कनेक्टिभिटीमा जोड दिदै सकियो जाउँ है पोखरा अभियान

पोखरा। पर्यटक आदानप्रदान र कनेक्टिभिटीमा जोड दिंदै यसबर्षको जाउँ है पोखरा अभियान मकवानपुरको हेटौंडामा शुक्रबार समापन गरिएको छ ।
यही चैत ९ गतेबाट सुरु भएको पाँच दिने अभियान अन्तर्गत वीरगंज, विराटनगर र इलाममा पनि पत्रकार सम्मेलन र अन्तरक्रियाहरु आयोजना गरिएको थियो । होटल संघ पोखरा नेपालको अयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा यो अभियान संचालन गरिएको थियो ।
अभियानको क्रममा पूर्वका भद्रपुर, सिमरा, विराटनगर र फाल्गुनन्द विमानस्थलबाट पोखरासम्म हवाई सेवा संचालनको निरन्तरता र संभाव्यताका विषयमा छलफल भएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । यसैगरी पूर्वका विभिन्न शहरबाट पोखरासम्म पर्यटकीयस्तरको बस सेवा संचालनबारे समेत बहस अगाडि बढाइएको उनले बताए ।
नयाँ बर्षका अवसरमा यही चैत २९ देखि बैशाख १ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुन लागेको २१ औं फेवा नव बर्ष महोत्सवमा सहभागिताका लागि समेत संघले पूर्वका वासिन्दालाई निमन्त्रणा प्रदान गरेको अध्यक्ष सुवेदीले जानकारी दिए ।
पूर्वी नेपालको भ्रमणका क्रममा संघले पर्यटन, संस्कृति र खानालाई जोड दिएर गर्न लागिएको महोत्सवमा पर्यटकलाई होटलको प्रकाशित दररेटमा २५ प्रतिशत सम्म छुट प्रदान गरिने जानकारी गराएको थियो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरालाई पहिलो रोजाईको पर्यटककीय गन्तव्य बनाउने गरी बोर्डले निजी क्षेत्रसँग सहकार्य गरिरहेको जानकारी दिंदै मध्यपूर्वमा जारी तनावका कारण नेपालको पर्यटन प्रभावित हुने चिन्ता बढेको बताए ।
जल, जमीन र आकास सबै क्षेत्रका गतिविधिमा पर्यटकीय पोखराले आफ्नो पहिचान बनाएको बताउँदै उनले पूर्व र पोखरा विच पर्यटक र व्यवसायको आदानप्रदानले पर्यटनको विकासमा थप टेवा पुग्ने सुझाव राखे ।
होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले नेपाली पर्यटनले भोग्दै आउनुपरेका समस्या र चुनौतिका बारे चर्चा गर्दै पर्यटनको विकासको लागि सरकारले पनि उत्तिकै गंभीर भएर शोच्न जरुरी भएको भनाई राखे ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले गण्डकी प्रदेशले पदयात्रा पर्यटनको क्षेत्रमा बोकेका अपार संभावनाका बारेमा अवगत गराएका थिए । अन्नपूर्ण क्षेत्रको पदयात्रा, मनाङ, मुस्ताङ र उपल्लो मुस्ताङको भ्रमण लगायत थुप्रै धार्मिक क्षेत्रको दर्शन समेत ती क्षेत्रमा गर्न सकिने उनले बताए ।
इलाममा आयोजित कार्यक्रम सूर्योदय नगरपालिका वडा नम्बर ८ का अध्यक्ष जंगबहादुर गुरुङ र हेटौंडामा आयोजित कार्यक्रम होटल संघ मकवानपुरका संस्थापक एवं होटल व्यवसायी महासंघका सल्लाहकार भागिरथ शर्माले उद्घाटन गरेका थिए ।
अभियानमा सहभागीलाई स्वागत पछि सूर्योदय होटल व्यवसायी संघका अध्यक्ष प्रज्वल प्रधानले सुर्योदय खाना महोत्सवका बारेमा जानकारी गराए । मकवानपुरका संस्थापक एवं होटल व्यवसायी महासंघका सल्लाहकार भागिरथ शर्माले देशको चिनारी र अर्थतन्त्रका लागि पर्यटनको योगदान महत्वपूर्ण हुने भनाई राखे ।
आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र द्वितीय उपाध्यक्ष गणेशराज पहारीले पनि अभियानका अवसरमा भनाई राखेका थिए । कार्यक्रमको संचालन संघका सचिव पार्वती पाण्डेले गरेकी थिइन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21149, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १०, आईतवार २१:२९तेश्रो खुल्ला डुंगा दौड प्रतियोगिता जेष्ठको तेश्रो साता
समाचार२०८३ जेष्ठ १०, आईतवार १७:१६प्रतिभा मन्टेश्वरीमा ‘मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न
समाचार२०८३ जेष्ठ ९, शनिबार १८:५९नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा,गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा सम्मानित
समाचार२०८३ जेष्ठ ८, शुक्रबार १०:१५सानिसा कार्यक्रममार्फत गण्डकीमा लगानी र विकासका सम्भावना उजागर







