वीर अस्पतालले भन्यो, ‘जलनका बिरामी गणेशको श्वासप्रश्वास प्रणालीमै असर परेकाले उपचार चुनौतीपूर्ण’

वीर अस्पतालले भन्यो, ‘जलनका बिरामी गणेशको श्वासप्रश्वास प्रणालीमै असर परेकाले उपचार चुनौतीपूर्ण’

काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था अझै गम्भीर र अस्थिर रहेको वीर अस्पतालले जनाएको छ। शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा चिकित्सकहरूले उनको अवस्था जुनसुकै बेला थप जटिल बन्न सक्ने भन्दै स्वास्थ्यबारे निश्चित रूपमा केही भन्न नसकिने स्पष्ट पारेका छन्।

अस्पतालका अनुसार आगलागीका कारण नेपालीको अनुहार गम्भीर रूपमा जलेको छ भने आगोको रापले श्वासप्रश्वास प्रणालीमा समेत ठूलो असर पुर्‍याएको छ, जसका कारण उनको उपचार निकै चुनौतीपूर्ण बनेको चिकित्सकहरूले बताएका छन्। हाल वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ।

बिरामीलाई थप उपचारका लागि हवाई उद्धारमार्फत भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने सम्पूर्ण तयारी पूरा भए पनि स्वास्थ्य अवस्था स्थिर नभएका कारण तत्काल स्थानान्तरण गर्न नसकिएको अस्पतालले पत्रकार सम्मेलनमा जानकारी दिएको छ। यस्तो संवेदनशील अवस्थामा यात्रा गराउँदा थप जोखिम हुने भएकाले तत्कालका लागि दिल्ली यात्रा रोकिएको हो।

जटिल परिस्थितिका बावजुद वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयुष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेष चिकित्सक टोली उनको उपचारमा खटिएको छ। उक्त टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू सामेल छन्। टोलीले बिरामीको रक्तचाप नियन्त्रणमा राख्दै अवस्था स्थिर बनाउन सघन उपचारलाई निरन्तरता दिइरहेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ​शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत कर लागू नगर्ने प्रधानमन्त्रीको निर्णय गगन थापाद्वारा स्वागत
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   2   =