“उद्यमको अनुभव, नेतृत्वको संकल्प “: उपमहासचिव पदका उम्मेदवार यादव प्रसाद पोखरेल

“उद्यमको अनुभव, नेतृत्वको संकल्प “: उपमहासचिव पदका उम्मेदवार यादव प्रसाद पोखरेल

पोखरा । व्यवसायलाई केवल आम्दानीको माध्यमका रूपमा होइन, रोजगारी र उद्यम सिर्जनाको आधारका रूपमा बुझ्ने यादव प्रसाद पोखरेल अहिले पोखरा उद्योग वाणिज्य संघको उपमहासचिव पदका उम्मेदवार छन्। संघको वर्तमान कार्यसमिति सदस्यसमेत रहेका पोखरेल यसपटक अध्यक्ष पदकी उम्मेदवार शोभा गौतम नेतृत्वको प्यानलबाट उपमहासचिवमा प्रतिस्पर्धा गर्दैछन्।

व्यावसायिक रूपमा पोखरेल फेन्सी तथा रेडिमेड व्यवसायसँग जोडिएका छन्। पोखरामा नवीन फेन्सी स्टोर सञ्चालन गर्दै आएका उनी मेर्टाे ग्रुप प्रालिका अध्यक्ष समेत हुन्। व्यवसायसँगै विमानस्थलमा समेत काम गर्दै आएका पोखरेलको दैनिकी व्यापार र व्यावसायिक क्षेत्रसँग नजिकबाट जोडिएको छ।

व्यवसायमा सक्रिय रहँदा उनले बजारका अवसरसँगै व्यवसायीले सामना गर्नुपर्ने चुनौतीहरूलाई पनि नजिकबाट अनुभव गरेका छन्। यही अनुभवलाई संस्थागत नेतृत्वसँग जोड्ने उद्देश्यले उनी पोखरा उद्योग वाणिज्य संघमा सक्रिय छन्।

वर्तमान कार्यसमिति सदस्यका रूपमा संघसँग जोडिएका पोखरेलका लागि अहिलेको उम्मेदवारी संस्थाभित्रको अनुभवलाई थप जिम्मेवारीमा विस्तार गर्ने अवसर पनि हो। उपमहासचिवको भूमिकामा रहेर व्यवसायीका आवाजलाई संस्थागत रूपमा उठाउने र संघका गतिविधिलाई थप प्रभावकारी बनाउने उनको लक्ष्य छ।

पोखरेलका लागि आगामी निर्वाचन केवल नेतृत्व परिवर्तन गर्ने प्रक्रिया मात्र होइन। उनी यसलाई व्यवसायीको आगामी पुस्ता र व्यवसायको भविष्यसँग जोडिएको निर्वाचनका रूपमा हेर्छन्।

“यो केवल नेतृत्व परिवर्तन गर्ने निर्वाचन होइन, हाम्रो व्यवसायको भविष्य तय गर्ने निर्वाचन हो,” पोखरेल भन्छन्।

उनको दृष्टिमा आगामी दिनमा व्यवसायिक संस्थाको नेतृत्वले युवालाई केन्द्रमा राख्न आवश्यक छ। युवाहरू रोजगारी खोज्ने पुस्तामा मात्र सीमित नभई रोजगारी सिर्जना गर्ने उद्यमी बन्नुपर्ने उनको धारणा छ।

“युवा वर्गलाई यो अभियानमा जोड्न अति आवश्यक छ। युवा रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने उद्यमी बन्न सक्नुपर्छ,” उनी भन्छन्।

व्यवसायको बदलिँदो स्वरूपसँगै नेतृत्वमा पनि नयाँ पुस्ताको सहभागिता आवश्यक रहेको पोखरेलको बुझाइ छ। प्रविधि, नयाँ बजार र उद्यमशीलताको सम्भावनासँग परिचित युवालाई संस्थागत नेतृत्वमा जोड्न सके व्यवसायिक क्षेत्रले नयाँ गति लिन सक्ने उनको विश्वास छ।

यो पनि पढ्नुहोस् :  ‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता’ हुने

यही सोचसहित पोखरेल अहिले चुनावी मैदानमा छन्। व्यवसायमा कमाएको अनुभव र संघको वर्तमान कार्यसमितिमा रहेर प्राप्त संस्थागत अनुभवलाई उपमहासचिवको जिम्मेवारीमार्फत अघि बढाउने उनको प्रयास छ।

पोखरा उद्योग वाणिज्य संघको आगामी निर्वाचनले नेतृत्व मात्र चयन गर्ने छैन, संघले आगामी दिनमा कुन पुस्ताको आवाज र कस्तो व्यावसायिक सोचलाई प्राथमिकता दिन्छ भन्ने संकेत पनि दिनेछ। यही बदलिँदो पुस्ताको प्रतिनिधित्व गर्ने दाबीका साथ यादव प्रसाद पोखरेल उपमहासचिव पदका लागि व्यवसायीमाझ पुगिरहेका छन्।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22529, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   7   =