मनाङमा संरक्षण र पर्यटन प्रवर्द्धनका विविध कार्यक्रम : ACAP र स्थानीयको सहकार्यमा विकास

मनाङ । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) इलाका संरक्षण कार्यालय मनाङले संरक्षण, पर्यटन प्रवर्द्धन तथा स्थानीय समुदायको जीवनस्तर उकास्न विभिन्न पूर्वाधार तथा संरक्षणमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ। मनाङ क्षेत्रमा वार्षिक रूपमा हजारौं आन्तरिक तथा बाह्य पर्यटक पदयात्रा तथा प्राकृतिक सौन्दर्यको अनुभव लिन आउने भएकाले यसको प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखिएको ACAP ले जनाएको छ। मनाङ क्षेत्र प्राकृतिक र सांस्कृतिक दृष्टिले अति नै सुन्दर छ, यो सुन्दरतालाई जोगाउन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, मनाङले समुदायमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
ACAP का प्रकृति संरक्षण स्रोत सहायक खुशी रावतका अनुसार नासो गाउँपालिका–१ तालमा फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन इन्सिनेटर सञ्चालनमा ल्याइएको छ। आर्थिक वर्ष २०८२/०८३ मा ACAP को रु. १ लाख आर्थिक सहयोगमा आमा समूहमार्फत सञ्चालित उक्त इन्सिनेटरमा घर तथा व्यवसायबाट निस्कने जल्ने फोहोर वर्गीकरण गरी व्यवस्थापन गरिँदै आएको छ। यस प्रकारका संरचना थप १० स्थानमा निर्माण गर्न स्थानीय आमा समूहले माग गरेको उनले जानकारी दिए।
त्यसैगरी, चालु आर्थिक वर्षमा नर्सरी संरक्षणका लागि तारजाली (फेन्सिङ) निर्माण गर्न ACAP ले रु. ९० हजार सहयोग उपलब्ध गराएको छ। नर्सरीमा चाप, टिमुर, धुपी, पैयुँ, कागती, ओखर, बोटे पिपल तथा जामुनलगायतका बिरुवा उत्पादन गरी स्थानीयलाई वितरण गरिँदै आएको रावतले बताए।
पदमार्ग र पर्यटन पूर्वाधारमा लगानी
नासो गाउँपालिका–१ अन्तर्गत खेराङ वन व्यवस्थापन उपसमितिमार्फत ट्रेकिङ पदमार्ग निर्माणका लागि ACAP ले रु. ५ लाख सहयोग गरेको छ। निर्माण गरिएको पदमार्गले पर्यटक तथा स्थानीय बासिन्दाको आवतजावत सहज बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको रावतले बताए।
धारापानीस्थित ACAP चेकपोष्टका इन्चार्ज भुपेन्द्र गुरुङका अनुसार सडक पूर्वाधारको कमजोर अवस्थाले पर्यटन क्षेत्रमा चुनौती थपेको छ। यद्यपि गत चैतदेखि जेठसम्म १८ हजार ३२० पर्यटकले मनाङ भ्रमण गरेका छन्। तीमध्ये सार्क राष्ट्रबाट ७ हजार १७७ महिला र ११ हजार १३६ पुरुष रहेका छन् भने अन्य राष्ट्रबाट ७ जना पर्यटक आएका छन्।
ट्रेकिङ गाइड टेकप्रसाद दाहालले पदयात्राका क्रममा हावाहुरी, वर्षा तथा हिमपातका कारण यात्रुहरूलाई कठिनाइ हुने भएकाले विभिन्न स्थानमा प्रतिक्षालय तथा आश्रयस्थल निर्माण गर्न आवश्यक रहेको बताए।
फोहोर व्यवस्थापनदेखि कृषि संरक्षणसम्म
नासो गाउँपालिका–६ थोंचे गेट नजिक संरक्षण क्षेत्र व्यवस्थापन समिति (CAMC) मार्फत ACAP को रु. ५ लाख सहयोगमा फोहोर संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ। स्थानीय घर तथा होटलबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्याएर उक्त केन्द्रमा संकलन गरिने व्यवस्था गरिएको छ।
त्यसैगरी, नासो गाउँपालिका–४ ओडारमा वन्यजन्तुबाट बालीनाली जोगाउन करिब ३०० मिटर लामो तारबार निर्माणका लागि ACAP ले रु. ५ लाख सहयोग गरेको छ। यसले भालु तथा अन्य वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।
नासो गाउँपालिका–८ ताचैमा CAMC मार्फत रु. ३ लाखको सहयोगमा दुई लेनको रेलिङ निर्माण सम्पन्न भएको छ। पहिरो तथा भूक्षय नियन्त्रणका साथै स्थानीय तथा पर्यटकको सुरक्षालाई ध्यानमा राखेर रेलिङ निर्माण गरिएको हो। सो वडामा २६ घरधुरी होमस्टे सञ्चालनमा रहेका छन्। साथै, वृक्षारोपण कार्यक्रमका लागि रु. २ लाख १ हजार बजेटमा १२७ मिटर क्षेत्रमा काम अघि बढाइएको जानकारी दिइएको छ।

