अध्यक्षमा बुद्धाचार्यको दाबी : अनुभव र संस्थागत परम्परा नै जित्ने आधार

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेदवारहरूले आफ्नो पक्षमा मत तान्न भेटघाट र प्रचारप्रसारलाई तीव्र बनाएका छन्। व्यवसायी, वस्तुगत संघ, पूर्वअध्यक्ष, विभिन्न व्यावसायिक तथा सामाजिक संस्था, राजनीतिक दलका स्थानीय नेतृत्व र सञ्चारकर्मीसँग उम्मेदवारहरूको भेटघाट बाक्लिएको छ।
यसैक्रममा अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्यले आइतबार पत्रकार भेटघाट गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। संघका वर्तमान वरिष्ठ उपाध्यक्ष रहेका बुद्धाचार्यले आफूले कार्यसमिति सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकाले अध्यक्ष पदमा उम्मेदवारी दिनु स्वाभाविक भएको बताएका छन्।
‘मैले पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य, वाणिज्य उपाध्यक्ष र अहिले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेको छु। त्यसैले आसन्न महाधिवेशनमा अध्यक्षमा मेरो उम्मेदवारी स्वाभाविक हो,’ उनले भने।
संघको परम्परा, सहकर्मी व्यवसायीसँगको समन्वय र नेतृत्वको रोलक्रमलाई समेत ध्यानमा राखेर उम्मेदवारी दिएको उनको भनाइ छ। आफ्नो उम्मेदवारीलाई केही उम्मेदवार तथा व्यवसायीले सहज रूपमा लिएर समर्थन जनाएको उनले दाबी गरे।
बुद्धाचार्यले पत्रकार भेटघाटमा आफू आबद्ध विभिन्न व्यावसायिक तथा सामाजिक संस्थाका प्रतिनिधिलाई समेत सहभागी गराएका थिए। फ्लोरिङ फर्निसिङ एसोसिएसन पोखराका अध्यक्ष थानेश्वर तिवारी, नेपाल अटोमेकानिकल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपाली, सुनचाँदी व्यवसायी संघ कास्कीका उपाध्यक्ष तारा गौतम तथा लायन्स क्लब अफ पोखरा लेकसिटीका पूर्वअध्यक्ष विश्वमोहन अधिकारी कार्यक्रममा उपस्थित थिए।
आफू आबद्ध तीनवटै व्यावसायिक संस्थाले पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा आफ्नो उम्मेदवारीलाई समर्थन गर्ने निर्णय गरेको बुद्धाचार्यले दाबी गरेका छन्।
चार दशकभन्दा बढी समयदेखि व्यापार–व्यवसायमा सक्रिय रहेको उल्लेख गर्दै बुद्धाचार्यले आफूले व्यापारिक क्षेत्रका समस्या नजिकबाट बुझेको बताए। उनी एलिगेन्स ट्रेड सेन्टर, फोर नाइन ज्वेलरीज, पोखरा एफएम, सिल्भर फोर नाइनलगायतका व्यावसायिक प्रतिष्ठानसँग जोडिएका छन्।
अब आफ्नो व्यवसाय सञ्चालनको जिम्मेवारी छोराहरूलाई हस्तान्तरण गर्दै संघको काममा बढी समय दिने उनको भनाइ छ। लामो व्यावसायिक अनुभव र विभिन्न संघसंस्थामा गरेको कामले व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्न सहयोग पुग्ने उनले बताए।
‘लामो समय व्यापारिक प्रतिष्ठान सञ्चालन गरेको अनुभव, विभिन्न संघसंस्थामा गरेको काम र संघभित्रको जिम्मेवारी मेरा उम्मेदवारीका आधार हुन्,’ उनले भने।
