धादिङका १२ जनालाई ‘वन संरक्षण योद्धा’ सम्मान

धादिङका १२ जनालाई ‘वन संरक्षण योद्धा’ सम्मान

धादिङ, असोज २८ गते ।
धादिङका १२ जनालाई ‘वन संरक्षण योद्धा’ सम्मान गरिएको छ । वन संरक्षण र वातावरणीय सन्तुलनका क्षेत्रमा उल्लेखनीय योगदान पु–याउने धादिङका १२ जनालाई ‘वन संरक्षण योद्धा’ सम्मान गरिएको हो ।

डिभिजन वन कार्यालय धादिङले सोमबार आयोजना गरेको विशेष कार्यक्रममा ९ जना जीवित र ३ जना दिवंगत व्यक्तिलाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो ।

“प्रकृतिको अस्तित्व स्वीकार गरौं, संरक्षणको स्तर उकासौं” भन्ने नारासहित भएको कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री माननीय भरत बहादुर के.सी.को प्रमुख आतिथ्यता रहेको थियो ।

मन्त्री के.सी.ले जिल्लाभित्रका सक्षम सामुदायिक वनहरूले असक्षम सामुदायिक वनलाई सहयोग गर्ने नीति अवलम्बन गरिएको जानकारी दिनुभयो । उहाँले सामुदायिक वनको ब्याकलक अन्त्य गरी बागमती प्रदेशभरका सबै सामुदायिक वनहरूको कार्ययोजना पूर्ण रूपमा भएको घोषणा गरिने कार्ययोजना रहेको बताउनुभयो ।

त्यसैगरी कार्यक्रमका विषेश अतिथि नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले हालका वनसम्बन्धी कानुनी प्रावधानका कारण वन पैदावार निकासीमा समस्या उत्पन्न भएको बताउनुभयो ।

उहाँका अनुसार, यस्ता अवरोधका कारण नेपालले हरेक वर्ष अर्बौं मूल्यका काठ विदेशबाट आयात गर्नुपरेको छ, जबकि देशभित्रका काठहरू जंगलमै सडेर नष्ट हुने अवस्था सिर्जना भएको छ । उहाँले यस्तो समस्या समाधानका लागि आवश्यक कानुनी व्यवस्था गर्न प्रदेश सरकार र वनमन्त्रीलाई पहल गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमकै अवसरमा “वातावरण शिक्षा” नामक पुस्तक पनि सार्वजनिक गरिएको छ । डिभिजन वन कार्यालय धादिङद्वारा प्रकाशित उक्त पुस्तक विशेष गरी बालबालिकामा वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएको हो ।

धादिङका १२ जनालाई ‘वन संरक्षण योद्धा’ सम्मान

डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यले समाजका अग्रणी व्यक्तिहरूको वन संरक्षणमा रहेको योगदान प्रेरणादायी रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा संरक्षण अभियानलाई अझ प्रभावकारी र व्यापक बनाइने जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, विद्यार्थी तथा सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   9   =  

Protected by Spam Master