‘मालती मंगले’को दोस्रो गीत ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक, विजय र वर्षा देखिए रोमान्टिक

काठमाडौं । गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको प्रतीक्षित नेपाली चलचित्र ‘मालती मंगले’को दोस्रो गीत ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक गरिएको छ। आगामी वैशाख २५ गते (मे ८) बाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको नयाँ गीतमा मुख्य कलाकार विजय बराल र वर्षा राउतलाई रोमान्टिक अन्दाजमा फिचर गरिएको छ।
सार्वजनिक भिडियोको मुख्य आकर्षण भने बलिउडको ब्लकबस्टर चलचित्र ‘मोहब्बते’मा शाहरुख खान र काजोलको भेषमा विजय र वर्षाले गरेको नृत्य हो। निर्माता तथा गायक रामकृष्ण ढकालका अनुसार चलचित्रको कथामा वर्षाको पात्रले विजयमा शाहरुखलाई देख्ने भएकाले गीतमा त्यसैको झल्को दिने रचनात्मक प्रयास गरिएको हो।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रको यस डान्सिङ नम्बरमा गायक रामकृष्ण ढकाल र गायिका ऋतिका श्रेष्ठको युगल स्वर रहेको छ। गीतमा हर्क साउदको शब्द तथा एसडी योगीको सङ्गीत रहेको छ भने रिकेश गुरुङले सङ्गीत संयोजन (एरेन्ज) गरेका हुन्। यस विशेष गीतको भिडियोलाई अर्जुन तिवारीले छायाङ्कन गरेका हुन् भने यसको आकर्षक कोरियोग्राफी रोशन बिकले गरेका हुन्।
यसअघि चलचित्रको शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको थियो। चलचित्रको नाम सुन्दा धेरैलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेको चर्चित गीतिनाटकको झल्को आए तापनि निर्माता ढकालले यो पूर्णतः हाम्रै समाजको परिवेशमा आधारित एक फरक साङ्गीतिक प्रेमकथा भएको प्रस्ट पारे।
प्रकु पाण्डेयको पहिलो निर्देशकीय चलचित्र रहेको ‘मालती मंगले’को कथा निर्देशक स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन्। चलचित्रका सह-निर्माताहरू बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ हुन्।
चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा देखिएका छन्। उनीहरूका साथै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रका छायाकार महेश पौडेल हुन् भने सम्पादन रोमी मोजेजको, रङ्ग संयोजन कृष्ण भण्डारीको, ध्वनि मिश्रण डिकेश खड्गीको रहेको छ। चलचित्रको डिजिटल वितरक ओएसआर डिजिटल तथा थिएटर वितरक आरआर फिल्म्स हो।
समग्र साङ्गीतिक पाटो र बलियो कथावस्तुका कारण वैशाख २५ गते प्रदर्शन हुने यस चलचित्रलाई लिएर दर्शकमाझ निकै उत्सुकता बढेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २१, आईतवार ११:११‘हनुमान अंश’को दोस्रो भाग बन्ने, पहिलो फिल्मले कमायो १०० करोड
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २१, आईतवार १०:१२बाँकेमा १६ जनाको डीएनए नमुना संकलन « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ भाद्र २१, आईतवार ०७:५२नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
समाचार२०८३ भाद्र २१, आईतवार ०६:३९बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग









