सर्वाधिक जनसंख्या भएका १० मध्ये ८ देश किन पुगेनन् विश्वकपमा ?

काठमाडौं । विश्वका सबैभन्दा बढी जनसंख्या भएका १० देशमध्ये दुई देश अमेरिका र ब्राजिलले मात्र यस पटकको फिफा विश्वकप खेले ।
रूस र नाइजेरियाले यसअघि कयौँपटक विश्वकप खेलिसकेका छन् । चीन र इन्डोनेसियाले भने अहिलेसम्म केवल एक/एक पटक मात्र विश्वकपमा सहभागिता जनाएका छन् ।
विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश भारतका साथै बंगलादेश, इथियोपिया र पाकिस्तानले अहिलेसम्म विश्वकप खेल्न पाएका छैनन् ।
भारतले प्राविधिक रूपमा सन् १९५० को ब्राजिल विश्वकपका लागि छनोट प्रक्रिया पार गरेको थियो । तर, प्रतियोगिता सुरु हुनुभन्दा एक महिनाअघि नै उसले आफ्नो नाम फिर्ता लिएको थियो ।
“लाखौँ फुटबलप्रेमी भएको देश फुटबलमा यति धेरै पछाडि पर्नु कुनै पनि हिसाबले स्वीकार्य कुरा होइन,” बंगलादेशकी प्रख्यात अभिनेत्री, लेखिका तथा फुटबल समर्थक अदिते करिमले बीबीसीसँग भनिन् ।
जनसंख्याको आकारले फरक पार्छ ?
सैद्धान्तिक रूपमा कुनै पनि देशको जनसंख्या जति धेरै हुन्छ, त्यहाँबाट उत्कृष्ट खेलाडी छनोट गर्ने सम्भावना पनि त्यति नै बढी हुन्छ । अहिलेसम्म विश्वकप जित्ने आठ राष्ट्रमध्ये अर्जेन्टिना, ब्राजिल, इंगल्यान्ड, फ्रान्स, जर्मनी, इटाली र स्पेनसहित सात राष्ट्रको जनसंख्या तुलनात्मक रूपमा ठूलो छ । यसमा अपवाद उरुग्वे हो ।
यद्यपि, जनसंख्याको आकार मात्रै सफलताको आधार होइन भन्ने कुरा बेलायती प्राज्ञ तथा अर्थशास्त्री स्टेफान सिमान्स्की बताउँछन् ।
खेलकुदको सफलता र असफलताको तथ्यांकीय विश्लेषण गर्ने चर्चित पुस्तक सोकरनोमिक्सका सहलेखक सिमान्स्की भन्छन्, “फुटबल ठ्याक्कै राष्ट्रिय अर्थतन्त्रले काम गर्ने तरिकाजस्तै हो । यसलाई अगाडि बढाउन मानिस त चाहिन्छ नै, तर त्यससँगै पुँजी र पूर्वाधार पनि उत्तिकै आवश्यक हुन्छ । फुटबलको सन्दर्भमा यसको अर्थ राम्रो प्रशिक्षण केन्द्र र प्रतिभा पहिचान गर्ने प्रभावकारी प्रणाली हो ।”
सिमान्स्कीका अनुसार विश्वकपमा सफल भएका अधिकांश देशहरूमा एउटा समान विशेषता पनि छ त्यो हो- आर्थिक समृद्धि । सोकरनोमिक्समा उल्लेख भएअनुसार कुनै पनि राष्ट्रले विश्वकप जित्ने सम्भावना बलियो बनाउन प्रतिव्यक्ति वार्षिक औसत आम्दानी कम्तीमा १५ हजार अमेरिकी डलर हुनुपर्ने देखिन्छ ।
तर, ब्राजिल र अर्जेन्टिनाको प्रतिव्यक्ति औसत आम्दानी यो सीमाभन्दा निकै कम हुँदाहुँदै पनि उनीहरूले संयुक्त रूपमा आठपटक विश्वकप जितिसकेका छन् । यसले सफलताको अर्को महत्त्वपूर्ण पक्ष कार्यकौशल र अनुभव देखाउँने बेलायती अर्थशास्त्री बताउँछन् ।
