व्यवसायीको घट्दो आकर्षणबीच आशालाग्दो अनुहार मनोहरी पौडेल

पोखरा । पोखरा उद्योग वाणिज्य संघमा पछिल्लो समय व्यवसायीको रुचि र सहभागिता घट्दो क्रममा देखिएको छ। कुनै समय करिब पाँच हजारको हाराहारीमा रहेका संघका सदस्यको संख्या घटेर अहिले करिब दुई हजार सात सयको हाराहारीमा पुगेको छ।
वि.सं. २०११ सालमा अमृतप्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको पोखराको जेठो सामाजिक संस्थाका रूपमा परिचित पोखरा उद्योग वाणिज्य संघको सदस्य संख्या विगतको तुलनामा निकै कम हो। दुई हजार सात सय हाराहारी सदस्य संख्या रहेको संघले आफ्नै सदस्यलाई जोगाउन नसकेको गुनासो व्यवसायीहरूबाट सुनिन थालेको छ।
विभिन्न आन्दोलन, कोभिड महामारी, अव्यवस्थित पार्किङ, महँगो घरभाडा, चर्को कर प्रणालीलगायतका समस्यासँग जुध्दै पोखराको उद्योग तथा वाणिज्य क्षेत्रको साख जोगाइरहेका व्यवसायीहरूको दिगो हित र साझा समस्याको सुनुवाइ तथा पैरवीमा संघ बेलाबेला चुकेको व्यवसायीहरूको गुनासो छ। यिनै कारणले संघप्रति व्यवसायीको आकर्षण घट्दो अवस्थामा रहे पनि संघमा केही आशालाग्दा व्यक्तिको प्रवेशले भने पुनः आकर्षण बढ्ने अपेक्षा गरिएको छ।
यही परिवेशमा पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा व्यवसायी, सामाजिक अभियन्ता तथा पत्रकार मनोहरी पौडेलले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएसँगै उनीप्रति व्यवसायी मतदाताले आशालाग्दो व्यक्तिका रूपमा हेर्न थालेका छन्।
लामो समयदेखि व्यापार–व्यवसायसँगै सामाजिक तथा संस्थागत क्षेत्रमा सक्रिय पौडेल बुद्ध विशाल बजारस्थित टुईन्स कलेक्सनका सञ्चालक हुन्। उनले यसअघि पोखरा उद्योग वाणिज्य संघमा आर्थिक वर्ष २०८२/८३ मा मनोनीत कार्यसमिति सदस्यका रूपमा जिम्मेवारी सम्हाल्दै सफलतापूर्वक आफ्नो भूमिका निर्वाह गरेका छन्।
संघको २८ वटा बोर्ड बैठकमध्ये २७ वटामा उपस्थित भएर ९६.४३ प्रतिशत सहभागिता जनाएका पौडेलले संघप्रतिको आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको देखिन्छ। संघका हरेक बैठकमा व्यवसायीका समस्या उठाउँदै आएका पौडेल व्यवसायीका समस्या नजिकबाट बुझेका व्यक्तिका रूपमा चिनिन्छन्।
सरल र सहयोगी स्वभावका पौडेलले संघलाई थप सक्रिय, व्यवसायीमैत्री र परिणाममुखी बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्। व्यवसायीको हकहित संरक्षण, व्यावसायिक एकता र संघको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ।
पौडेल विभिन्न सामाजिक तथा संस्थागत गतिविधिमा समेत सक्रिय छन्। उनी बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनका उपाध्यक्ष, त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति पोखरा–२८ का अध्यक्ष तथा सुकमैदान सिर्जनशील क्लब पोखरा–२८ का संस्थापक अध्यक्ष हुन्। साथै, पोखरा उद्योग वाणिज्य संघका विभिन्न वस्तुगत समितिको प्रेस संयोजकका रूपमा समेत उनले जिम्मेवारी निर्वाह गर्दै आएका छन्।
त्यस्तै, उनी फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका साधारण सदस्य, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीका पूर्व सदस्य तथा प्रेस संयोजक र चापापानी सिद्धार्थ सहकारी संस्था पोखरा–१२ का शिक्षा संयोजक तथा सञ्चालक समिति सदस्यका रूपमा समेत काम गरिसकेका छन्।
पत्रकारितामा समेत सक्रिय पौडेल नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश परिषद् सदस्य हुन्। व्यवसाय, सामाजिक सेवा र सञ्चार क्षेत्रबाट प्राप्त अनुभवलाई पोखरा उद्योग वाणिज्य संघमार्फत व्यवसायीको हितमा उपयोग गर्ने उनको भनाइ छ।
“संघमा प्रतिनिधित्व पदका लागि मात्र होइन, व्यवसायीका समस्या सुन्न, आवाज उठाउन र समाधानका लागि काम गर्न हुनुपर्छ,” भन्ने मान्यता राख्ने पौडेलले सम्पूर्ण उद्योगी–व्यवसायीको साथ, सहयोग र विश्वासको अपेक्षा गरेका छन्।
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा कार्यसमिति सदस्य पदका उम्मेदवार मनोहरी पौडेलको क्रम संख्या ९ रहेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22520, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १९, शुक्रबार १९:५५“उद्यमको अनुभव, नेतृत्वको संकल्प “: उपमहासचिव पदका उम्मेदवार यादव प्रसाद पोखरेल
समाचार२०८३ भाद्र १९, शुक्रबार १२:२०व्यवसायीको घट्दो आकर्षणबीच आशालाग्दो अनुहार मनोहरी पौडेल
समाचार२०८३ भाद्र १९, शुक्रबार ०१:०३शुक्रबारदेखि लगातार ५ दिन बिदा, कुन दिन केको बिदा?
समाचार२०८३ भाद्र १८, बिहीबार १२:२६भोटेकोशी बाढीमा १ हजार २५२ जनाको शव फेला







