मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापनका लागि अनुदान सहायता स्वीकार

काठमाडौँ– सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि प्राप्त हुने अमेरिकी डलर ३६ लाख २१ हजार ९८३ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद् बैठकले यही माघ २ गते गरेका निर्णय आज सार्वजनिक गर्दै विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने उक्त रकम स्वीकार्ने निर्णय गरिएको जानकारी गराउनुभएको हो ।
यसैगरी मन्त्रिपरिषद् बैठकले स्वच्छ वायु तथा समृद्धि परियोजनाका लागि सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा विश्व बैङ्कसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
सरकारले नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, हाइड्रो जियोलोजी उपसमूह, राजपत्रांकित प्रथम श्रेणीका अधिकृत देवकुमार स्याङ्ङ्कोलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वा अन्तर्गत पदस्थापना गर्ने निर्णय गरेको मन्त्री खरेलले बताउनुभयो । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत सुपरिन्टेन्डिङ इन्जिनियर सुशीलचन्द्र देवकोटाले पेस गर्नुभएको राजीनामा स्वीकृत गर्ने निर्णय गरिएको छ ।
बैठकले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गर्नुका साथै उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग, २०८२ गठन गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिनुभयो ।
सरकारले नेपाली सेनाका एक जना सहायक रथीको सरुवा गर्ने र एक जना महासेनानीको सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको गरेको छ । साथै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्ष पदमा मोहम्मद सफिउल्लाहलाई मनोनयन गर्ने निर्णयसमेत गरिएको छ ।
आगामी फागुन १२ मा जापानको टोकियोमा आयोजना हुने नेपाल–जापान रोजगार सम्मेलनको दोस्रो संस्करणमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलाई स्वीकृति प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।
आगमी फागुन ४ देखि ७ गतेसम्म भूटानको थिम्पुमा सञ्चालन हुने दोस्रो पर्वतीय सम्बन्ध अन्तरक्षेत्रीय कार्यशालामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरिएको मन्त्री खरेलले जानकारी दिनुभयो ।
यसैगरी आगामी फागुन १२ देखि १५ गतेसम्म थाइल्यान्डमा आयोजना हुने दिगो विकासका लागि १३औँ एसिया प्यासिफिक मञ्चमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठको नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार ०७:१३आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
समाचार२०८२ माघ १९, आईतवार ०५:३८दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र
समाचार२०८२ माघ १८, शनिबार १९:०६लोकतान्त्रिक मूल्यहरूको संरक्षण सार्वजनिक सेवा प्रसारणको प्रमुख दायित्व हो -उपराष्ट्रपति
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १८, शनिबार १४:०२बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’







