लक्ष्मी विद्यापदकबाट तीन विद्यार्थी सम्मानित

पोखरा । लक्ष्मी ग्रुप प्रा.लि.द्वारा स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्वारा सञ्चालित लक्ष्मी विद्यापदक वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ।
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा आयोजित विशेष समारोहबीच विद्यापदक वितरण गरिएको हो।
कास्की जिल्लामा स्थापित विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायतर्फ स्नातकोत्तर तह (एमबीएस) तथा स्नातक तहअन्तर्गत बीबीए र बीबीएसमा उत्कृष्ट अंक हासिल गरी उत्तीर्ण हुने विद्यार्थीलाई लक्ष्मी विद्यापदक प्रदान गरिँदै आएको छ।
यस वर्षको लक्ष्मी विद्यापदक–२०८२ अन्तर्गत व्यवस्थापन संकायको स्नातकोत्तर तह (एमबीएस)तर्फ जनप्रिय बहुमुखी क्याम्पसकी ज्योति तामाङ, स्नातक तह (बीबीए)तर्फ पोखरा कलेज अफ म्यानेजमेन्टकी समीक्षा तिमिल्सिना र स्नातक तह (बीबीएस)तर्फ जनप्रिय बहुमुखी क्याम्पसका सन्तोष थापा सम्मानित भएका छन्।
सम्मानित विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा लक्ष्मी ग्रुप प्रा.लि.का कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की तथा लक्ष्मी ग्रुपका अर्का कार्यकारी निर्देशक सुनिल श्रेष्ठले माला, दोसल्ला, ताम्रपत्र, विद्यापदक तथा नगद पुरस्कार प्रदान गरे।
स्नातकोत्तर तहका विद्यार्थीलाई जनही २५ हजार रुपैयाँ तथा स्नातक तहका विद्यार्थीलाई जनही १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
सम्मानित विद्यार्थीका तर्फबाट मन्तव्य राख्दै ज्योति तामाङले यस किसिमको सम्मानले जीवनमा अघि बढ्न थप हौसला र ऊर्जा मिलेको बताइन्। उनले विद्यापदक स्थापना गर्ने लक्ष्मी ग्रुप, सञ्चालन गर्ने पोखरा उद्योग वाणिज्य संघ, आफू अध्ययन गरेको शैक्षिक संस्थाका गुरु तथा मार्गनिर्देशन गर्ने अभिभावकप्रति विशेष धन्यवाद व्यक्त गरिन्।
सम्मान कार्यक्रमको सञ्चालन शिक्षा सेवी तथा पदक सञ्चालक समितिका सदस्य अमृतलाल श्रेष्ठले गरेका थिए। सो अवसरमा श्रेष्ठले हालसम्म लक्ष्मी विद्यापदकबाट ७६ जना विद्यार्थी सम्मानित भइसकेको जानकारी दिए। सम्मानित विद्यार्थीहरू देश तथा विदेशका विभिन्न प्रतिष्ठित संघसंस्था, सरकारी तथा निजी क्षेत्रका प्रतिष्ठानमा विभिन्न पदमा कार्यरत रहेको उनले बताए।
लक्ष्मी विद्यापदकको स्थापना पनि विशेष पृष्ठभूमिसँग जोडिएको छ। २०५५ पुस २० गते पोखरा महानगरपालिकाको दोस्रो नगर परिषद्को उद्घाटन समारोहमा समाजसेवा, साहित्य, शिक्षा, संगीत, पत्रकारिता, उद्योग, पर्यटन तथा खेलकुद क्षेत्रमा योगदान पुर्याएका नौ जनालाई ‘पोखरेली नवरत्न’का रूपमा सम्मान गरिएको थियो।
सोही सम्मान प्राप्त गरेका लक्ष्मी हाउसका बुद्धिबहादुर श्रेष्ठले सम्मानस्वरूप प्राप्त १० हजार रुपैयाँमा लक्ष्मी हाउसको तर्फबाट थप २ लाख १ हजार १ सय ११ रुपैयाँ योगदान गरी अक्षयकोष स्थापना गरेका थिए। सोही अक्षयकोषबाट लक्ष्मी विद्यापदकको स्थापना गरिएको कार्यक्रममा जानकारी गराइएको थियो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22549, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २०, शनिबार २३:५७लक्ष्मी विद्यापदकबाट तीन विद्यार्थी सम्मानित
समाचार२०८३ भाद्र १९, शुक्रबार १९:५५“उद्यमको अनुभव, नेतृत्वको संकल्प “: उपमहासचिव पदका उम्मेदवार यादव प्रसाद पोखरेल
समाचार२०८३ भाद्र १९, शुक्रबार १२:२०व्यवसायीको घट्दो आकर्षणबीच आशालाग्दो अनुहार मनोहरी पौडेल
समाचार२०८३ भाद्र १९, शुक्रबार ०१:०३शुक्रबारदेखि लगातार ५ दिन बिदा, कुन दिन केको बिदा?






