गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु

गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु

पोखरा । नेपाली भाषाको प्रयोगमा देखिँदै आएका त्रुटि न्यूनीकरण गर्दै शुद्ध बोल्ने र शुद्ध लेख्ने संस्कृतिको विकास गर्ने उद्देश्यले गण्डकी प्रदेशमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पोखरामा आयोजित एक औपचारिक कार्यक्रमबीच अभियानको शुभारम्भ गरेका हुन् ।

अभियान शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशले सुरु गरेको भाषिक शुद्धताको अभियान अन्य प्रदेशका लागि समेत सिकाइ बन्न सक्ने बताए । उनले गण्डकीबाट सुरु भएको अभियानलाई आगामी दिनमा ‘शुद्ध बोल्छ नेपाल, शुद्ध लेख्छ नेपाल’ अभियानका रूपमा देशव्यापी बनाउन सकिने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री पाण्डेले अभियानलाई गण्डकी प्रदेशका ११ वटै जिल्लाका गाउँगाउँ तथा शैक्षिक संस्थासम्म पुर्‍याउनुपर्नेमा जोड दिए । नेपाली भाषामाथि अन्तर्राष्ट्रिय भाषाको प्रभाव र अतिक्रमण बढिरहेको भए पनि त्यसलाई नकारात्मक रूपमा मात्र हेर्न नहुने उनको भनाइ थियो ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बिक्न सक्ने जनशक्ति उत्पादन गर्न अन्तर्राष्ट्रिय भाषाको ज्ञान आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले आफ्नो मातृभाषा तथा नेपाली भाषा भने कम्तीमा शुद्ध रूपमा बोल्न र लेख्न सक्ने जनशक्ति तयार गर्नुपर्ने बताए । ‘हामीले आफ्नो भाषा शुद्ध बोल्ने र लेख्ने जनशक्ति तयार पार्‍यौँ भनेर मात्रै गर्व गरेर पुग्दैन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय भाषाको ज्ञानसँगै आफ्नो भाषामा पनि दक्ष हुन आवश्यक छ।’

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा।डा। कुसुमाकर न्यौपानेले नेपाली भाषाको प्रयोगमा देखिएका त्रुटि पहिचान गर्दै त्यसको निराकरणका उपायबारे छलफल र जागरण आवश्यक भएकाले अभियान सुरु गरिएको बताए । अभियानको सुरुआत कास्कीबाट गरिएको र क्रमशः गण्डकी प्रदेशका बाँकी १० जिल्लामा विस्तार गरिने उनले जानकारी दिए ।
कुलपति प्रा.डा.न्यौपानेका अनुसार अभियानलाई त्यसपछि प्रदेशका स्थानीय तहसम्म पुर्‍याइनेछ। यो अभियान भाषिक जागरणसँगै आम नागरिकलाई आफ्नो भाषाको प्रयोगप्रति सचेत र सजग बनाउने उद्देश्यले अघि बढाइएको उनले स्पष्ट पारे।

यो पनि पढ्नुहोस् :  ‘पोखरा घर’बाट पाँच सेवा, स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्धनसम्म जोड

‘भाषामा भएका त्रुटि औँल्याउने मात्र होइन, ती त्रुटि कसरी सुधार गर्न सकिन्छ भन्ने उपाय पनि नागरिकलाई जानकारी गराउने हाम्रो उद्देश्य हो,’ न्यौपानेले भने। अभियानलाई आगामी चरणमा थप विस्तार गर्दै लैजाने तयारी रहेको उनले जानकारी दिए।

नेपाली भाषासँगै मातृभाषाको संरक्षण, संवर्द्धन र शुद्ध प्रयोगका लागि पनि यस्तै कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको कुलपति न्यौपानेले बताए। सबै पक्षको साथ र सहयोगबाट अभियानले अपेक्षित रूपमा मूर्त रूप पाउने उनको विश्वास छ।

अभियान शुभारम्भकै अवसरमा शुक्रबार ‘नेपाली भाषामा हुने गरेका त्रुटि र निराकरणका उपायहरू’ विषयमा गोष्ठीसमेत आयोजना गरिएको थियो। गोष्ठीमा डा। प्रेमप्रसाद चौलागाईंले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपाली भाषाको प्रयोगमा हुने गरेका विभिन्न त्रुटि, ती त्रुटिका कारण तथा निराकरणका उपायबारे उदाहरणसहित प्रस्तुति दिएका थिए ।
भाषामा देखिने त्रुटि व्यक्ति वा एउटा क्षेत्रबाट मात्र नभई विभिन्न निकाय तथा सार्वजनिक प्रयोगका माध्यमबाट समेत हुने गरेको उल्लेख गर्दै डा। चौलागाईंले भाषाको सही प्रयोगका लागि सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति शंकर विरही गुरुङले स्वागत मन्तव्य राखेका थिए भने सदस्य–सचिव मनकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। शेषनारायण पौडेल, तमु धिं नेपालका अध्यक्ष होमबहादुर गुरुङलगायतले धारणा राखेका थिए ।

गण्डकी प्रदेशमा सुरु गरिएको यो अभियानले विद्यालय, सरकारी कार्यालय, सञ्चारमाध्यम तथा सार्वजनिक जीवनमा नेपाली भाषाको शुद्ध प्रयोग बढाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। अभियानले भाषिक त्रुटि सच्याउने मात्र नभई नेपाली भाषाको संरक्षण, संवर्द्धन र प्रभावकारी प्रयोगका लागि नागरिकस्तरमा जागरण ल्याउने लक्ष्य समेत लिएको छ।

कार्यक्रममा कलाकारहरूले सारङ्गी तथा माहुरीबाजाका धुन प्रस्तुत गरे भने गण्डकी प्रज्ञा प्रतिष्ठानले आगामी दिनमा सञ्चालन गर्ने विभिन्न कार्यक्रमबारे समेत जानकारी गराइएको थियो ।

यो पनि पढ्नुहोस् :  दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर १६देखि २९ गतेसम्म सुर्खेतमा गर्ने निर्णय

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22349, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   5   =