विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्छ: प्रदेश प्रमुख भट्ट

पोखरा ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।
सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराले आयोजना गरेको ‘पछ्याणः तेस्रो संस्करण’ कार्यक्रममा प्रमुख अतिथि भट्टले सक्षम युवा जनशक्ति तयार पार्न शैक्षिक संस्थाले गुणस्तरीय, व्यवहारिक र सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । उनले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने शैक्षिक वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिए।
‘विज्ञान तथा प्रविधि अन्तर्गतको इञ्जिनियरिङ शिक्षाको महत्व विश्वभर नै उच्च छ । क्षमतावान प्राविधिकहरुको माग संसारमा बढिरहँदा हामीले प्राविधिक शिक्षालाई विश्वबजारमा प्रतिष्पर्धा गर्ने किसिमले स्तरवृद्धि गर्न आवश्यक पनि छ ।’ उनले भने।
दक्ष जनशक्ति विदेश पलायनको अवस्था भयावह हुँदै गएको बताउँदै उहाँले जनशक्ति पलायनको यो दुरावस्थालाई समयमै नियन्त्रण गर्न जरुरी रहेको बताए । ‘जनशक्ति पलायनको यो अवस्थालाई नियन्त्रणका लागि गतिलो आधार भनेको प्राविधिक शिक्षाको प्रभावकारी विकास नै हो ।’ उनले भने – ‘हरेक युवाले विदेशिनुलाई गौरव मान्ने मानसिकतालाई तोड्दै समृद्ध नेपाल निर्माणमा लाग्नुपपर्छ’
हरेक युवाले आफ्नो राष्ट्र प्रतिको दायित्वलाई मनन गर्दै समृद्ध नेपाल निर्माणका लागि अहोरात्र खटिनुपर्ने उहाँले बताउनुभयो । उनले थपे – ‘वास्तविक परिवर्तनका लागि समुदायका सबै तहका वर्ग र समूहको सहभागिता आवश्यक छ । यसमा सबैभन्दा सक्रिय र उर्जाशील तह भनेको युवा वर्ग हो ।’
‘युवाहरु कसैको उक्साहटमा नलागी, विरोध वा आन्दोलनमा सीमित नभई मुलुकलाई मनमा राखेर सामाजिक सेवा, ऐतहिासिक तथा सांस्कृतिक सम्पदा संरक्षण, प्रविधि प्रयोग र उद्यमशीलता जस्ता सकारात्मक गतिविधिमा सक्रिय भई समाज परिवर्तनमा योगदान दिनुपर्ने आवश्यकता छ ।’ उनले भने – ‘देश र समाजलाई संस्कार र मर्यादासहित आधुनिक युगमा डो¥याउने युवा वर्गले नै हो । तर, युवाहरू जागृत हुन बाँकी नै छ भन्ने महसुस भइरहेको छ ।’ भट्टले उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई आत्मनिर्भर बनाउनका लागि राज्यले उचित नीति र कार्यक्रम अवलम्वन गरी रोजगारी तथा अवसरको सिर्जना गर्न आवश्यक रहेको बताए ।
प्रदेश प्रमुख भट्टले यस कार्यक्रमले विद्यार्थीहरुको सिर्जनशीलता, प्रतिभा तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नेपालका इन्जिनियरिङ विद्यार्थीहरूलाई एकताबद्ध गर्न, उनीहरूका नवीन विचारहरू कार्यान्वयनका लागि प्रोत्साहित गर्न र मुलुकको संस्कृति र पर्यटनको प्रवद्र्धन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे ।
‘पछ्याणः संस्कृतिसँग, पहिचानसँग’ मूल मन्त्रका साथ नेपालका ईञ्जिनियरिङ कलेजहरु र प्रविधि क्षेत्रमा उत्साही युवा विद्यार्थीहरुलाई सहभागी गराई झण्डै दुई सातासम्म विविध कार्यक्रम गरी सञ्चालन गरिएको आयोजकले जनाएको छ । सुदूरपश्चिमबाट अध्ययनका लागि पोखरा आएका विद्यार्थीहरु संगठित भएर सन् १९९७ मा यो समाज स्थापना गरेका हुन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20494, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष २९, मंगलवार २०:१९पोखरामा उद्यम क्लिनिक सुरु
समाचार२०८२ पुष २९, मंगलवार २०:०८१४ औं पोखरा महोत्सव सुरु
समाचार२०८२ पुष २९, मंगलवार ०३:१६मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकी सिजन–३ को उपाधि निश्चल सुनार र स्वेक्षा वि.क.लाई
समाचार२०८२ पुष २९, मंगलवार ०३:१२टान गण्डकीद्धारा पत्रकार सागर ढकाल सम्मानित






