महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र सञ्चालनमा

धादिङ, २३ साउनः
गल्छी गाउँपालिका–६, महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र सञ्चालनमा आएको छ। ‘स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनका लागि योग अपनाऔँ’ भन्ने मूल सन्देशसहित स्थापना गरिएको केन्द्रको शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।
गल्छी गाउँपालिका–६ का वडाध्यक्ष दिपक कुमार कार्कीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा करिब एक सय जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा पतञ्जलि योग समिति धादिङका प्रभारी बद्री सुवेदी, महिला प्रभारी राममाया बुढाथोकी, योग समिति बागमती प्रदेशका संगठन मन्त्री शंकर प्रसाद थपलिया, धादिङ जिल्ला योग खेलकुद संघका उपाध्यक्ष सन्दिप प्रसाद घिमिरे, अम्लेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष भिमसेन पाण्डे, ज्येष्ठ नागरिक समिति गल्छीका अध्यक्ष शम्भु खतिवडालगायत विभिन्न संघसंस्था तथा सरोकारवाला प्रतिनिधिको उपस्थिति थियो।
जिल्लाका विभिन्न स्थानमा सञ्चालित योग साधना केन्द्रबाट आएका साधक–साधिका तथा स्थानीयवासीको समेत कार्यक्रममा सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै पतञ्जलि योग समिति धादिङकी महिला प्रभारी राममाया बुढाथोकीले धादिङमा पछिल्लो समय योगसम्बन्धी गतिविधि विस्तार हुँदै गएको बताउनुभयो। उहाँका अनुसार अम्लेश्वर योग साधना केन्द्र जिल्लामा सञ्चालनमा आएको २४औँ साधना केन्द्र हो।
योगले स्वस्थ जीवनशैली निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले जिल्लाका विभिन्न स्थानमा योग अभ्यासलाई विस्तार गर्दै लगिएको बताउनुभयो।
पतञ्जलि योग समिति धादिङका प्रभारी बद्री सुवेदीले नयाँ साधना केन्द्रको सफलताको शुभकामना दिँदै नियमित रूपमा योग तथा साधना सञ्चालन गर्न आग्रह गर्नुभयो।
योग समिति बागमती प्रदेशका संगठन मन्त्री शंकर प्रसाद थपलियाले योगको इतिहास, यसको सुरुवात, वर्तमान समयमा योगको आवश्यकता र साधनाको महत्वबारे जानकारी दिनुभयो। उहाँले स्वस्थ जीवनका लागि योगसँगै स्वस्थ खानपान र उचित रहनसहन पनि आवश्यक रहेको बताउनुभयो।
प्रमुख अतिथि गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले योग साधना केन्द्रका लागि आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनुभयो। औषधि विज्ञानमा आधारित उपचारसँगै पूर्वीय साधना र जीवनपद्धतितर्फ पनि फर्किनुपर्ने आवश्यकता देखिएको उल्लेख गर्दै उहाँले योगलाई जीवनको अपरिहार्य हिस्सा बनाउनुपर्नेमा जोड दिनुभयो।
योग, आयुर्वेद र साधनाले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै अध्यक्ष खतिवडाले दैनिक रूपमा सञ्चालन हुने साधना केन्द्रलाई निरन्तरता दिन शुभकामना व्यक्त गर्नुभयो। उहाँले केन्द्रका लागि गाउँपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउनुभयो।
कार्यक्रमका अध्यक्ष तथा वडाध्यक्ष दिपक कुमार कार्कीले आफू पनि योग साधक रहेको बताउँदै योगले अनुशासन, धर्म तथा संस्कृतिको संरक्षणसँगै शारीरिक र मानसिक स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न योग प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो।
अम्लेश्वर योग साधना केन्द्रले अब दैनिक रूपमा योग तथा साधना सञ्चालन गर्ने जनाएको छ। स्थानीयस्तरमा योगको पहुँच विस्तार गर्दै स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणमा केन्द्रले योगदान पुर्याउने अपेक्षा गरिएको छ।
केन्द्रको संस्थापक समितिको प्रभारीमा दिल बहादुर रम्तेल, सह–प्रभारीमा इन्दिरा रायमाझी भण्डारी, मन्त्रीमा राधा अधिकारी, सह–मन्त्रीमा उद्वव काराखेती र कोषाध्यक्षमा अमृता के.सी. रहनुभएको छ।
त्यस्तै सदस्यहरूमा शंकर भण्डारी, रिता भण्डारी, हिरा सुवेदी, सरस्वती भण्डारी, सुमित्रा कार्की र प्रकाश भण्डारी तथा सल्लाहकारमा केदारनाथ खतिवडा, दिपक कुमार कार्की, भिमसेन पाण्डे, शिव भण्डारी र अप्सरा पण्डित रहनुभएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ७, बुधबार २२:१८सिन्धुपाल्चोकमा औषधि पसल तथा निजी स्वास्थ्य संस्थाको अनुगमन, आधा दर्जन सिल
समाचार२०८३ आश्विन ७, बुधबार २१:४७बाढीमा ज्यान गुमाएका परिवारलाई नेत्रावती डवजोङको आर्थिक सहयोग
सूचना-प्रविधि२०८३ आश्विन ७, बुधबार १३:३२फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
खेलकुद२०८३ आश्विन ७, बुधबार १२:१६एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक








