सदस्यहरूलाई काउन्सिलमा स्वागत

‘केही न केही नयाँ परिवर्तन गरेरै जानुपर्छ’ : अध्यक्ष

काठमाडौँ, भदौ ३ ।
हालै मनोनित चार सदस्यहरूलाई काउन्सिलमा स्वागत गरिएको छ । काउन्सिलमा आज आयोजित एक कार्यक्रमबिच अध्यक्ष उमेश श्रेष्ठले खादा लगाइ उहाँहरूलाई स्वागत गर्नुभयो । साथै, अध्यक्ष श्रेष्ठले सदस्यहरू नम्रता शर्मा, प्रकाशभक्त माथेमा, रविराज बराल र उपासना घिमिरेलाई शपथ ग्रहण गराउँदै काउन्सिलका ऐन, कानुन, विनियमावली तथा कार्यविधिलगायत सामग्री प्रदान गर्नुभयो ।
स्वागत एवं शुभकामना मन्तव्य राख्ने क्रममा अध्यक्ष श्रेष्ठले पत्रकारिता क्षेत्रका दिग्गज सदस्य पाएको बताउँदै भन्नुभयो –“समस्या र चुनौतीहरू धेरै छन्, अब हामीले केही न केही नयाँ परिवर्तन गरेरै जानुपर्छ । त्यो नयाँ परिवर्तन सदस्य र कर्मचारीवर्गको सहयोगले मात्र पूरा गर्न सकिन्छ ।”
सदस्य नम्रता शर्माले काउन्सिलको सदस्यका रूपमा आउन पाउँदा खुशीको अनुभूति भइरहेको बताउँदै प्रेस स्वतन्त्रता जोगाउन र काउन्सिलको गरिमा उच्च पार्न आफूले जानेको अनुभव र दक्षताको भरपुर प्रयोग गर्ने बताउनुभयो ।
अर्का सदस्य प्रकाशभक्त माथेमाले काउन्सिलको इतिहासमै फोटो पत्रकारिताको बिटबाट सदस्यको रूपमा पहिलोचोटी प्रवेश गर्न पाउँदा खुशी लागेको बताउँदै फोटो पत्रकारिताको क्षेत्रमा विगत २५ वर्षको अनुभवलाई काउन्सिलको भलाइको निम्ति खर्चिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सदस्य रविराज बरालले काउन्सिलमा हिजोका दिनमा रिपोर्टिङका लागि आउने गरेपनि अहिले सदस्यको भूमिकामा आउन पाउँदा खुशी लागेको बताउँदै सबै मिलेर अध्यक्षको टिमलाई सफल बनाउनुपर्छ भन्नुभयो ।
सदस्य उपासना घिमिरेले पत्रकारिता क्षेत्रको विषम परिस्थितिमा पनि काउन्सिलको सदस्यको रूपमा आउन पाउँदा खुशी लागेको बताउँदै सबैको सामुहिक प्रयासबाट कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सदस्यहरूलाई स्वागत गर्दै शुभकामना दिने क्रममा मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलको संस्थागत संस्कारका बारेमा सङ्क्षिप्त जानकारी गराउनुभयो । वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले बधाई एवं शुभकामना दिने क्रममा अध्यक्षसहितको टिमलाई सफल बनाउन आफूहरू कटिबद्ध रहने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा सहप्रशासकीय अधिकृत रामशरण बोहरा, उपप्रशासकीय अधिकृत सविता ढकाल, उपप्रशासकीय अधिकृत गिता पराजुली, शाखा अधिकृतहरूसहित उपस्थित कर्मचारीहरूले बधाई एवं शुभकामना दिनुभएको थियो ।

लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३, बुधबार १५:५०सदस्यहरूलाई काउन्सिलमा स्वागत
समाचार२०८३ श्रावण २२, शुक्रबार १३:०५प्रेस काउन्सिल नेपालका पछिल्ला प्रकाशनहरूको सार्वजनिकीकरण कार्यक्रम सम्पन्न






