सरस्वतीको पूजा गरेर आज श्रीपञ्चमी मनाइँदै

सरस्वतीको पूजा गरेर आज श्रीपञ्चमी मनाइँदै

धादिङ,९ माघ
विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी देशभर श्रद्धा र भक्तिसाथ आज (शुक्रबार) श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमीका नामले पनि चिनिने यस दिनलाई विद्या, बुद्धि, कला, साहित्य र संगीतसँग जोडिएको मौलिक पर्वका रूपमा लिइन्छ । बिहानैदेखि सरस्वती मन्दिरहरूमा दर्शन, पूजा र विशेष धार्मिक कर्मका लागि भक्तजनको उल्लेख्य चहलपहल देखिएको छ ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरहरूमा शुक्रबार विशेष रौनक छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, भक्तपुरको थिमीस्थित सरस्वतीखेल, काठमाडौंको विशालनगरस्थित नील सरस्वती, आर्यघाटको सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभू क्षेत्रलगायतका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।

विद्यार्थी, अभिभावक, शिक्षक, कलाकार, संगीतकर्मी तथा सर्वसाधारण श्रद्धालुहरू सरस्वतीको दर्शन गरी ज्ञान, विवेक र सिर्जनशीलताको कामना गर्दै पूजा गरिरहेका छन् । श्रीपञ्चमीलाई सरस्वती जयन्तीका रूपमा पनि लिने गरिन्छ ।धार्मिक विश्वासअनुसार श्रीपञ्चमीकै दिन सरस्वतीको प्राकट्य भएको मानिन्छ । वैदिककालदेखि नै सरस्वतीलाई विद्याकी अधिष्ठात्री देवीका रूपमा पूजा गर्ने परम्परा चलिआएको छ । यही मान्यताका कारण श्रीपञ्चमीका दिनलाई विशेष गरी शिक्षा र ज्ञानसँग सम्बन्धित कर्मलाई शुभ मानिन्छ ।

श्रीपञ्चमीका दिन बालबालिकाको शिक्षारम्भ गराउने प्रचलन व्यापक छ । अक्षरारम्भका रूपमा चिनिने यो संस्कारमा साना बालबालिकालाई पहिलोपटक अक्षर लेख्न सिकाइन्छ ।धेरै विद्यालय तथा शैक्षिक संस्थाहरूले श्रीपञ्चमीकै दिन सरस्वती पूजा, अक्षरारम्भ र सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । साथै, शिशुको नाक र कान छेडाउने संस्कार पनि शुभ मानिने भएकाले विभिन्न स्थानमा यस्तो कर्म गरिएको देखिन्छ ।
गुरुबाट दीक्षा लिने, नयाँ वाद्ययन्त्र प्रयोगको आरम्भ गर्ने र कलासम्बन्धी अभ्यास सुरु गर्ने परम्परा छ । ज्ञानका स्रोत मानिने पुस्तक, कापी–कलमसँगै हार्मोनियम, तबला, बाँसुरीजस्ता वाद्ययन्त्र तथा चित्रकलाका रंग र साधनलाई समेत सरस्वतीको प्रतीक मानेर पूजा गर्ने चलन छ ।
यस पर्वलाई ज्ञान र विवेकको उज्यालोसँग जोडिन्छ । वसन्त ऋतुको आगमनसँगै प्रकृतिमा हरियाली बढ्ने, फूल फुल्ने र नयाँ ऊर्जा सञ्चार हुने समय भएकाले पनि वसन्त पञ्चमीलाई सकारात्मक परिवर्तन र नयाँ सुरुवातको प्रतीकका रूपमा लिने गरिन्छ । यही कारण सरस्वती पूजाको दिन अध्ययन, सिर्जना र आत्मविकासका लागि विशेष मानिन्छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   6   =  

Protected by Spam Master