आठ वर्षपछि निर्देशनमा रेखा थापा, ‘माया भनेकै यस्तो होला’ घोषणा

काठमाडौं । नयाँ नेपाली कथानक चलचित्र ‘माया भनेकै यस्तो होला’ औपचारिक रूपमा निर्माण घोषणा गरिएको छ। आइतबार महाशिवरात्रिको अवसर पारेर राजधानीमा आयोजित विशेष कार्यक्रममा चलचित्रको शुभारम्भ गरिएको हो।
यस चलचित्रमार्फत नेपाली फिल्म उद्योगकी चर्चित अभिनेत्री रेखा थापा करिब आठ वर्षको अन्तरालपछि पुनः निर्देशनमा फर्किएकी हुन्। यसअघि उनले ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी छन्।
‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा वरिष्ठदेखि नयाँ पुस्तासम्मका कलाकारहरूको बलियो उपस्थिति रहने जनाइएको छ। मुख्य भूमिकामा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह देखिनेछन्।
घोषणासँगै सार्वजनिक दुई पोस्टरले कथाको भावनात्मक आयाम झल्काएका छन्। पहिलो पोस्टरमा तीन अभिनेत्रीहरू रातो पहिरनमा सिंगारिएर देखिँदा प्रेम, सम्बन्ध र सम्भावित त्रिकोणात्मक कथाको संकेत मिल्छ। दोस्रो पोस्टरमा दिल श्रेष्ठ एक वृद्ध पात्रसँग भावुक मुद्रामा देखिन्छन्, जसले परिवार, कर्तव्य र बुढ्यौली सहाराको भाव उजागर गर्छ।
चलचित्रको शीर्षकले नै प्रेमको अर्थ र गहिराइ खोज्ने प्रयास गरेको अनुभूति हुन्छ। युवा पुस्ताको रोमान्सदेखि पारिवारिक जिम्मेवारीसम्मका विषय समेटेर सबै उमेर समूहलाई लक्षित गरिएको बुझिन्छ। सह–कलाकारका रूपमा लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेलको पनि अभिनय रहनेछ।
हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस परियोजनाले सामाजिक परिवेशभित्रको प्रेमकथालाई मुख्य आधार बनाउने संकेत दिएको छ। चलचित्रको छायांकन फागुन दोस्रो सातादेखि सुरु गर्ने र आगामी वर्ष तीज आसपास प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको छ।
पत्रकार सम्मेलनमा निर्देशक रेखा थापाले फिल्म समाजकै वास्तविक घटनाबाट प्रेरित रहेको बताइन्। उनले कलाकार चयन कथा र पात्रको मागअनुसार गरिएको स्पष्ट पार्दै सबै कलाकारप्रति विश्वास व्यक्त गरिन्। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पनि फरक भूमिकामा देखिन पाउनु उत्साहजनक भएको बताए भने अभिनेत्रीहरू सृष्टि श्रेष्ठ र नम्रता श्रेष्ठले दिग्गज टोलीसँग काम गर्न पाउनु अवसरका रूपमा लिएको प्रतिक्रिया दिए।
१० वर्षपछि लेखनमा फर्किएका लेखक ध्रुव लम्सालले स्क्रिप्टमा विशेष मेहनत गरिएको दाबी गर्दै चलचित्रले दर्शकको मन छुने विश्वास व्यक्त गरे।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २४, शनिबार १७:२१अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:४३सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो
खेलकुद२०८३ आश्विन २३, शुक्रबार २०:१९एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
समाचार२०८३ आश्विन २३, शुक्रबार १९:२२धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द









