जनताले महसुस गर्ने गरी काम गर्छौं: सञ्चारमन्त्री खरेल

काठमाडौँ– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते निर्वाचन, भ्रष्टाचार नियन्त्रण र पुनःनिर्माणका काममा सरकार केन्द्रीत हुने बताउनुभएको छ ।
आज सिंहदबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्रालयका उच्च कर्मचारी र मातहतका निकायका प्रमुखलाई निर्देशनसहितको मन्तव्य दिँदै उहाँले जनताले महसुस गर्ने गरी अन्तरिम सरकारले काम गर्ने बताउनुभयो ।
वर्तमान सरकार जेनजीको बलिदानको जगमा उभिएको उल्लेख गर्दै मन्त्री खरेलले नयाँ पुस्ता एवं नागरिकको कार्यदेशअनुसार सुशासन कायम, भ्रष्टाचार नियन्त्रणको आधार निर्माण र जनतालाई मौलिक अधिकारको महसुस हुने गरी काम गर्ने बताउनुभयो ।
“हामीलाई जेनजी र नागरिकबाट धेरै ठुलो कार्यदेश छैन, सरल छन्, तर बहुत जटिल र चुनौतीपूर्ण काम छन्”, उहाँले भन्नुभयो, “भौतिक पुनःनिर्माणले मात्र पुग्दैन । जनताको मनमा घाउ लागेको, त्यसको दाग अझै पनि छ । त्यसलाई पुनःनिर्माण गर्न त्यति सजिलो छैन । त्यसैले दूर दराजका जनताको घरसम्म सरकार र हामी सबै उपस्थिति हुनुपर्छ । त्यो उपस्थितिले सुशासन, आर्थिक समृद्धि, रोजगारी, शिक्षा, स्वास्थ्यलगायत संविधानअन्तर्गतका मौलिक अधिकार कार्यान्वयनको महसुस गर्न पाए मात्र घाउमा मलम लाग्छ ।”
मन्त्री खरेलले मन्त्रालयका कर्मचारीको काममा आफूले कुनै पनि हस्तक्षेप नगर्ने बताउदै स्वतन्त्र रूपमा प्रभावकारी कार्यसम्पादनका लागि आग्रह गर्नुभयो । राजनीतिक हस्तक्षेप र दलीयकरण नभई कर्मचारीतन्त्रको योग्यता, क्षमताअनुसार काम भएमा सार्वजनिक सेवा प्रभावकारी हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री खरेलले अन्तरिम सरकारले छोटो समयमा प्रतिफलयुक्त काम गर्नका लागि सबैसँग सहयोग र सहकार्यको अपेक्षा रहेको बताउनुभयो । “हामीले खरानी टकटकाउदै हाम्रा जीवन र धरोहर निर्माण गर्नुपर्नेछ । छ महिनामा कायापलट हँुदैन । तथापि, केही आशाको जग निर्माण गर्न लाग्नुपर्छ । त्यसमा मन्त्रालयका सचिवलगायत सबै कर्मचारीको अनुभव तथा अरु विज्ञबाट सहयोगको अपेक्षा गरेको छु”, उहाँले भन्नुभयो ।
मन्त्री खरेलले मन्त्रालयले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) ‘पोलिसी’ र ‘डिजिटल फ्रेमवर्क’मा केन्द्रीत भएर काम गर्ने बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ८, मंगलवार १७:४१पारितोषिका पन्तको परिपक्व प्रस्तुति – ‘पहिलो हाँसो, पहिलो बोली’
समाचार२०८३ बैशाख ८, मंगलवार १६:३५अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
समाचार२०८३ बैशाख ८, मंगलवार १४:२५क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ
खेलकुद२०८३ बैशाख ८, मंगलवार १०:३७लगातार चार खेल हारेको मुम्बई ९९ रनले विजयी