यसअघिको निर्वाचनमा प्यानलबाट प्रतिस्पर्धा गरेका बुद्धाचार्य यसपटक भने एक्लै अध्यक्ष पदमा उम्मेदवार बनेका छन्। प्यानल बनाएर निर्वाचनमा जानेभन्दा निर्वाचनपछि निर्वाचित सबैलाई समेटेर प्रभावकारी टिम निर्माण गर्नुपर्ने उनको धारणा छ। ‘जितेर आएका साथीहरूसँग मिलेर काम गर्ने हो। जो–जो साथीहरू आउनुहुन्छ, उहाँहरूलाई सँगै लिएर टिम बनाएर काम अगाडि बढाउने हो,’ उनले भने।
संघको वरिष्ठ उपाध्यक्षका रूपमा दुई वर्ष काम गर्दा आफ्नो पदीय जिम्मेवारी पूरा गरेको बताउँदै बुद्धाचार्यले संस्थागत प्रणाली र विधानको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताए। नेतृत्वले कहिलेकाहीँ विधान र संस्थागत प्रक्रियालाई अवलम्बन नगर्दा समस्या तथा मतभेद देखिएको उनको भनाइ थियो। ‘व्यक्ति केन्द्रित भएर संस्था चलाउने होइन, विधानअनुसार चलाउने हो। मैले चुनाव जितेँ भने पनि विधानअनुसार नै संस्था सञ्चालन गर्नेछु,’ उनले भने।
बुद्धाचार्यले संघलाई व्यवसायीको साझा आवाज, भरोसायोग्य संस्था तथा प्रभावकारी नीतिगत पैरवीको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। संघ, प्रदेश र स्थानीय सरकारसँग निरन्तर संवाद तथा सहकार्य गर्दै उद्योग–व्यवसायमैत्री नीति निर्माणका लागि पहल गर्ने उनले बताए।
उनको प्रतिबद्धता पत्रमा व्यवसायीका दैनिक समस्या समाधानदेखि प्रविधि, बजार विस्तार, पर्यटन, लगानी तथा स्थानीय उत्पादन प्रवर्द्धनसम्मका १७ बुँदा समेटिएका छन्।
व्यवसायीका लागि एकद्वार सहायता केन्द्र र विशेषज्ञ सहायता टिम, व्यावसायिक डेटा बैंक, व्यवसायमा डिजिटल प्रविधि तथा एआईको प्रयोग, युवा, महिला र स्टार्टअप उद्यमशीलता प्रवर्द्धनलाई प्रतिबद्धता पत्रमा प्राथमिकता दिइएको छ।
स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न ‘लोकल टु ग्लोबल’ अभियान तथा पोखरामा उत्पादित वस्तु र सेवाको प्रयोग बढाउन ‘बाइ पोखरा’ अभियान सञ्चालन गर्ने योजना पनि उनले अघि सारेका छन्।
त्यस्तै, व्यवसायीको मौज्दात व्यवस्थापन तथा बिक्रीमा सहयोग पुर्याउन ‘मिड इयर सेल’, व्यवसायीको सीप तथा क्षमता विकास, पर्यटन तथा लगानी प्रवर्द्धन, खेल पर्यटन र ‘ग्रेटर पोखरा’ अवधारणालाई समेत प्राथमिकतामा राखिएको छ।
‘व्यवसायीको सम्मान, संस्थाको सुदृढीकरण र पोखराको समृद्धि’लाई मूल ध्येय बनाएका बुद्धाचार्यले संघलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22468, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १५, सोमबार ०२:३४अध्यक्षमा बुद्धाचार्यको दाबी : अनुभव र संस्थागत परम्परा नै जित्ने आधार
समाचार२०८३ भाद्र १४, आईतवार १८:२७२३ वर्षदेखि बेपत्ता परिवारको पीडा उस्तै, राज्यसँग न्यायको माग
समाचार२०८३ भाद्र १३, शनिबार २०:२०प्रतिभा उच्च माविले जित्यो मन्जु बहादुर बस्नेत मेमोरियल ह्यान्डबलको उपाधि
समाचार२०८३ भाद्र १२, शुक्रबार १७:४२प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग







