नेपाली कफी विश्वमै उत्कृष्ट, उत्पादन भने न्युन

पोखरा ।
नेपालमा कफी खेतीको इतिहास धेरै लामो छ । १९९५ सालमा गुल्मीको आँपचौरबाट सुरु भएको कफी खेतीको इतिहास ९ दशक पुगेको छ । यति लामो समय बितिसक्दा पनि कफीलाई पूर्ण रुपमा व्यवसायिक बनाउन भने सकिएको छैन । नेपाल कफीखेतीका लागि उपयुक्त मानिन्छ ।
सम्भावना हुँदाहुँदै पनि नेपालले कफी उत्पादनमा सोचेजस्तै प्रगति गर्न नसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख चन्द्र पुरीले बताए । प्राविधिक ज्ञानको अभाव, गुणस्तरीय बीउबिजन नहुनु, किसानमा प्रशिक्षण तथा परामर्शको कमी र बजारको अभावले उत्पादन प्रभावित भएको उनको भनाइ छ ।
विकास बोर्डको आयोजनामा २१ औं कफी दिवसको अवसरमा पोखरामा भएको छलफल एवं कफी कपिंग कार्यक्रममा पुरीले यस्तो बताएका हुन् । उनले नेपालमा उत्पादन हुने अराबिका जातको कफी विश्वमै उत्कृष्ट मानिने बताए ।
उनले भने, ‘विश्व बजारमा ‘नेपाली अरेबिका’ भनेर चिनिने कफीले उच्च मूल्य लिन सक्ने क्षमतासमेत राख्छ । सम्भावनाको दृष्टिले मात्र होइन, जैविक उत्पादनका कारण पनि नेपालको कफीमा अन्तर्राष्ट्रिय बजारमा फरक पहिचान बनाउन सक्ने बलियो आधार छ ।’
नेपाली कफीको गुणस्तर प्रवद्र्धन, उत्पादन वृद्धि, र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता बढाउन पहल गर्ने उनले बताए । परम्परागत बालीले भन्दा कफीले ३÷४ गुणा बढी नाफा दिने तथा जंगल जनावरले नोक्सानी नगर्ने भएकाले कफी खेतीमा प्रोत्साहन बढाउन आवश्यकता रहेको उनले उल्लेख गरे ।
नेपाली कफीको ब्रान्डलाई अझै प्रभावकारी रुपमा
प्रचार/प्रसार गर्न आवश्यक रहेको पोखरा महानगरपालिका २१ का कफी व्यवसायी नवराज पोखरेलले बताए । कफीमा राम्रो सम्भावना रहेपनि उत्पादनदेखि बजारसम्मका समस्याले कफीखेती फस्टाउन नसकेको उनले सुनाए । उत्पादन थोरै छ, तर आयात भने धेरै रहेको बताउँदै यो असन्तुलित व्यवसाय हटाउन घरेलु उत्पादनमा जोड दिनुपर्ने उनको माग छ ।
‘यहाँको माटो र मौसमअनुसारका कफीका जात छनोट गरेर लगाउनुपर्छ । प्राविधिक अभाव, ज्ञानको कमी र अनुभवको कमीले लगानी गरेअनुसारको फाइदा लिन सकिएको छैन । अरुको हेरेर, जति बुझ्यो त्यति गरेर मात्रै कफी खेतीबाट फाइदा लिन सकिदैँन,’ पोखरेलले भने ।
कुन समयमा लगाउने, कहिले हेरचाह गर्ने, कति कामदार आवश्यक पर्छ सबै कुराको पूर्व योजना, तालिम र तयारी हुनुपर्ने उनको सुझाव छ । प्रविधि, प्राविधिक जनशक्ति, र व्यवस्थित व्यवस्थापन गरियो भने मात्र नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बलियो बनाउन सकिने उनले बताए ।
नेपालले आर्थिक वर्ष २०८१÷०८२ मा १४ करोड ४१ लाख बराबरको २३० मेट्रिक टन कफी आयात गरेको छ भने ११ करोड ४३ लाख बराबरको ६४ मेट्रिक टन कफी निर्यात गरेको तथ्यांक बोर्डले जानकारी दिएको छ । यस आर्थिक वर्षमा ६ सय ४२ मेट्रिक टन ग्रीनबीन कफी उत्पादन भएको छ ।
कफी उत्पादनलाई व्यवस्थित गर्न बोर्डले यस वर्ष कफीको न्यूनतम सहमत मूल्य तोकेको छ । ग्रेड ए को लागि प्रति केजी फ्रेस चेरी १०५ रुपैयाँ, पार्चमेन्ट ५३५ रुपैयाँ र ड्राइ चेरी कफीलाई २८० रुपैयाँ तोकिएको छ । ग्रेड बीको लागि प्रति केजी फ्रेस चेरी, पार्चमेन्ट र ड्राइ चेरी कफीको मूल्य क्रमशः ९५ रुपैयाँ, ४९२ रुपैयाँ र २४७ रुपैयाँ तोकिएको छ ।
कार्यक्रममा कृषि विकास निर्देशनालय पोखराका प्रमुख बालकृष्ण अधिकारी, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ अधिकृत कुमार भण्डारी, प्रदेश कृषि प्रयोगशालाका प्रमुख मिलन आचार्य, पोखरा महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राममोहन आचार्य लगायतको उपस्थिती थियो ।
थोरै उत्पादन भए पनि नेपाली कफीले गुणस्तरका सन्दर्भमा परिचय बनाउन सफल भएको बोर्डको भनाइ छ । बढ्दो कफी संस्कृतिले कफीको मागमा वृद्धि भएपनि माग अनुसार उत्पादन वृद्धि नहुँदा विगत केही वर्षदेखि कफीको आयात निरन्तर बढिरहेको बोर्डको गुनासो छ ।
बोर्डका अनुसार नेपाली कफीले अन्तराष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । कफी क्षेत्रमा व्यापक रुपान्तरणको लागि संरक्षण र प्रवद्र्धनका कार्यक्रमहरु मार्फत ठूला व्यवसायिक फार्महरु स्थापनाका लागि लगानीकर्ताहरुलाई आकर्षित गर्न जरुरी छ ।
कफी किसानलाई संरक्षण र प्रोत्साहन गर्दै कफी क्षेत्रमा युवा पुस्ताहरुलाई आकर्षण गरि व्यवसायिक उत्पादन र आत्मनिर्भर बनाउन सकिने बोर्डको योजना छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20040, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ मंसिर २, सोमबार २०:४७धन बहादुर गुरुङ (सुमन)लाई युवा पत्रकारिता पुरस्कार
समाचार२०८२ मंसिर २, सोमबार २०:४१पोखरामा मनाइयो राष्ट्रिय कर दिवस, उत्कृष्ट करदाता सम्मानित
समाचार२०८२ मंसिर २, सोमबार १८:१५नेपाली कफी विश्वमै उत्कृष्ट, उत्पादन भने न्युन
समाचार२०८२ मंसिर २, सोमबार १८:०७पोउवा संघको व्यापार मेलामा जोडियो नेपाल मणिपाल अस्पताल







