मौसमी फ्लुका बिरामी बढ्यो « रिपोर्टर्स नेपाल

विराटनगर, २१ पुस । तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या तथा घाँटी र काँध क्षेत्रका मांसपेशी कडा हुनुजस्ता कारणले जाडो मौसममा टाउको दुखाइ बढ्ने चिकित्सकको भनाइ छ ।
कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा रोशन खड्का जाडो मौसमले शरीरको ताप सन्तुलन र रक्तसञ्चार प्रणालीमै प्रत्यक्ष असर पार्ने भएकाले यो समयमा टाउको दुखाइको समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको बताउँछन् ।
उनी भन्छन्, “जाडोमा शरीरको तापक्रम घट्दा रक्तनलीहरू सङ्कुचित हुन्छन् । यसले टाउकोतर्फ जाने रक्तप्रवाहमा कमी ल्याउछ । त्यसैले धेरै मानिसले टाउको भारी भएको, च्यापिएको जस्तो भएको वा निरन्तर दुखेको अनुभव गर्छन् ।” उनका अनुसार जाडो मौसममा देखिने टाउको दुखाइको अर्को प्रमुख कारण शरीरमा पानीको कमी (डिहाइड्रेसन) हो ।
“जाडोमा तिर्खा कम लाग्छ, त्यसैले मानिसले पानी कम पिउछन् । तर शरीरलाई पानीको आवश्यकता जाडोमा पनि उत्तिकै हुन्छ । पानीको कमी हुँदा टाउको दुखाइ पहिलो सङ्केतका रूपमा देखिन सक्छ,” उनी भन्छन् । चिसो हावाले घाँटी र काँध क्षेत्रका मांसपेशीमा प्रत्यक्ष असर पार्ने हुँदा टाउको पछाडिबाट सुरु भएर अगाडितर्फ फैलिने दुखाइ देखिने गरेको चिकित्सकहरूको अनुभव छ । विशेषगरी मोटरसाइकल चलाउँदा घाँटी नछोप्ने, राति चिसोमा सुत्ने तथा लामो समय एउटै आसनमा बस्ने व्यक्तिमा यस्तो समस्या बढी देखिने गरेको डा खड्का बताउँछन् । “यो दुखाइ समयमै ध्यान नदिए विस्तारै दीर्घरूप लिन सक्छ,” उनी भन्छन् ।
त्यसैगरी जाडो मौसममा नाक बन्द हुने, अनुहार भारी महसुस हुने, आँखाको वरिपरि च्यापिएको जस्तो दुख्ने तथा टाउकोको अगाडिको भाग दुख्ने समस्या जाडोमा बढ्ने गर्छ ।साइनसमा सङ्क्रमण वा एलर्जी भएका व्यक्तिमा समयमै उपचार नगरे टाउको दुखाइ लामो समयसम्म रहने र कहिलेकाहीँ जटिल अवस्थासमेत आउन सक्ने चिकित्सकको भनाइ छ ।
यसैगरी माइग्रेनका बिरामी पनि जाडो मौसममा बढी प्रभावित हुने गरेका छन् । तापक्रमको अचानक परिवर्तन, चिसो हावा, निन्द्राको गडबडी तथा मानसिक तनावले माइग्रेन ट्रिगर गर्ने चिकित्सकहरू बताउछन् ।
डा खड्का भन्छन्, “माइग्रेन हुँदा एकातर्फ मात्र टाउको दुख्ने, बान्ता आउने, उज्यालो र आवाज सहन नसक्ने लक्षण देखिन्छ । जाडो मौसम माइग्रेनका बिरामीका लागि निकै संवेदनशील समय हो ।”चिकित्सकका अनुसार जाडोमा घाम कम ताप्दा भिटामिन ‘डी’को कमी हुने र यसले मांसपेशी दुखाइ, थकान तथा टाउको दुखाइलाई थप बढाउने गर्दछ । उच्च रक्तचाप भएका व्यक्ति, दीर्घरोगी, वृद्धवृद्धा तथा लामो समय मोबाइल र कम्प्युटर प्रयोग गर्नेहरू जाडो मौसममा टाउको दुखाइको उच्च जोखिममा पर्ने समूहमा पर्छन् ।
डा। खड्काले सामान्य टाउको दुखाइलाई बेवास्ता नगर्न आग्रह गर्दै भन्छन्, “बारम्बार टाउको दुख्ने, औषधि खाँदा पनि निको नहुने, दृष्टि धमिलो हुने, बान्ता आउने वा ज्वरोसँगै टाउको दुख्ने लक्षण देखिएमा ढिलाइ नगरी चिकित्सकको परामर्श लिनुपर्छ ।” उनी थप्छन्, “सही कारण पहिचान गरी समयमै उपचार गरेमा जाडो मौसममा देखिने अधिकांश टाउको दुखाइ नियन्त्रण गर्न सकिन्छ ।”
टाउको दुखाइबाट बच्न चिकित्सकहरूले पर्याप्त पानी पिउने, न्यानो कपडा लगाएर घाँटी र कान छोप्ने, बिहानको घाम ताप्ने, लामो समय एउटै आसनमा नबस्ने तथा घाँटी र काँधको हल्का व्यायाम गर्ने सुझाव दिएका छन् ।
जाडो मौसममा सानो लापरबाहीले स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले दैनिक जीवनशैलीमा सचेतता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २०, सोमबार १४:२७विश्वमेध महायज्ञको तयारी अन्तिम चरणमा
कला, विचार/मनोरञ्जन२०८२ माघ २०, सोमबार ११:१९पूर्वी नेपालमा ‘कुमारी’मय माहौल: केहरको गीत र अबिषेक र आकृतिको नृत्यमा झुम्यो पूर्व, गृह नगरमा भावुक बने अबिषेक
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २०, सोमबार १०:५०अधिकांशमा आँखाको समस्या « रिपोर्टर्स नेपाल
खेलकुद२०८२ माघ २०, सोमबार ०८:१७पाकिस्तानले भारतसँग टी–२० विश्वकप नखेल्ने








