टान गण्डकीद्वारा पर्यटनमन्त्री पौडेलको ध्यानाकर्षण, नयाँ पदमार्ग र टिम्स अनिवार्य कार्यान्वयनको माग

टान गण्डकीद्वारा पर्यटनमन्त्री पौडेलको ध्यानाकर्षण, नयाँ पदमार्ग र टिम्स अनिवार्य कार्यान्वयनको माग

‎पोखरा । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल (गणेश) समक्ष नेपालको पदयात्रा पर्यटन क्षेत्रमा देखिएका समस्या, चुनौती तथा समाधानका उपाय समेटिएको ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यसहितकाे टिमले पेश गरेको ध्यानाकर्षण पत्रमा नेपालको पर्वतीय तथा पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित, दिगो र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउन नीतिगत, कानुनी तथा संरचनागत सुधार गर्न सरकारसँग आग्रह गरिएको छ ।

टानले पर्यटन विधेयक–२०८२ मा पर्वतारोहणलाई बढी प्राथमिकता दिइएको उल्लेख गर्दै पदयात्रा पर्यटनलाई पनि समान रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएको छ । त्यस्तै, सगरमाथादेखि धवलागिरिसम्मका हिमशृङ्खलालाई संरक्षित क्षेत्र घोषणा गरी प्रमुख पदमार्गलाई ‘पदयात्रा संरक्षण क्षेत्र’का रूपमा संरक्षण तथा विकास गर्नुपर्ने सुझाव दिएको छ ।

‎नेपालको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पारिरहेको ‘फेक रेस्क्यु’ (नक्कली उद्धार) पूर्ण रूपमा नियन्त्रण गरी त्यसमा संलग्न कम्पनी र व्यक्तिमाथि कडा कानुनी कारबाही गर्नुपर्ने सुझाव पनि टानले दिएको छ । साथै, सडक विस्तार र जलविद्युत् आयोजनाका कारण परम्परागत पदमार्ग विस्थापित हुन नदिन वैकल्पिक मार्गको व्यवस्था गर्न, पदमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि आपत्कालीन उद्धार प्रणाली व्यवस्थित बनाउन तथा हिमाली क्षेत्रमा जथाभावी हाइड्रोपावर निर्माण रोक्न आग्रह गरिएको छ । पर्यटन क्षेत्रमा असर पर्ने आयोजना अघि बढाउँदा टुरिज्म इम्प्याक्ट एसेसमेन्ट (Tourism Impact Assessment) अनिवार्य गर्नुपर्ने माग पनि गरिएको छ ।

‎टानले जैविक विविधता तथा चराचुरुङ्गी संरक्षणका लागि संवेदनशील क्षेत्रलाई संरक्षण गर्न, चोरी–सिकार नियन्त्रण गर्न र पर्यावरण संरक्षणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरेको छ ।

पत्रमा पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई प्रभावकारी र अनिवार्य रूपमा कार्यान्वयन गर्न, इजाजतप्राप्त ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रा सञ्चालन गराउन तथा अवैध ट्रेकिङ गतिविधिमाथि कडाइ गर्न सरकारसँग माग गरिएको छ । यसबाट पर्यटकको सुरक्षा, सेवा गुणस्तर तथा राज्यको राजस्व वृद्धि हुने टानको विश्वास छ ।

यो पनि पढ्नुहोस् :  गण्डकी प्रदेश स्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, मदरल्याण्ड मावि प्रथम

नेपाल पर्यटन बोर्डलाई आफ्नो मूल कार्यादेशअनुसार पर्यटन प्रवर्द्धनमा केन्द्रित बनाउन, सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडललाई प्रभावकारी बनाउन तथा संस्थागत सुधार गर्नुपर्ने आवश्यकता पनि ध्यानाकर्षणपत्रमा ओैंल्याइएको छ ।

टानले विकासका नाममा परम्परागत पदमार्गमा सडक विस्तार रोक्न र वैकल्पिक नयाँ पदमार्गको खोजी तथा विकास गर्नुपर्नेमा जोड दिएको छ । ढाेरपाटन क्षेत्रको पदयात्रा प्रवर्द्धन, लमजुङका श्रीभञ्ज्याङ, घनपोखरा, इलमपोखरी, लिपेलेक, घ्याम, मोटाटोप, उखुबोट, मैमेपोखरी, कोमेडाँडा तथा बाहुनपोखरी हुँदै हिलेटारसम्मका पदमार्ग विस्तार, सिस्ने–मर्फा हिमाल पदमार्ग, जलजला–हिडन लेक (भर्जिन ट्रेक), फेवा–रानाबाङ पदमार्ग तथा पञ्चासे पदयात्रा क्षेत्रको पूर्वाधार विकास र प्रवर्द्धन गर्नुपर्ने सुझाव दिएको छ ।

‎यस्तै, पदमार्ग क्षेत्रमा स्थानीय तहले लिने दोहोरो शुल्क अन्त्य गर्न, सम्पूर्ण पर्यटनसम्बन्धी प्रशासनिक सेवा ‘वन डोर सिस्टम’मार्फत उपलब्ध गराउन तथा पर्यटनसम्बन्धी कानुनी सुधार गर्नुपर्ने माग गरिएको छ ।

टानले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्न, नयाँ गन्तव्यको ब्रान्डिङ, डिजिटल प्रवर्द्धन, स्वास्थ्य पर्यटन विकास, पदयात्रा क्षेत्रमा फोहोर व्यवस्थापन, वातावरण संरक्षण तथा जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रमलाई प्रभावकारी बनाउन पनि सरकारसँग आग्रह गरेको छ ।

टान गण्डकीले पर्यटन क्षेत्रका आधारभूत समस्या समाधान गरी नेपाललाई सुरक्षित, व्यवस्थित र आकर्षक पदयात्रा गन्तव्यका रूपमा स्थापित गर्न सरकारले ठोस नीतिगत निर्णय र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गर्दै आफ्नो सुझावलाई गम्भीरतापूर्वक सम्बोधन गरिने विश्वास व्यक्त गरेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22064, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  गण्डकी प्रदेश स्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, मदरल्याण्ड मावि प्रथम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   6   =