बागमती सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा

हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। उनीहरूले मंगलबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको जानकारी दिएका हुन्।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पार्टीको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी सबै मन्त्रीले सोही मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख गरिएको छ। साथै राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ।
सरकारबाट बाहिरिने एमालेका मन्त्रीहरूमा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत यातायात हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयअन्तर्गत वन तथा वातावरण हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ रहेका छन्।
गत ३२ असारमा मन्त्रिपरिषद् बैठकमा सहभागी भई काठमाडौं फर्किएका उनीहरू पाँच दिनपछि राजीनामा बुझाउन हेटौंडा पुगेका थिए। मन्त्री मधुसुदन पौडेलका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारहरूको सत्ता सहकार्यबारे भएको छलफलपछि पार्टी नेतृत्वबाट सरकारबाट बाहिरिन निर्देशन प्राप्त भएको थियो। सोही निर्देशनअनुसार मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका हुन्।
बागमती प्रदेशमा साउन २०८१ देखि नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार सञ्चालनमा थियो। करिब दुई वर्षपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ अल्पमतमा परेका छन्। अब नेपालको संविधानअनुसार उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22106, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ८, शुक्रबार ०६:२७गण्डकीका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री काकीको १०० दिने उपलब्धि सार्वजनिक
समाचार२०८३ श्रावण ६, बुधबार २१:२१पोखरा–१४ मा वडाध्यक्ष कार्कीको संयोजकत्वमा मानव बेचबिखन विरुद्ध स्थानीय समिति गठन
समाचार२०८३ श्रावण ६, बुधबार १३:४५विवाह उमेर हद बाल हितविपरीत: अन्तर्राष्ट्रिय कानुनअनुकूल संशोधन गर्न जोड
समाचार२०८३ श्रावण ६, बुधबार १२:०१बागमती सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा





