नीलकण्ठका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन नगरपालिकाले पूर्ण सहयोग गर्ने : मेयर ढुङ्गाना

नीलकण्ठका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन नगरपालिकाले पूर्ण सहयोग गर्ने : मेयर ढुङ्गाना

धादिङ : नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुङ्गानाले खेलकुद र खेलाडीको विकासका लागि नगरपालिकाले उच्च प्राथमिकता दिएको बताउनुभएको छ। आइतबार खेलाडीहरूसँगको भेटघाटको क्रममा उहाँले गोरखा नगरपालिकाको आयोजनामा सम्पन्न भएको अन्तरपालिका स्तरिय दोस्रो उप-प्रमुख कप महिला भलिबल प्रतियोगिताको उपाधी जित्न सफल महिला भलिबल खेलाडीहरूलाई बधाई दिँदै अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न नगरपालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्दै नीलकण्ठ नगरपालिकाले लगातार दोस्रो पटक उपाधी जित्न सफल भएको हो । प्रतियोगितामा गोरखा जिल्लाका ११ स्थानीय तहसँगै भगिनी सम्बन्ध रहेको नीलकण्ठ नगरपालिकाले सहभागिता जनाएको थियो। यहि बैशाख ३ गते देखि ५ गते सम्म संचालन भएको प्रतियोगितामा नीलकण्ठ नगरपालिकाले उपाधि संगै एक लाख चौतिस हजार आठ सय चौध रुपैया छैसठ्ठी नगद पुरस्कार प्राप्त गरेको थियो । विजेता टोलीले प्राप्त गरेको शिल्ड भने आज आईतबार नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

मेयर ढुङ्गानाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै  उपाधि रक्षा गरेकोमा भलिबल टिमका प्रशिक्षक (कोच) र खेलाडीहरूलाई नगरपालिका र आफ्नो व्यक्तिगत तर्फबाट विशेष धन्यवाद ज्ञापन गर्नुभयो। बाहिरी जिल्लामा खेल्न जाँदा खेलाडीहरूलाई कुनै असुविधा वा दुर्व्यवहार नहोस् भनेर नगरपालिकाले टिम कोच बिरु लामा,टिम मेनेजर उत्तम भट्ट,नगरपालिकाबाट श्रोत ब्यक्ती मेघनाथ कोईराला लगायतको टोलीलाई अभिभावकको रूपमा खटाएको र खेलाडीहरूबाट कुनै गुनासो नआएको उहाँले स्पष्ट पार्नुभयो।

भलिबल नेपालको राष्ट्रिय खेल भएको र यसप्रति आकर्षण बढ्दै गएको स्मरण गर्दै मेयर ढुङ्गानाले स्थानीय स्तरमा जितेर मात्र सन्तुष्ट नहुन खेलाडीहरूलाई आग्रह गर्नुभयो। नीलकण्ठ नगरपालिकाकै एरिका गुरुङले अन्तर्राष्ट्रिय स्तरमा पदक जितेर देशको नाम राख्न सफल भएको उदाहरण दिँदै उहाँले भलिबलबाट पनि भोलिका दिनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो।

“नीलकण्ठका खेलाडी बहिनीहरूले भोलि प्रदेश, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने तागत राख्नुहुन्छ भन्ने मलाई विश्वास छ,” मेयर ढुङ्गानाले भन्नुभयो, “खेलाडीहरू अर्जुनदृष्टि लगाएर आफ्नो लक्ष्यमा लाग्नुपर्छ, दायाँबायाँ विचलित हुनुहुँदैन।”

सोही क्रममा उहाँले लन्डनमा बसेर पनि नीलकण्ठको भलिबल खेलको विकासमा निरन्तर योगदान पुर्‍याइरहेका वीरूजीको प्रशंसा गर्नुभयो। उहाँले खेल क्षेत्रमा लाग्नेहरूलाई संस्थागत र व्यक्तिगत तर्फबाट सधैं साथ रहने  दोहोर्याउनुभयो।नीलकण्ठका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन नगरपालिकाले पूर्ण सहयोग गर्ने : मेयर ढुङ्गाना

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   3   =  

Protected by Spam Master