तथ्यगत परीक्षणबेगर सामग्री सम्प्रेषण नगर्न काउन्सिलको आग्रह

काठमाडौँ १३ कात्तिक ।
प्रेस काउन्सिल नेपालले तथ्यगत परीक्षण एवं आधार प्रमाणबेगर हतार गरी सामग्री सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्तालगायतलाई आग्रह गरेको छ । बिहिबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले कतिपय मिडियाबाट तथ्यगत परीक्षणबेगर भ्रामक सूचनाहरू सम्प्रेषण भइरहेको भन्ने गुनासा आइरहेको र काउन्सिलको अनुगमनबाट समेत त्यस्तो देखिएको भन्दै सञ्चार माध्यमलाई सचेत रहन आग्रह गरेको हो । काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारिताका मूल्य/मान्यताविपरीत गैरपेसागत आचारण गर्ने, तथ्यगत परीक्षण एवं आधार प्रमाणबेगर हतार गरी सामग्री सम्प्रेषण गर्ने, सामाजिक सञ्जालको दुरूपयोग गरी समाजमा उत्तेजना/अफवाह/भ्रम फैलाउने, सामाजिक सद्भाव बिगार्ने सामग्री सम्प्रेषण नगर्न/नगराउन काउन्सिल आग्रह गर्दछ ।’ काउन्सिलले परिस्थितिलाई उत्तेजक बनाउन नियोजितरूपमा गलत, मिथ्या एवं तथ्यलाई तोडमरोड गरी सामग्री प्रकाशन गर्ने, तथ्य पुष्टि नभएका/यथेष्ट आधारप्रमाण नभएका सामग्रीलाई सामाजिक सञ्जालबाट समेत सम्प्रेषण गरी अतिरञ्जित गर्ने कार्य पेसागत आचरण विपरीत एवं गैरकानुनी भएकाले यस्तो कार्य नगर्न/नगराउन पनि अनुरोध गरेको छ ।
यसैबिच प्रेस काउन्सिल नेपालले गर्दै आएको सञ्चार माध्यमको स्वअनुगमनमा जेन.जी आन्दोलनका समयमा १४ सञ्चार माध्यमले सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको पाइएको छ । मिडिया अन्तर्गत रहेका १४ र मिडिया अन्तर्गत नरहेको ३ वटा सामाजिक सञ्जालबाट भ्रमपूर्ण र अफवाहपूर्ण सामग्री सम्प्रेषण भएको पाइएको जारी विज्ञप्तिमा जनाएको हो । स्वअनुगमनका क्रममा ११ वटा माध्यमलाई सचेत गराइएको र एउटा समाचार समाचार एजेन्सीलाई जवाफ मागिएको र अन्यलाई कारबाही र अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
‘२०८२ भदौ २३ र २४ गते भएको जेन.जी. आन्दोलन समयमा सञ्चार माध्यम एवं सोका सामाजिक सञ्जालबाट १४ वटा र कुनै पनि मिडियाअन्तर्गत दर्ता नदेखिएका एवं सम्पर्क ठेगाना समेत उल्लेख नभएका ३ वटा सामाजिक सञ्जालबाट पत्रकार आचारसंहिता प्रतिकूल भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण भएको स्वअनुगमनबाट देखिएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘अनुगमनपश्चात ११ वटा माध्यमलाई निर्देशन एवं सचेत गराइएकोमा ७ वटाले क्षमायाचनासहित भुलसुधार र एक समाचार एजेन्सीलाई जवाफ माग गरिएकोमा क्षमायाचना गरी जवाफ पेस गरेको, ३ वटालाई कुनै जवाफ पेस नभएको हुँदा ताकेता गरिएको, ४ वटाले सामग्री स्थगन गरेका छन् भने बाँकी ३ वटा सम्पर्क ठेगाना नभएका कारण थप अनुसन्धान भइरहेको छ ।’
काउन्सिलले सञ्चार माध्यमले सञ्चालन गर्ने युट्युबलगायत सामाजिक सञ्जालको अभिलेख गरी अनुगमन गर्नुका साथै मिडियाको आवरणमा चलेका तर दर्ता अभिलेख नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको समेत प्रवृत्तिगत अनुगमन गरिरहेको छ । काउन्सिलले हालै आचारसंहिताको अनुगमनलाई थप चुस्त, दुरुस्त बनाउन काउन्सिलका सदस्यलाई ‘फोकल पर्सन’ तोकी अनुगमन कार्य अघि बढाएको छ ।
चालु आर्थिक वर्षको हालसम्म ११७ वटा उजुरी काउन्सिलमा दर्ता भएको र ६३ वटा सामग्रीको स्वअनुगमन हुँदा २० वटामा आचारसंहिता प्रतिकूल भएको देखिएको विज्ञप्तिमा उल्लेख छ । कुल उजुरीमध्ये पत्रकार आचारसंहिताको प्रक्रियाबमोजिम पत्राचार भएपश्चात खण्डन सम्प्रेषण गरी ५५ वटाले पेस गरेको जवाफ उजुरीकर्तालाई जानकारी गराइएको, १२ वटाले क्षमायाचना÷भुलसुधार गरेको, ३ वटाले सामग्री स्थगन गरेको, ४ वटालाई स्पष्टीकण सोधिएको, १२ वटालाई निर्देशन एवं सचेत गराइएको र ३१ वटा प्रक्रियामा रहेको काउन्सिलले जनाएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/10/30/11186/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १०, बिहीबार १७:२०विज्ञापन नीति खारेजीको माग गर्दै पत्रकार महासंघ कास्कीको ज्ञापनपत्र
समाचार२०८३ बैशाख १०, बिहीबार १५:०७प्युठानमा तीर्थयात्री बोकेको जिप दुर्घटना: एक बालकको मृत्यु, २१ जना घाइते
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:३११० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुपकाे साथ
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:२४लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण








