पोखरालाई वेलनेस पर्यटन गन्तव्य बनाउन बोर्ड सदस्य पोखरेलको जोड

पोखरालाई वेलनेस पर्यटन गन्तव्य बनाउन बोर्ड सदस्य पोखरेलको जोड

पोखरा। नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरालाई नेपालकै वेलनेस (आरोग्य) पर्यटनको केन्द्रका रूपमा विकास गर्ने विषयमा बहस सुरु भएको बताएका छन्।

‎शनिबार पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्राकृतिक सौन्दर्य, आतिथ्यता (हस्पिटालिटी) र वेलनेस पर्यटनको उच्च सम्भावना बोकेको पोखरालाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न सरकार, निजी क्षेत्र र सञ्चार क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।

उनका अनुसार पोखरा नेपालको पर्यटन राजधानी भएकाले यहाँ पर्यटन विकासका प्रशस्त सम्भावना छन्। पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्र, सरोकारवाला निकाय र सञ्चारकर्मीबाट प्राप्त सुझावलाई कार्यान्वयनका लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता उनले जनाए।

पोखरेलले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्न गुणस्तरीय प्रचार सामग्रीको अभाव रहेको उल्लेख गर्दै नयाँ प्रविधिको प्रयोगमार्फत भिडियो, अडियो तथा डिजिटल सामग्री तयार गरी विश्व बजारमा प्रभावकारी प्रचार गर्नुपर्ने आवश्यकता औंल्याए। नयाँ पर्यटकीय गन्तव्यको खोज, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई पनि बोर्डले प्राथमिकतामा राखेको उनले बताए।

आगामी बजेटबारे बोल्दै उनले चालु आर्थिक वर्षमा नयाँ पूर्वाधार निर्माणभन्दा पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइने जानकारी दिए। बहुवर्षीय योजनाअन्तर्गत सञ्चालनमा रहेका तथा एक–दुई वर्षभित्र सम्पन्न हुने आयोजनालाई भने निरन्तरता दिँदै आवश्यक बजेट सुनिश्चित गरिने उनको भनाइ थियो।

‘अहिले बोर्डको बजेट पारित भएको छैन। बजेट तयारीको प्रक्रिया चलिरहेको छ भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि नियुक्त हुन बाँकी छ,’ उनले भने।

‎विगतमा नेपाल पर्यटन बोर्डले विभिन्न प्रवर्द्धनात्मक भ्रमण सञ्चालन गरे पनि प्रभावकारी प्रचार सामग्रीको अभावका कारण अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको उनको भनाइ थियो। निजी क्षेत्रको प्रतिनिधित्व गर्दै हालै कार्यकारी सदस्यमा नियुक्त भएका होटल व्यवसायी तथा नाट्टा गण्डकीका पूर्वअध्यक्ष पोखरेलले सरकार र निजी क्षेत्रबीच समन्वयकारी पुलको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

‎अन्तरक्रियामा पत्रकार विजय नेपाल, दीपक परियार, कृष्ण दवाडी, गौरव त्रिपाठी, दीननाथ बराल तथा पर्यटन विज्ञ दीपेन्द्र पहारीलगायतले पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुनिश्चित गर्न, दिगो पर्यटन प्रवर्द्धनका लागि छिमेकी मुलुकदेखि विश्व बजारसम्म प्रभावकारी प्रचार–प्रसार गर्न तथा पोखरामा हुने मेला, महोत्सव र खेलकुद प्रतियोगिताको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा जोड दिन सुझाव दिएका थिए।

यो पनि पढ्नुहोस् :  नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

यसैबीच, पोखरा प्रवर्द्धन केन्द्रले कार्यकारी सदस्यमा नियुक्त भएका पोखरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22145, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   5   =