस्तुहरू जस्तै औषधि, खाद्यान्न, दूध, पानी फलफूल तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसार पसार सहजीकरणका लागि पनि आग्रह गर्दछौ । यसका लागि केन्द्र, प्रदेश र जिल्ला स्तरमा रहने सुरक्षा समितिमा महासङ्घ एवं महासंघका सदस्य उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको सहभागिताका महासङ्घ आग्रह गर्दछ ।
यसै गरी गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिने तर्फ देशैभरका सबै उद्यमी व्यवसायीहरुमा आग्रह पनि गर्दछ । साथै यसको सुनिश्चितताका लागि सम्बन्धित प्रदेश, जिल्ला, नगर एवं वस्तुगत सङ्घहरूले अनुगमन गर्न पनि आग्रह गर्दछौँ ।
अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए पनि धेरै भन्सार नाका अहिले बन्द रहेका छन् । अत्यावश्यकीय लगायतका सामान आयात निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिई सुचारु गर्ने वातावरण निर्माणका लागि पनि महासङ्घ आग्रह गर्दछ । नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजश्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रका विषय समावेश हुँदा अर्थतन्त्र चलायमान भई समुन्नति र स्थायित्व कायम हुने विश्वास हामीले लिएका छौ ।
यी विषयहरूमा बुधवार महासङ्घको कार्यकारिणी समिति र पूर्व अध्यक्षहरुसंगको बैठकमा पनि छलफल भई निजी क्षेत्रको धारणा सार्वजनिक गर्ने निर्णय भएको थियो । सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहितको मर्यादित रोजगारी सम्भव छ । स्थायित्वका लागि युवाहरूको चाहना अनुरूप सुशासन, वाक स्वतन्त्रता, स्वतन्त्र भएर पेसा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता सँगै लगानी एवं रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरी समुन्नत समाज निर्माणमा योगदान पुर्याउन महासङ्घ पुनः सबैमा आग्रह गर्दछ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’
समाचार२०८२ भाद्र २७, शुक्रबार १२:०३निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन महासंघको माग
समाचार२०८२ भाद्र २६, बिहीबार २१:३१धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास
समाचार२०८२ भाद्र २६, बिहीबार २१:१६काठमाडौँ उपत्यकाभित्र भाद्र २७ गते शुक्रबार पनि निषेधाज्ञ तथा कर्फ्यू जारी रहने (सेनाको विज्ञप्तीसहित)