सुरक्षित पदयात्राका लागि नयाँ पदमार्ग
नासो गाउँपालिका–५ दानाक्यु क्षेत्रमा CAMC मार्फत ACAP को रु. ५ लाख सहयोगमा पदमार्ग निर्माण गरिएको छ। विगतमा वर्षायाममा चिप्लो र जोखिमयुक्त रहेको पुरानो मार्गमा दुर्घटना तथा पर्यटकको मृत्यु हुने घटनासमेत हुने गरेको थियो। हाल निर्माण गरिएको नयाँ पदमार्ग सुरक्षित, आकर्षक तथा गुणस्तरीय बनेको रावतले बताए।
वन्यजन्तु संरक्षण र पशुपालनमा सहयोग
चामे गाउँपालिका–१ तिमाङमा गत आर्थिक वर्ष ACAP को रु. २ लाख ९० हजार सहयोगमा याक तथा चौँरीका बाछाबाछीलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन संरक्षण संरचना निर्माण गरिएको छ। यसबाट स्थानीय कृषकका पशुधन सुरक्षित हुने विश्वास गरिएको छ।
कस्तुरी फार्म सञ्चालनको पर्खाइमा
मनाङ ङिस्याङ गाउँपालिका–१ ढिकुरपोखरीमा ACAP को सहयोगमा निर्माण गरिएको कस्तुरी फार्म अझै सञ्चालनमा आउन सकेको छैन। चीनको कस्तुरी फार्मको मोडलमा आधारित उक्त संरचना लामो समयअघि निर्माण सम्पन्न भए पनि आवश्यक नीति तथा सञ्चालन कार्यविधि अभावमा प्रयोगविहीन बन्दै गएको छ। कस्तुरीका लागि उपयुक्त वातावरण रहेको यस क्षेत्रलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने आवश्यकता देखिएको छ।
पर्यटकको रोजाइमा नयाँ पदमार्ग र आइस लेक
मनाङ ङिस्याङ गाउँपालिका–१० मा गत आर्थिक वर्ष CAMC मार्फत ACAP को रु. १० लाख सहयोगमा पर्यटकीय पदमार्ग निर्माण गरिएको थियो। धुलोरहित, सुरक्षित र प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त पदमार्ग पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।
त्यस्तै, मनाङ ङिस्याङ गाउँपालिका–५ स्थित प्रसिद्ध आइस लेक क्षेत्रमा CAMC र ACAP को संयुक्त रु. ८ लाख सहयोगमा फुट ट्र्याक निर्माण गरिएको छ। चिसो पानीका कारण परिचित आइस लेकमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ। ताल वरिपरिका हिमाली दृश्य, चराचुरुङ्गी र प्राकृतिक वातावरणले पर्यटकलाई मन्त्रमुग्ध बनाउने गरेको स्थानीयहरू बताउँछन्।
नर्सरी र गङ्गापूर्ण ताल संरक्षण
मनाङ ङिस्याङ गाउँपालिका–४ मा रहेको नर्सरी सञ्चालनका लागि चालु आर्थिक वर्षमा ACAP ले रु. ५ लाख सहयोग उपलब्ध गराएको छ। ACAP इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढक बहादुर भुजेलका अनुसार नर्सरीमा विभिन्न प्रजातिका बिरुवा उत्पादन गरी संरक्षण तथा वृक्षारोपण कार्यक्रमलाई सघाइँदै आएको छ।
त्यसैगरी, मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित गङ्गापूर्ण ताल पहिरोले पुरिएपछि CAMC मार्फत ACAP को रु. ५ लाख सहयोगमा संरक्षण बाँध निर्माण गरी ताल संरक्षणको कार्य सम्पन्न गरिएको छ।
स्थानीय सहकार्यबाट दिगो विकास
ACAP इलाका संरक्षण कार्यालय मनाङका प्रमुख भुजेलका अनुसार स्थानीय समुदाय, आमा समूह तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिसँगको सहकार्यमा सञ्चालन गरिएका कार्यक्रमहरूले मनाङको प्राकृतिक सम्पदा, जैविक विविधता संरक्षण तथा दिगो पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्। आगामी दिनमा पनि स्थानीय आवश्यकताअनुसार संरक्षण र विकासका कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २५, सोमबार १७:३७दुर्गम बस्तीमा विशेषज्ञ चिकित्सक, ताकमका सयौँ नागरिकले पाए निःशुल्क उपचार
समाचार२०८३ जेष्ठ २५, सोमबार १७:२८मनाङमा संरक्षण र पर्यटन प्रवर्द्धनका विविध कार्यक्रम : ACAP र स्थानीयको सहकार्यमा विकास
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २५, सोमबार १३:४२बक्स अफिसमा ‘लालीबजार’को दबदबा, कमाइ ९ करोड नजिक
समाचार२०८३ जेष्ठ २४, आईतवार १७:३२सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना








