चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक शुभारम्भ

काठमाडौं। नेपाली चलचित्रको इतिहास, कला र प्रविधिलाई भावी पुस्तासम्म सुरक्षित रूपमा संरक्षण गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक शुभारम्भ गरेको छ। मंगलबार बोर्डको प्रेक्षालयमा आयोजित विशेष समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेतको प्रमुख आतिथ्यतामा सङ्ग्रहालय उद्घाटन गरिएको हो।
कार्यक्रममा विभिन्न चलचित्रकर्मी तथा संस्थाहरूले ऐतिहासिक क्यामेरा, क्यासेट, टेप, पोस्टर, आर्टवर्क, स्क्रिप्ट तथा दुर्लभ कागजातहरू सङ्ग्रहालयलाई हस्तान्तरण गरेका थिए। सामग्री उपलब्ध गराउने व्यक्तित्व र संस्थाहरूलाई सम्मानसमेत गरिएको थियो।
ऐतिहासिक सामग्री हस्तान्तरण
सङ्ग्रहालयलाई समृद्ध बनाउन विभिन्न क्षेत्रका चलचित्रकर्मी र संस्थाहरूले महत्त्वपूर्ण योगदान दिएका छन्।
सिने फोकस प्रा.लि. (रजत बुढाथोकी) ले रेड क्यामेरा हस्तान्तरण गरेका छन्।
क्लासिक सिने युनिभर्स प्रा.लि. (दिनेश महरा) ले सोनी EX3 क्यामेरा उपलब्ध गराएका छन्।
वरिष्ठ चलचित्र सम्पादक मानबहादुर थापाले सन् १९८० को पानासोनिक F10 क्यामेरा, सोनी कलर मोनिटर (२००१), नेशनल पानासोनिक ५४३ क्यासेट टेप, साउन्ड/भिडियो उपकरण तथा अडियो मिक्सर उपलब्ध गराएका छन्।
म्युजिक नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक उत्तम थापाले १५२ नेपाली चलचित्रका पोस्टर तथा आर्टवर्क प्रदान गरेका छन्।
ओ.एस.आर डिजिटल (रुपेन्द्र खड्गी) ले चलचित्र आर्टवर्कहरू उपलब्ध गराएका छन्।
कान्तिपुर रेडियोले ३४४ वटा चलचित्रका क्यासेट तथा अडियो सीडीहरू हस्तान्तरण गरेको छ।
दर्शनबीर शाक्य (सम्पादक, पेज थ्री पत्रिका) ले नेपाल भाषाका ८० चलचित्रका पोस्टर उपलब्ध गराएका छन्।
जनक तामाङ (हाइलाइट्स नेपाल) ले २०२ नेपाली चलचित्रका आर्टवर्क प्रदान गरेका छन्।
सुन्दरलाल श्रेष्ठ (आईडियल डिजाइनर्स) ले १४६ नेपाली चलचित्रका पोस्टर उपलब्ध गराएका छन्।
वरिष्ठ चलचित्रकर्मी मन्दिल श्रेष्ठ तथा गौरीशंकर धुँजु (ए वन जन सेन्टर) ले पुरानो ऐतिहासिक क्यामेरा र ट्राइपोड प्रदान गरेका छन्।
लेखक तथा चलचित्रकर्मी नरेन्द्रबहादुर श्रेष्ठले प्रथम चलचित्र अवार्डसम्बन्धी संग्रहयोग्य कागजात उपलब्ध गराउने भएका छन्।
छायाँकार पुरुषोत्तम प्रधानले आफू संलग्न ६३ नेपाली चलचित्रका स्क्रिप्टहरू उपलब्ध गराएका छन्।
नेपाली चलचित्रप्रेमी दर्शक खुमराज पौडेल (प्रतिनिधि प्रिया लामिछाने) ले ७०४ वटा नेपाली चलचित्रका पोस्टर हस्तान्तरण गरेका छन्।
दीर्घकालीन सपनाको साकार रूप
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्वदेशी चलचित्र सङ्ग्रहालय स्थापना आफ्नो दीर्घकालीन सपना रहेको उल्लेख गर्दै यसलाई नेपाली चलचित्रको आत्मा जोगाउने अभियानका रूपमा व्याख्या गरे।
“नेपाली चलचित्रको इतिहास केवल सम्झनामा सीमित नरहोस्, त्यसलाई पुस्तान्तरण गर्न सकिने गरी संस्थागत रूपमा संरक्षण गर्नुपर्छ भन्ने सोचका साथ हामीले यो पहल गरेका हौँ,” उनले बताए। विगतका संघर्ष, प्रविधिगत विकास र सिर्जनात्मक यात्रालाई एकै थलोमा अभिलेखीकरण गर्नु समयको माग भएको उनले धारणा व्यक्त गरे।
उनका अनुसार आगामी दिनमा सङ्ग्रहालयलाई डिजिटल अभिलेखीकरणसँग जोड्दै अनुसन्धानकर्ता, विद्यार्थी तथा चलचित्रप्रेमीका लागि अध्ययन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। “यो सुरुआत मात्र हो, यसलाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा विस्तार गर्नेछौँ,” उनले प्रतिबद्धता जनाए।
बोर्ड सदस्य गणेश सुवेदीको मन्तव्यबाट सुरु भएको कार्यक्रममा सेन्सर बोर्डका अध्यक्ष उदयबहादुर राना मगर, बोर्ड सदस्य राजु प्याकुरेल र विरेन्द्र भट्टलगायत १३ वटा चलचित्रसम्बन्धी संघ–संस्थाका अध्यक्ष तथा विशिष्ट चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले नेपाली चलचित्रको इतिहास संरक्षणमा बोर्डले ऐतिहासिक कदम चालेको बताएका थिए। सङ्ग्रहालयले विगतका प्रविधि, सिर्जना र दस्तावेजहरूलाई एकै स्थानमा सुरक्षित राख्दै नयाँ पुस्तालाई अध्ययन तथा अनुसन्धानको अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
चलचित्र विकास बोर्डले आगामी दिनमा थप चलचित्रकर्मी, संस्थाहरू तथा निजी संग्राहकसँग सहकार्य गर्दै सङ्ग्रहालयलाई अझ व्यवस्थित र समृद्ध बनाउने जनाएको छ। नेपाली चलचित्र उद्योगको इतिहासलाई संस्थागत रूपमा जोगाउने यो पहललाई चलचित्रकर्मीहरूले सकारात्मक रूपमा स्वागत गरेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १२, मंगलवार २१:०८चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक शुभारम्भ
समाचार२०८२ फाल्गुन १२, मंगलवार २०:४६‘जेन-जी परिषद्’ गठन गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत
समाचार२०८२ फाल्गुन १२, मंगलवार १५:२८नेप्से परिसूचकमा २१ अङ्कले सुधार, कारोबार रकम चार अर्ब नाघ्यो
समाचार२०८२ फाल्गुन १२, मंगलवार १३:०७धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा








