फोहोर उठाउँदै भविष्य जोडेका महिलाहरु

बालकुमारी पौडेल/पोखरा ।
घरबाहिर निस्केर आर्थिक गतिविधिमा संलग्न हुनु महिलाका लागि चुनौतीपूर्ण मानिन्छ । तर, यी चुनौतीलाई अवसरमा बदलेका छन् पोखरा ७ मा बसोबास गर्ने ५ महिलाहरुले । फालिएका प्लास्टिकका बोटलहरु संकलन गर्ने र बिक्री गर्ने काम हेर्दा सामान्य देखिए पनि महिलाहरुको लागि रोजगारीको आधार बनेको छ । यो उद्यम फोहोर व्यवस्थापन मात्र होइन, महिलाको आर्थिक सशक्तीकरण, आत्मसम्मान र सामाजिक रूपान्तरणको उदाहरण पनि हो । यसले अन्य महिलालाई पनि आत्मनिर्भर बन्न प्रेरणा दिएको छ । संगीता शर्माको नेतृत्वमा पोखरा–७ मा सञ्चालित यस उद्यमले ‘फोहोरलाई मोहोरमा बदलौं’ भन्ने भनाईलाई सार्थकता दिएको छ ।
समाजसेवाबाट उद्यमसम्मको यात्रा
यस यात्रामा सहयात्री बनेर लागेका महिलाहरु समूहकी संयोजक संगिता शर्मा, बुद्धिमाया गुरुङ, विमला श्रेष्ठ, शोभा थापा र लालकुमारी गुरुङ हुन् । सुरुमा वातावरणीय सरसफाईलाई महत्व दिएका उनीहरुले गत असोजमा “बोटल बैंक सञ्चालन समूह” नामक संस्था दर्ता गरेर नै व्यवस्थित रूपमा काम थालेका हुन् ।
सुरुवातमा २०७४ सालदेखि माछापुच्छ्रे महिला क्लबले पोखरा–७ मा फोहोर व्यवस्थापनमा सक्रिय भूमिका निभाउँदै आएको थियो । उनीहरुले पोखरा वृहत सरसफाई अभियानमा लागेर सरसफाई कार्यक्रममार्फत जनचेतना फैलाउने काम गरे । सुरुमा महिलाहरुले कुहिने फोहोरबाट मल बनाउने र नकुहिने फोहोर कवाडीमा बिक्री गर्न थाले । यसरी बिक्री गरी संकलन गरिएको करिब ४० हजार रुपैयाँ संस्थाको खातामा जम्मा भएपछि आफुहरुमा आत्मविश्वास बढेको बताउँछिन् संयोजक शर्मा । कोभिड–१९ को महामारी हुदा संक्रमणको डर र फोहोर जम्मा हुँदा आउने जोखिमकाबीच केहि समय काम रोकिए पनि पछि उनीहरु त्यसमै लागि परे । यो काम व्यवसायिक भन्दा पनि वातावरण सरसफाईमा केन्द्रित थियो ।
यसै क्रममा गत वैशाखमा पोखरा महानगरपालिका र विभिन्न साझेदारी संस्थाहरुसँगको सहकार्यमा फोहोर रिसाइकलिङ, अपसाइकलिङ र उद्यमशीलतासम्बन्धी तालिममा संगिता शर्मा सहभागी भईन् । यसपछि असारमा भएको दोस्रो चरणको तालिममा फोहोरबाट व्यवसाय गर्ने सीप सिकाइयो । जुन तालिममा संगिता शर्मा र बुद्धिमाया गुरुङ सहभागि थिए । त्यसपछि उनीहरुले “वातावरण सफा राखौं, जनचेतना फैलाऔं” भन्ने उद्देश्यसहित ‘बोटल बैंक सञ्चालन समूह’ स्थापना गर्ने निर्णय गरे । जसमा थप तीन जना महिला जोडिए ।
यस उद्यमका लागि जिसिआरयु (GCRU) ले करिब ६ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग ग¥यो । उनीहरुले भदौदेखि सात वर्षका लागि मासिक चार हजार रुपैयाँ भाँडा तिर्ने गरी जग्गा भाडामा लिएर काम सुरु गरे । उनीहरुले ट्रस निर्माणका लागि चार लाख रुपैयाँ सामूहिक रुपमा लगानी गरे । यसमा स्थानीय तहबाट भने अझै आवश्यक सहयोग पाउन नसकेको अवस्था छ ।
बोटल संकलन र बिक्री प्रकृया
बोटल बैंकमा महिलाहरु प्लास्टिकका बोटलहरु मात्र हैन् पेय पदार्थका बोटल र प्लाष्टिक पनि संकलन गर्छन् । पहिला पानीका बोटल मात्र संकलन गर्ने गरिएतापनि स्थानियवासीको आग्रह अनुसार उनीहरुले नकुहिने अन्य वस्तुहरु पनि संकलन गर्ने गरेका हुन् । उनीहरुले संकलन गरेका करिब १० हजार केजी बोटलहरु नीजि उद्योगमा बिक्री गरिसकेका छन् । त्यसबाहेक प्लास्टिक, बियरको बोटल, क्यान गरी ९ सय केजी भन्दा बढि बिक्री गरिएको छ । सामानकोे प्रकारअनुसार प्रतिकेजी फरक–फरक मूल्यमा बिक्री हुन्छ । कुनै पनि सामानहरुको निश्चित बिक्री मूल्य निर्धारण भएको छैन् । तर पनि नीजि कम्पनीले दिएको मूल्यमा आफूहरु सन्तुष्टि मान्ने गरेको महिलाहरु बताउँछन् ।
उनीहरू पार्टी प्यालेस, होटल, सडकछेउ र स्थानीय क्षेत्रबाट बोटल संकलन गर्छन् । फालिएका सामानहरु मात्र संकलन र बिक्री गर्ने मात्र नभइ सामानको प्रकृति र परिमाण हेरेर निश्चित मूल्यमा खरिद पनि गर्छन् । कहिले स्थानीयवासीले बोटल बैंकसम्म नै सामानहरु ल्याइदिन्छन् ।
हाल महिलाहरूले औसतमा मासिक ५–६ हजार रुपैयाँ कमाइरहेका छन् । गर्मी मौसममा यो आम्दानी १० हजार रुपैयाँसम्म पुग्ने अनुमान छ । भविष्यमा प्रत्येक सदस्यले मासिक १० हजार रुपैयाँ कमाउने उनीहरुको लक्ष्य छ ।
व्यवसायका अलवा यस समूहले टोलका १ सय ५ घरधुरीमा कुहिने र नकुहिने फोहोर छुट्याउने कम्पोस्ट विन वितरण गरेको छ । सबै सामग्री निःशुल्क उपलब्ध गराइएको हो । यस अभियानबाट वडा नम्वर ७ का धेरै घरमा कौसी खेतीसमेत सुरु भएको छ ।
‘फोहोर उठाउँदा आत्मसम्मान घट्दैन । बरु आत्मनिर्भर भएको महसुस हुन्छ ।’ महिलाहरु भन्छन्, ‘फोहोरमा मोहोर छ भनेर गर्वका साथ भन्न सक्ने भएका छौं ।’
सामूहिक काम, पारिवारको साथ
फोहोर व्यवस्थापनलाई आम्दानी र आत्मनिर्भरतासँग जोड्दै उदाहरणीय काम गरिरहेका महिलाहरुले यो उद्यममा लाग्नको लागि आ—आफ्नो परिवारको पूर्ण साथ र सहयोग पाएका छन् । पारिवारिक सहयोग, सामूहिक प्रयास र निरन्तर संघर्षका कारण उनीहरू आज समाजका लागि प्रेरणाको स्रोत बनेका छन् ।
फरेष्टर श्रीमानको साथ र सहयोगबाट उद्यममा लागेकी समूहकी संयाजेक शर्मा आफूहरु यो व्यवसायको लागि छनोट हुदाको खुसीको क्षण स्मरण गर्छिन् । जसमा उनलाई चार जना साथीले दिएको साथ अमूल्य भएको बताउँछिन् । ‘घरको सबै काम सकेर बाँकी समयको सदुपयोग गरेर व्यवसाय गरेका छौँ । यसले पारिवारिक जिम्मेवारीमा असर नगरी आर्थिक योगदान दिएको छ ।’ उनी भन्छिन् ‘पहिला हामी सामाजिक सेवाको रूपमा काम गथ्र्यौं । अहिले फोहोरमा मोहोर (आम्दानी) देखेर काम थालेका छौं ।’
बुद्धिमाया गुरुङ फोहोरमा पनि सम्भावना देखेको बताउँछिन् । ‘हामीलाई कतिपयले कवाडीको रूपमा हेर्छन्, तर हामी वातावरण जोगाउँदै उद्यमी बन्न चाहन्छौं ।’ उनी भन्छिन्, ‘एक्लैले गर्न सकिँदैन, सामूहिक रूपमा लाग्नुपर्छ ।’
फोहोर व्यवस्थापनबाट आम्दानीसँगै वातावरण पनि सफा भएको लालकुमारी गुरुङको भनाई छ । ‘घरको काम सकेर समय निकाल्छु । परिवारको पूर्ण साथ छ,’ उनी भन्छिन् । वैदेशिक रोजगारबाट फर्केका श्रीमानको सहयोगसमेत पाएकी लालकुमारी विस्तारै उद्यमी बन्ने सोचमा छिन् ।
शोभा थापालाई वडा सदस्य श्रीमानको साथ छ । उनी यस उद्यममा दृढ भएर लागिरहेकी छन् । उनी भन्छिन् ‘नगरपालिकाको गाडीमा पैसा तिरेर फोहोर फाल्नुपर्छ । तर वर्गीकरण गरे मल बन्छ, आम्दानी पनि हुन्छ ।’
श्रीमान जागिरे भए पनि पूर्ण साथ रहेको बताउने विमला श्रेष्ठ काम सानो–ठूलो हुँदैन भन्नेमा विश्वास गर्छिन् । लगानी गरेपछि जिम्मेवारी पनि बढेको बताउँदै उनले स्थानीयवासीलाई फोहोर संकलनमा सहयोग गर्न आग्रहसमेत गरेकी छन् ।
चुनौतीहरू
