पत्रकार आचारसंहितालाई अभियानकै रूपमा लैजानुपर्छ


काठमाडौँ ३० कार्तिक ।
स्वच्छ र मर्यादित पत्रकारिताका लागि पत्रकार आचारसंहितालाई देशव्यापी अभियानका रुपमा लैजानुपर्ने सरोकारवालाहरुले बताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजनामा नेपाल पत्रकार महासङ्घका केन्द्रीय पदाधिकारी र सदस्यसँग भएको ‘प्रेस स्वतन्त्रता र आचारसंहिता’ अन्तरक्रियामा बोल्ने वक्ताले पत्रकार आचारसंहितालाई प्रदेश र जिल्ला जिल्लामा प्रचारप्रसार गर्नुपर्ने बताए । आइतबार काउन्सिल सभाहलमा भएको कार्यक्रममा बोल्दै महासङ्घका पदाधिकारी तथा सदस्यहरुले समयानुकूल काउन्सिलको भूमिका फराकिलो बनाउन आवश्यक रहेको बताए । पत्रकार महासङ्घका प्रदेश र जिल्लास्तरका संरचनासँग सहकार्य गरेर काउन्सिलले अभियानलाई अघि बढाउनुपर्ने उनीहरुको भनाइ थियो ।
पत्रकारिता शिक्षासँगै आचारसंहितालाई पाठ्यक्रममा समावेश गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै वक्ताहरुले सामाजिक सञ्जालको व्यवस्थापनका लागि थप कार्य गर्नुपर्ने उल्लेख गरे । अनलाइन सञ्चार माध्यम नयाँ नयाँ प्लेटफर्मको विकास भइरहँदा पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सङ्घीय संरचनाअनुसार काउन्सिलको भूमिका बढाउन आवश्यक रहेको उनीहरुले औँल्याएका हुन् । सहभागीले पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) लाई पनि थप परिमार्जन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष एवं काउन्सिल सदस्य निर्मला शर्माले काउन्सिल र महासङ्घबिच सहकार्य गरेर नै पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन हुने प्रष्ट पार्नुभयो । काउन्सिल सदस्यहरु कुमारी निमा काफ्ले, नकुल अर्याल, बालकृष्ण अधिकारी, विजयराज अधिकारी र शन्तराम बिडारीले काउन्सिलले सम्बद्ध सबै पक्षका सुझाव ग्रहण गरेर नै अगाडि बढ्ने बताउनुभयो ।
काउन्सिल सदस्य बालकृष्ण अधिकारीले सहजीकरण गर्नुभएको कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष नितु पण्डित लगायत सहभागी हुनुहुन्थ्यो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/11/16/11244/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ मंसिर २, सोमबार २०:४७धन बहादुर गुरुङ (सुमन)लाई युवा पत्रकारिता पुरस्कार
समाचार२०८२ मंसिर २, सोमबार २०:४१पोखरामा मनाइयो राष्ट्रिय कर दिवस, उत्कृष्ट करदाता सम्मानित
समाचार२०८२ मंसिर २, सोमबार १८:१५नेपाली कफी विश्वमै उत्कृष्ट, उत्पादन भने न्युन
समाचार२०८२ मंसिर २, सोमबार १८:०७पोउवा संघको व्यापार मेलामा जोडियो नेपाल मणिपाल अस्पताल








