बाढीपीडितका लागि आरुघाट युवा क्लब र नेवा गुठीको ८ लाख सहयोग

बाढीपीडितका लागि आरुघाट युवा क्लब र नेवा गुठीको ८ लाख सहयोग

गोरखा, भदौ १५:

गोरखाका आरुघाट युवा क्लब र आरुघाट नेवा गुठी समाज, काठमाडौँले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ८ लाख ७ हजार ७ सय २३ रुपैयाँ सहयोग गर्ने भएका छन्। चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले दुवै संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायतका जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गर्न लागिएको आरुघाट युवा क्लबले जनाएको छ।
क्लबका सदस्य सोवित श्रेष्ठका अनुसार विपद्को यस कठिन समयमा प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनामा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले दुवै संस्थाको सहकार्यमा रकम सहयोग गर्न लागिएको हो।
आरुघाट युवा क्लबले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
क्लबले खेलकुद क्षेत्रको प्रवर्द्धनसँगै नेपाली कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र सामाजिक सेवाका क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का समयमा पनि सहयोग गर्दै आएको क्लबको भनाइ छ।
त्यस्तै, आरुघाट नेवा गुठी समाजले नेवा कला, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धनका साथै विभिन्न सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ।
विपद्का बेला दुई संस्थाले संयुक्त रूपमा आर्थिक सहयोग गर्ने निर्णयले सामाजिक उत्तरदायित्वसँगै सामुदायिक एकताको सकारात्मक सन्देश दिएको छ। विपद्बाट प्रभावित नागरिकलाई राज्यको प्रयाससँगै सामाजिक संघसंस्था तथा समुदायको सहयोग पनि आवश्यक रहेको क्लबले जनाएको छ।
आरुघाट युवा क्लबले सरकारको राहत तथा उद्धार अभियानमा हातेमालो गर्दै बाढी तथा पहिरोबाट प्रभावित बालबालिका, ज्येष्ठ नागरिक तथा परिवारलाई सहयोग गर्न व्यक्ति, संघसंस्था र समुदायलाई समेत आ–आफ्नो क्षेत्रबाट सहयोग तथा सहकार्य गर्न आह्वान गरेको छ।
विपद्बाट प्रभावित नागरिकको तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि सरकारी निकाय, स्थानीय समुदाय र सामाजिक संघसंस्थाबीचको सहकार्य आवश्यक रहेको क्लबले जनाएको छ।

यो पनि पढ्नुहोस् :  बाढीको लेदोले थलिएका अस्पताल र विद्यालय ब्युँताउन धादिङमा बृहत् श्रमदान सुरु

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   8   =