सामुहिक उद्यममा लागेका उनीहरू ७ नम्बर वडा र पोखरा महानगरमै नमूना बन्ने लक्ष्यसहित अघि बढिरहेका छन् । तर उनीहरु सामु चुनौती पनि उतिकै छ । उद्यम सञ्चालन गर्न फोहोर संकलन गर्ने ठाउँका लागि जग्गा पाउन उनीहरुलाई निकै गाह्रो भयो । जग्गा पाइहाले पनि फोहोर थुपार्ने हुनाले घर वरिपरि दुर्गन्धित हुन्छ भन्ने जस्ता अनावश्यक अफवाहले उनीरुलाई ठूलैै समस्या सिर्जना गर्यो ।
उनीहरुले सामाजिक सोचको पनि चुनौती सामाना गरे । अन्य पेशा व्यवसाय गर्न छोडेर फोहोर बटुलेर उद्यमी बन्छौ भनेर लागेका छन् भन्ने अरु व्यक्तिहरुको भनाईलाई उनीहरुले शक्तिमा बदलेर अघि बढे । फोहोर वर्गीकरण गर्न धेरै व्यक्तिहहरुले अल्छी गर्ने, दर्ता प्रक्रिया झन्झटिलोे, मूल्य निर्धारणमा निजी कम्पनीको मनपरी जस्ता समस्या पनि उनीहरुले भोगेका छन् । यो परियोजना सकिएपछि पनि टिकाइराख्न स्थानीय सरकारको दीर्घकालीन सहयोग, उचित मूल्य निर्धारण, पूर्वाधार र नीति आवश्यक रहेको उद्यमी महिलाहरुको भनाई छ ।
समाजमा पैसा कमाउन सजिलो भए पनि सम्मान पाउन गाह्रो हुने उनीहरूको अनुभव छ । तर कामको निरन्तरताले सोच परिवर्तन हुँदै गएको छ ।
भावी योजना
बोटल बैंक सञ्चालन समूहका महिलाहरुले अरुबाट पाएको आर्थिक सहयोगको सही सदुपयोग गर्दै यस व्यवसायबाट नै सफल उद्यमी बनेर स्थापित हुने सोच राखेका छन् । यिनै कच्चा पदार्थहरुबाट नयाँ प्रविधि प्रयोग गरि नयाँ वस्तुको उत्पादन र बिक्री गर्ने दीर्घकालिन लक्ष्य उनीहरुको छ । उनीहरुले बिमा र आकस्मिक कोष सञ्चालन, महिला उद्यमीका लागि कर छुट र सहज दर्ताको लागि पहल गर्ने जस्ता योजनाहरू बनाएका छन् ।
निकट भविष्यमै वडा नम्वर ७ भित्रका प्रत्येक सरकारी कार्यालयहरूमा एक/एक वटा केज राख्ने योजना छ । तत्कालका लागि १५ वटा कार्यालयमा बोटल संकलनका लागि केज राख्ने पहल भइरहेको छ ।
हालै मात्र पनि यो समूहले टुरिस्ट बसपार्कमा सबै प्रकारका फोहोर राख्नको लागि छुट्टाछुट्टै केज राख्ने तयारी गरिरहेको छ । पार्क र सार्वजनिक स्थानमा समेत जनचेतना अभियान चलाइएको छ । विद्यालयमा जनचेतना कार्यक्रम गर्ने पनि उनीहरुको योजना छ ।
थोरै लगानी, निरन्तर मेहनत र संस्थागत सहयोगले महिलालाई आत्मनिर्भर बनाउँछ भन्ने उदाहरण “बोटल बैंक सञ्चालन समूह”का यी महिलाहरुले प्रस्तुत गरेका छन् । फोहोरलाई आम्दानीको स्रोत बनाउँदै वातावरण संरक्षण, आर्थिक सशक्तीकरण र सामाजिक परिवर्तनबीचको सम्बन्ध उनीहरुले कामबाट देखाएका छन् ।
फोटो खिचेर देखाउने वजेट भन्दा पनि संघर्ष, लगनशीलता र आत्मविश्वासका साथ अघि बढ्न चाहाने महिलाहरूलाई निरन्तर सहयोग प्राप्त भएमा उनीहरु सफल र दिगो उद्यमी बन्न सक्छन् । २०८२ चैत्र ११ गते अन्नपूर्ण पोष्टमा प्रकाशित फिचर स्टोरी ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21855, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ४, बिहीबार १३:४२फोहोर उठाउँदै भविष्य जोडेका महिलाहरु
समाचार२०८३ असार ३, बुधबार १७:४१पोखरामा ‘यामाहा फेस्ट’ सुरु, एक्सचेन्जमा विशेष अफर
समाचार२०८३ असार ३, बुधबार ०८:१३समुदायको पहलले जोगियो भुर्तेल आधारभूत विद्यालय
समाचार२०८३ असार २, मंगलवार ०८:१३रास्वपाका गण्डकी प्रदेश सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेम्जाद्वारा सम्मान





