कृष्णभीरमा ट्र्याक खोल्न थालियो

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

धादिङ, १९ भदौः पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम आज बिहानदेखि सुरु गरिएको छ । दुई दिनसम्म रुख र बाँस काट्ने, झाडी फाँड्ने र ग्याविन भत्काउने काम गरेपछि आज माथि सफा गर्ने र दुवैतर्फको तलबाट ट्र्याक खोल्ने काम सुरु गरिएको हो ।

निर्माण कम्पनी शर्मा जेभीका साइड प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार दुवैतर्फबाट एस्काभेटरले ट्र्याक खोल्न थालिएको हो । माथिल्लो भागमा मजदुरले ग्याबिन भत्काउने र सफा गर्ने काम गरिरहेका छन् । छेउको भागबाट सात मिटर पर ट्र्याक खोल्न लागिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एक सातादेखि १० दिनभित्र ट्र्याक खोल्ने काम सकिने छ । नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार दुई दिन सफा गरेपछि काम अघि बढेको हो ।

सडकभन्दा करिब नौ मिटर अग्लो पहिलो डाँडालाई काटेर सडक खोल्न लागिएको हो । ट्र्याक ३५० मिटर लामो हुनेछ । सात मिटर चौडाइको ट्र्याक बनाउन लागिएको हो । यसअघि सञ्चालनमा रहेको झण्डै २०० मिटर लम्बाइको सडक भासिएर र चिरिएको छ । यहाँ १० मिटर फराकिलो सडक रहेको थियो । त्रिशूली नदीले फेदमा रहेको मजबुत संरचनासमेत बगाएपछि सडक भासिएको हो । यही भदौ १४ गते उक्त सडक भासिएसँगै राजधानीसँगको सडक सञ्जाल अवरुद्ध भएको छ । सरकारले यथासक्य छिटो यो सडक सञ्चालन गर्न आवश्यक निर्णय र निर्देशन दिइसकेको छ । भदौ महिनाभित्र कृष्णभीर सञ्चालन गर्नेगरी काम अघि बढाइएको छ ।

उक्त सडकलाई मर्मतसम्भार गरिएपछि २०६० साल यता सो खण्डमा यातायात सञ्चालन सहज भएको थियो । सडकको दुवैतर्फ कडा चट्टान छ । भीरको बीच भागमा ६० देखि ७० मिटर भाग केही कमजोर रहेको इन्जिनियर मिश्र बताउनुहुन्छ । अहिले सोही ठाउँमा समस्या आएको हो । गत वर्ष सोही सडकको छेउपट्टिको भाग भासिएपछि मर्मत भइरहेको थियो ।

यो पनि पढ्नुहोस् :  ‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता’ हुने

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   1   =