गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो

गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो

पोखरा ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको ‘पोखरा पर्यटन खेलकुद सम्मेलन’ मा वक्ताहरुले यस विषयमा जोड दिएका छन् ।

सम्मेलनमा वक्ताका रुपमा थिए, पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, स्काई डाइभ पाइलट यशोदा केसी थापा, प्रदेश खेलकुद परिषद्, गण्डकीका संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङ र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरञ्जन राजवंशी । उनीहरुसँग पत्रकार सन्देश श्रेष्ठ छलफलमा थिए ।
उक्त सेसनमा वक्ताहरुले खेलकुद र पर्यटनलाई जोडेर आर्थिक समृद्धि हासिल गर्न सकिने तर यसका लागि नीतिगत झन्झट, महँगो यातायात र मन्त्रालयहरूबीचको समन्वयको अभाव मुख्य तगारो बनेको धारणा राखेका थिए । उनीहरुले खेलकुदलाई केवल खेलको रूपमा मात्र नभई एउटा ठूलो उद्योग र सामाजिक रूपान्तरणको माध्यमको रूपमा परिभाषित गर्नुपर्नेमा जोड दिएका थिए ।

अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरञ्जन राजवंशीले विश्व बजारमा खेल पर्यटनले ओगटेको हिस्सा र नेपालको अवस्थाबारे गहिरो विश्लेषण गरे । उनले स्पोट्र्स टुरिज्मलाई ‘लक्जरी टुरिज्म’ को रुपमा व्याख्या गर्दै सामान्य पर्यटकको तुलनामा खेल पर्यटकले १० देखि १०० गुणा बढी खर्च गर्ने तथ्य प्रस्तुत गरे । राजवंशीका अनुसार थाइल्याण्डको अर्थतन्त्रमा गल्फले र भियतनामको अर्थतन्त्रमा एड्भेन्चर स्पोट्र्सले ठूलो योगदान दिएको छ भने स्वीजरल्याण्डले आफ्नो ६० प्रतिशत भूभाग ओगट्ने हिमाललाई ‘अल्पाइन टुरिज्म’ मार्फत विश्वकै महँगो गन्तव्य बनाएको छ ।

नेपालमा पनि त्यस्तै सम्भावना भए पनि राज्यको नीतिले साथ नदिएको उनले गुनासो गरे । विशेष गरी विदेशी पर्यटकका लागि काठमाडौंबाट पोखरा आउने हवाई भाडा अत्यन्तै महँगो हुनु र सडकको दुरावस्था हुनुले खेल आयोजनाहरूलाई असर गरेको उनको तर्क थियो । राजवंशीले भने, ‘विदेशी खेलाडी वा पर्यटकले काठमाडौंबाट पोखरा आउन सयौँ डलर खर्चनुपर्ने अवस्था रहेसम्म हामीले खेल पर्यटनबाट सोचेजस्तो लाभ लिन सक्दैनौँ, राज्यले हवाई कनेक्टिभिटी र भाडा दरमा पुनर्विचार गर्नैपर्छ ।’ उनले नेपालको एड्भेन्चर स्पोट्र्सलाई विश्व बजारमा प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्ड र खेलकुद निकायहरुले संयुक्त ‘स्पोट्र्स क्यालेन्डर’ बनाउनुपर्नेमा उनको सुझाव थियो ।

यो पनि पढ्नुहोस् :  पोखरा महानगरले कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिन राेक्याे

प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुदको परिभाषा र यसको गहिराइलाई बुझ्न जरुरी रहेको बताए । उनले खेलकुदलाई केवल पदक जित्ने वा उत्सव मनाउने माध्यम मात्र नभई यसलाई स्वास्थ्य र सामाजिक रुपान्तरणसँग जोड्नुपर्ने औंल्याए । गुरुङका अनुसार विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले प्रत्येक सात जनामा एक जना मानसिक समस्याबाट ग्रसित भएको देखाएको सन्दर्भमा खेलकुद एउटा ठूलो ओखती बन्न सक्छ । उनले भने, ‘हामीले खेलकुदलाई मनोरञ्जन मात्र ठान्यौँ, तर यो सामाजिक रूपान्तरणको अभिन्न अङ्ग हो, राज्यले यसको मर्म नबुझ्दा कुल बजेटको शून्य दशमलव ६ प्रतिशत मात्र लगानी गरेको छ, जुन अत्यन्तै न्यून हो ।’

गुरुङले राज्यका विभिन्न मन्त्रालयहरूबीच समन्वयको ठूलो खाडल रहेको पनि स्पष्ट पारे । सामाजिक विकास मन्त्रालयले एउटा कार्यक्रम गरिरहँदा पर्यटन मन्त्रालयलाई त्यसको जानकारी नहुने र दुवैले खेलकुदकै शीर्षकमा छुट्टाछुट्टै बजेट खर्चने प्रवृत्तिले प्रतिफल प्राप्त हुन नसकेको उनले बताए । गुरुङले थपे, ‘अहिलेको मुख्य चुनौती भनेकै समन्वयको अभाव हो, मन्त्रालयहरूका बीचमा ‘कम्युनिकेसन ग्याप’ छ, जसले गर्दा लगानी बालुवामा पानी हाले जस्तै भएको छ ।’ उनले निजी क्षेत्रले सञ्चालन गरेका जिमखाना र फुटबल मैदानहरूले पनि ठूलो रोजगारी सिर्जना गरेको र तिनलाई राज्यले उचित पहिचान दिनुपर्ने धारणा राखे ।

पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पोखराको पर्यटनमा खेलकुदको भूमिका महत्वपूर्ण भए पनि पूर्वाधार विकासमा राज्य सुस्त देखिएको बताए । मुग्लिन–पोखरा सडकको अवस्थाले पर्यटकको बसाइ र आगमन दुवैमा गम्भीर असर पारेको उनको भनाइ थियो । भट्टराईका अनुसार पोखरामा धेरै अन्तर्राष्ट्रिय स्तरका खेलहरू हुने सम्भावना भए पनि ती खेलहरूका लागि आवश्यक पर्ने पूर्वाधार र सरकारी सहयोगको कमी छ । उनले भने, ‘पोखरा आफैँमा एउटा ’एयर कन्डिसन सिटी’ हो, यहाँको मौसम खेलकुदका लागि विश्वकै उत्कृष्ट छ, तर हामीले यसलाई ब्रान्डिङ गर्न सकेनौँ ।’

यो पनि पढ्नुहोस् :  धादिङबेंसीमा कृषक लक्षित जैविक प्रविधि प्रदर्शनी र बाली स्वास्थ्य शिविर सम्पन्न

भट्टराईले पोखरामा आयोजना हुने म्याराथन, ट्रायथलन जस्ता खेलहरूलाई विश्वभर चिनाउनका लागि स्थानीय तह र प्रदेश सरकारले एउटा छुट्टै ‘स्पोट्र्स डेस्क’ स्थापना गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘कतिपय अवस्थामा पोखरामा ठूला अन्तर्राष्ट्रिय खेलहरू भइरहँदा पनि पर्यटन सम्बद्ध संस्थाहरूलाई पत्तै हुँदैन, समन्वय नहुँदा हामीले विदेशी पर्यटकलाई ती खेलहरूमा सहभागी गराउन वा देखाउन चुकिरहेका छौँ ।’ उनले आन्तरिक पर्यटन नै अहिलेको मुख्य आधार भएको र नेपालीहरूले पनि खेलकुदमा ठूलो खर्च गर्न थालेकाले उनीहरूलाई लक्षित गरी प्याकेजहरू ल्याउनुपर्ने बताए ।

साहसिक खेल स्काई डाइभकी पाइलट यशोदा केसी थापाले नेपालमा साहसिक पर्यटनका लागि स्काई डाइभिङ एउटा बलियो माध्यम बन्न सक्ने तर यसका लागि राज्यको नीति अत्यन्तै संकुचित रहेको अनुभव सुनाइन् । उनले थाइल्याण्डमा सिकेको सीपलाई नेपालमा प्रयोग गर्न खोज्दा कानुनी र नीतिगत बाधा व्यहोर्नुपरेको बताइन् । थापाले भनिन्, ‘हामीले उपकरणहरू विदेशबाट ल्याउनुपर्छ, जसमा सरकारले चर्को कर लगाउँछ, अर्कोतिर नागरिक उड्डयन प्राधिकरणले हामीलाई १५–१५ दिनको अस्थायी अनुमति मात्र दिन्छ, यस्तो अवस्थामा कसरी ढुक्क भएर व्यवसाय गर्ने ?’

स्काई डाइभिङ अत्यन्तै महँगो खेल भएकाले यसलाई सर्वसुलभ बनाउन राज्यले विशेष सहुलियत दिनुपर्ने उनको माग थियो । उनले बताए अनुसार यदि स्काई डाइभिङलाई प्याराग्लाइडिङ जस्तै नियमित र सुरक्षित रूपमा सञ्चालन गर्ने वातावरण बन्ने हो भने पोखरामा विदेशी पर्यटकको बसाइ लम्ब्याउन धेरै मद्दत पुग्छ । थापाले थपिन्, ‘स्काई डाइभिङका लागि नेपालको आकाश र दृश्य संसारकै उत्कृष्टमध्येमा पर्छन्, तर हामीले राज्यलाई यसको महत्व बुझाउन सकेका छैनौँ, नीतिगत सुधार भएमा यसले हजारौँको रोजगारी र लाखौँको विदेशी मुद्रा आर्जन गर्न सक्छ ।’

छलफलको समापन गर्दै सहजकर्ता सन्देश श्रेष्ठले प्यानलिस्टहरूका कुराले खेल पर्यटनको विकासका लागि स्पष्ट र दीर्घकालीन सरकारी नीति; गुणस्तरीय भौतिक पूर्वाधार; र सबै सरोकारवाला निकायहरुबीचको प्रभावकारी समन्वय अनिवार्य रहेको निष्कर्ष निकाले । उनले भने, ‘हामीले सम्भावना मात्रै भनिरह्यौँ तर ती सम्भावनालाई अवसरमा बदल्ने ठोस योजना बनाउन सकेनौँ, अबको समय भनेको ‘एक्सन’ को हो ।’

यो पनि पढ्नुहोस् :  रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ गतेदखि चितवनमा हुने

पोखरालाई विश्वको खेल पर्यटन मानचित्रमा स्थापित गर्न निजी क्षेत्रको उत्साहलाई राज्यले नीतिगत सहजता र पूर्वाधार विकासमार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको वक्ताहरुको भनाइ छ । यसो गर्न सकेमा मात्र खेल पर्यटन नेपालको अर्थतन्त्रको बलियो खम्बा बन्न सक्नेमा उनीहरुको जोड थियो ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा पोखरा विश्वविद्यालयका स्कुल अफ विजनेश डा. उमेशसिंह यादवले गण्डकी प्रदेशमा खेलकुद पर्यटनको संभावना, चूनौति र अवसरका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21605, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   9   =  

Protected by Spam Master