वर्तमान संवैधानिक गतिरोध समाधानका उपायहरुबारे अन्तरसंवाद

वर्तमान संवैधानिक गतिरोध समाधानका उपायहरुबारे अन्तरसंवाद

 

‘चुनाव नभए संवैधानिक राजतन्त्र पुनः स्थापना हुने’

पोखरा।

गत महिना जेनजी आन्दोलन बलमा बनेको सुशीला कार्की नेतृत्वको नयाँ सरकारले आगामी फागुन २१ लाई प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकेको छ । तर, सरकारले दलहरुसँग चुनावबारे छलफल नगरेको तथा विद्यमान राजनीतिक गतिरोधले थप अराजकता मौलाएको र शान्ति सुव्यवस्थामा खलल उत्पन्न हुँदै गएको कतिपय घटनाक्रमले देखाएका छन् ।

यसैक्रममा नागरिक समाज कास्कीले ‘वर्तमान संवैधानिक गतिरोध समाधानका उपायहरु’ विषयक अन्तरसंवाद कार्यक्रम गरेको छ ।

बिहीबार नेपाल पर्यटन बोर्डको सभाहलमा भएको अन्तरसंवादमा मुख्य वक्ता थिए–उच्च अदालत पोखराका पूर्व कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य । सुनको अवैध पैठारी जाँजबुझ आयोगका अध्यक्षसमेत रहेका आचार्यले ‘वर्तमान संवैधानिक गतिरोध समाधानका उपायहरु’ विषयक आधारपत्र प्रस्तुत गर्दै निर्धारित मितिमा चुनाव नभए मुलुकमा संवैधानिक राजतन्त्र पुनः स्थापना हुन सक्ने बताए । यदि त्यसो नभए, मुलुक गृहयुद्ध र प्रत्यक्ष वैदेशिक हस्तक्षेप हुन सक्ने उनको ठोकुवा थियो ।

आचार्यको कार्यपत्रमाथि पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक डा. भीमनाथ बरालले टिप्पणी गरेका थिए ।

नागरिक समाज कास्कीका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले मुलुकमा फेरि अर्को आन्दोलन जरुरी रहेको बताए ।

मानवअधिकारकर्मी खगराज आचार्यले आन्दोलनमा जेनजीमाथि चरालाई बन्दुकले हानेर ढलाए झैं भएकोमा दुःख व्यक्त गरे । उनले पहिले देश बचाउनुपर्नेमा जोड दिए ।

साहित्यकार दुर्गाबहादुर शाह ‘बाबा’ ले रिसको बेलामा वेद नपढिने बताए । उनले जेनजीको आन्दोलनलाई केटाकेटी खेले झै नमानौं भने ।

इन्जिनियर किसान गुरूङले दलहरूले सत्तालाई म्यूजिकल चेयरको रूपमा प्रयोग गरेको टिप्पणी गरे ।

पूर्वसैनिक इन्द्रबहादुर गुरूङले राज्यको सबै संयन्त्र फेल भएको दाबी गर्दै विदेशीलाई मात्र दोष दिएर नहुने हामी आफैंले सोच्नुपर्ने बेला भएको बताए ।

कार्यक्रममा डा. रामजी शर्मा, अधिवक्ताहरु बिबि विष्ट, गीता लामिछाने, जेनजी पुस्ताका सहभागीहरुले पनि आफ्नो राय व्यक्त गरेका थिए ।

नागरिक समाज कास्कीका संस्थापक संयोजक एवं अधिकारकर्मी रामबहादुर पौडेलले स्वागत गर्दै समाजले समसामयिक विषयमा यसखालका बहस तथा समाजका विकृति, विसंगतिविरुद्ध सचेतना कार्यक्रमसमेत गर्दै आएको बताए ।

कार्यक्रम संचालन नागरिक समाज कास्कीका पूर्व संयोजक विष्णुहरि अधिकारीले गरे ।

सो अवसरमा संवैधानिक गतिरोध/राजनीतिक संकट समाधानका उपायबारे सहभागीको मत सर्वेक्षण गरिएको थियो ।

सर्वेक्षणमा भाग लिएका ६८ जनामध्ये ७३ प्रतिशतले समन्वयकारी मार्ग अवलम्बन गर्नुपर्नेमा जोड दिए । संवैधानिक उपचार, यथास्थितिवादी, प्रतिरोध, क्रान्तिकारी र वैकल्पिक मार्गसमेत सो मत सर्वेक्षणमा राखिएकोमा ७३ प्रतिशतले समन्वयकारी मार्ग रोजेको पत्रकार प्रकाश ढकालले नतिजा सुनाए । उनका अनुसार १५ प्रतिशतले संवैधानिक उपचार मार्ग रोजे भने ५ प्रतिशतले क्रान्तिकारी मार्ग र २ प्रतिशतले संवैधानिक रोजतन्त्र रोजे । सर्वेक्षणमा एसइईदेखि सम्म, एसइईदेखि प्लस टु र प्लस टुभन्दा माथिल्लो योग्यताक्रम राखिएको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19812, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   6   =  

Protected by Spam Master