उनी भन्छन्, “यो अनुभव इतिहासबाट आउँछ । अहिलेसम्म विश्वकप जितेका देशहरू ती हुन्, जो उपनिवेशवादको अन्त्य हुनुभन्दा करिब १०० वर्षअघि नै फुटबलमा स्थापित भइसकेका थिए ।”
सरल भाषामा भन्दा नियमित रूपमा विश्वकप खेल्ने सफल फुटबल राष्ट्रहरू ती हुन्, जसले आफ्नो इतिहासमा लामो समयदेखि उच्चस्तरीय फुटबल खेलेका छन् । र, दक्षिण अमेरिका तथा युरोपजस्ता अत्यधिक प्रतिस्पर्धी क्षेत्रमा निरन्तर प्रतिस्पर्धा गर्दै निखारिएका छन् ।
यसले ३५ लाख जनसंख्या भएको दक्षिण अमेरिकी देश उरुग्वेले सन् १९३० र १९५० मा दुईपटक विश्वकप जित्न कसरी सफल भयो भन्ने पनि स्पष्ट पार्छ ।
उरुग्वेको राष्ट्रिय टोली ‘ला सेलेस्ते’ले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल सन् १९०२ मा अर्जेन्टिनाविरुद्ध खेलेको थियो, जुन ब्राजिलले आफ्नो पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल खेल्नुभन्दा १२ वर्ष अघिको कुरा हो ।
फुटबलको विकास ढिलो भएका अफ्रिकी र दक्षिण एसियाली देशहरूले यो स्तरमा पुग्न निकै ठूलो संघर्ष गर्नुपरेको छ । यद्यपि केही देशहरूले उल्लेखनीय सफलता पनि हासिल गरेका छन् ।
उदाहरणका लागि, सन् १९५६ मा फ्रान्स र स्पेनबाट स्वतन्त्र भएको मोरक्को कतार विश्वकप २०२२ मा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्यो ।
सन् २००२ को विश्वकपको सहआयोजक दक्षिण कोरिया अन्तिम चारमा पुग्ने पहिलो र हालसम्मको एकमात्र एसियाली राष्ट्र बनेको थियो ।
“अर्कोतर्फ इन्डोनेसिया, भारत र बंगलादेशजस्ता देशहरू हेर्दा अझै पनि आफूलाई त्यो स्तरमा पुर्याउन सकेका छैनन्,” सिमान्स्की भन्छन् ।
उनका अनुसार यी देशहरू स्रोत–साधन, पूर्वाधार र संस्थागत क्षमताको अभावका कारण संघर्ष गरिरहेका छन् । पर्याप्त लगानी भए पनि अनुभव, दीर्घकालीन योजना र फुटबल प्रशासनको कमजोरीका कारण उनीहरूलाई अझै लामो समय मेहनत गर्नुपर्ने देखिन्छ ।
इथियोपियाको संकट
इथियोपिया अहिलेसम्म विश्वकपका लागि छनोट हुन सकेको छैन । उसले सन् १९६२ मा अफ्रिकन कप अफ नेशन्स जितेको भए पनि विश्वकपको मुख्य प्रतियोगितामा पुग्ने सबैभन्दा राम्रो अवसर उसले सन् २०१४ को अफ्रिकी छनोटमा पाएको थियो । त्यतिबेला इथियोपिया अन्तिम चरणसम्म पुगे पनि नाइजेरियासँग पराजित भयो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार अहिले इथियोपियाली फुटबल चरम लगानी अभावसँग जुधिरहेको छ । यसको एउटा उदाहरण देशको व्यावसायिक लिग नै हो, जहाँ खेल सञ्चालन गर्न उपयुक्त रंगशालाको अभाव छ ।
दक्षिण एसियामा क्रिकेटको हालिमुहालीले असर गरेको हो ?
केही देशहरू अन्य खेलमा अत्यधिक सफल भएकै कारण फुटबलमा पछाडि परेका छन् ।
भारत विश्वकै सबैभन्दा शक्तिशाली क्रिकेट राष्ट्रमध्ये एक हो । व्यावसायिक लिग ‘आईपीएल’ संसारकै सबैभन्दा धनी क्रिकेट लिग हो ।
भारतका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी श्याम थापाका अनुसार यसले फुटबलमा नयाँ प्रतिभा आकर्षित गर्न कठिन बनाएको छ । आईपीएलको सफलताका कारण मध्यम तथा उच्चमध्यम वर्गीय अभिभावकले आफ्ना छोराछोरीलाई फुटबलभन्दा क्रिकेटतर्फ बढी प्रेरित गरिरहेका छन् ।
थापा भन्छन्, “अभिभावकहरूले के बुझ्न आवश्यक छ भने फुटबलमा पनि राम्रो करियर बनाउन सकियो भने पर्याप्त आम्दानी गर्न सकिन्छ ।”
तर, अदिते करिम भने क्रिकेटमा महाशक्ति भएर पनि अस्ट्रेलिया र न्युजिल्यान्डले फुटबलमा राम्रो विकास गर्दै विश्वकपसम्मको यात्रा तय गरेको उदाहरण दिन्छिन् ।
क्रिकेट अत्यन्त लोकप्रिय रहेको बंगलादेशको सन्दर्भमा उनी भन्छिन्, “क्रिकेटको लोकप्रियता केवल एउटा बहाना मात्र हो । वास्तविक समस्या हामीसँग विश्वकप खेल्ने स्तरको तयारी र आवश्यक संरचनागत ढाँचा छैन ।”
कुरा चीनको
चीनको अवस्था अझ रोचक छ । हालका दशकहरूमा चीन ओलम्पिक इतिहासकै सबैभन्दा सफल राष्ट्रमध्ये एक बने पनि पुरुष फुटबलमा भने अपेक्षित सफलता हासिल गर्न सकेको छैन ।
बेइजिङस्थित चिनियाँ फुटबल विश्लेषक मार्क ड्रायर भन्छन्, “सैद्धान्तिक रूपमा चीनले विश्वस्तरीय फुटबलर उत्पादन गर्न नसक्ने कुनै कारण छैन । मुख्य समस्या के हो भने चीनमा सबै कुरा राज्यद्वारा नियन्त्रित हुन्छ र अधिकांश निर्णय माथिल्लो तहबाट गरिन्छ । फुटबल बुझ्ने मानिसहरूले निर्णय गर्नुपर्ने हो, तर यहाँ राजनीतिक हस्तक्षेप अत्यधिक छ ।”
सन् २०१० को दशकदेखि फुटबलमा ठूलो लगानी गरिए पनि चीन सन् २००२ यता विश्वकपमा फर्किन सकेको छैन ।
खेलको स्तर उकास्न चीनले आफ्नो व्यावसायिक लिगमा युरोप र दक्षिण अमेरिकाका चर्चित तथा महँगा खेलाडी भित्र्याएको थियो, तर त्यसले पनि अपेक्षित परिणाम दिन सकेन ।
चीनजस्तै इन्डोनेसियाले पनि सन् १९३८ मा एकपटक विश्वकप खेलेको थियो । त्यतिबेला उसले नेदरल्यान्ड्सको उपनिवेशका रूपमा ‘डच इस्ट इन्डिज’ नामबाट प्रतिस्पर्धा गरेको थियो ।
सन् २०२६ को विश्वकप छनोटमा इन्डोनेसियाले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चरणसम्मको यात्रा तय गर्यो । तर, त्यसको मुख्य आधार घरेलु प्रतिभाभन्दा पनि इन्डोनेसियाली मूलका युरोपमा जन्मिएका खेलाडी थिए ।
बीबीसी इन्डोनेसियन सेवाका समाचार सम्पादक जेरोम विरावान भन्छन्, “कतिपय खेलमा इन्डोनेसियाको सुरुआती ११ खेलाडीमध्ये आठ वा नौजना युरोपमा जन्मिएका हुन्थे ।”
पाकिस्तान र बंगलादेश भने एसियाली छनोटको समूह चरणबाटै बाहिरिए, ६ खेल खेल्दा एउटा पनि खेल जित्न सकेनन् ।
फिफाले फुटबल संघभित्रको आन्तरिक राजनीतिक विवादका कारण सन् २०१७ देखि २०२५ को बीचमा पाकिस्तानलाई तीनपटक अन्तर्राष्ट्रिय फुटबलबाट प्रतिबन्ध लगायो ।
कयौँ देशका समर्थकहरूका लागि विश्वकपको ट्रफी उचाल्ने सपना अझै निकै टाढाको विषय बनेको छ । बंगलादेशी अभिनेत्री अदिते करिमका अनुसार यस्तो वास्तविकताका बीच प्रशंसकहरूका लागि सबैभन्दा ठूलो सान्त्वना भनेको जसरी भए पनि विश्वकपको उत्सवको आनन्द लिनु नै हो ।
उनी भन्छिन्, “अहिलेको अवस्थालाई हेर्दा मेरो जीवनकालमा बंगलादेशले विश्वकप खेलेको देख्ने सम्भावना म देख्दिनँ । तर, बंगलादेशी फुटबल समर्थकहरू अझै पनि यस प्रतियोगिताको खुसी र रोमाञ्चको प्रत्येक क्षणलाई उत्तिकै उत्साहका साथ मनाउन चाहन्छन् ।” बीबीसीबाट
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २१, आईतवार १६:४९भवनमै सीमित बैतडीको ट्रमा सेन्टर « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ असार २१, आईतवार १३:४३सर्वाधिक जनसंख्या भएका १० मध्ये ८ देश किन पुगेनन् विश्वकपमा ?
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १८:१४कमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो नगद एक लाख पचास हजार
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २०, शनिबार १६:५९१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना « रिपोर्टर्स नेपाल









