वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

धादिङ,५ असोज
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत धादिङका १०४ वटै वडामा सोमबार अधिवेशन हुँदै गर्दा जिल्लाका तीन प्रभावशाली नेताले पार्टीको बृहत्तर हितका लागि आफूहरू एक ठाउँमा उभिएको सन्देश दिएका छन्।कांग्रेस केन्द्रीय सदस्यद्वय रमेश धमला र दिलमान पाख्रिन तथा नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुंगानाबीच सोमबार बिहान भएको छलफलमा वडा अधिवेशनदेखि जिल्ला अधिवेशनसम्म पार्टीभित्र एकता र सहमतिको वातावरण बनाएर अघि बढ्ने समझदारी भएको छ।बैठकमा सहभागी महासमिति सदस्य सरोज अधिकारीका अनुसार, तीनै नेताले आफू निकट नेता तथा कार्यकर्ताबीच अनावश्यक प्रतिस्पर्धा र विवाद नगरी अधिवेशन प्रक्रियालाई सहमति र सहकार्यका आधारमा अघि बढाउन जोड दिएका छन्। वडा अधिवेशनबाटै क्षेत्रीय प्रतिनिधि चयन गर्दा पार्टीका लागि सक्रिय रूपमा काम गरेका र निर्वाचनका क्रममा संगठनको पक्षमा अग्रपंक्तिमा खटिएका नेता–कार्यकर्तालाई प्राथमिकता दिनसमेत उनीहरूले आग्रह गरेका छन्।

अधिकारीका अनुसार बैठकमा तीनै नेताले पार्टी अहिले चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै आन्तरिक विवादलाई बढावा दिनेभन्दा संगठनलाई बलियो बनाउने गरी अधिवेशनमा सहभागी हुनुपर्ने धारणा राखेका थिए।बैठकमा नेताहरूको भनाइ उद्धृत गर्दै अधिकारीले भने, ‘वडादेखि जिल्ला अधिवेशनसम्म नै हामी साझा प्रतिबद्धताका साथ जानुपर्छ। यसपटक हामीबीच कसैलाई खेल्ने अवसर पनि दिइँदैन र पार्टीभित्र विग्रह हुन पनि दिँदैनौँ।’
तीन नेताबीचको सहकार्यले धादिङ कांग्रेसको अधिवेशनमा महत्वपूर्ण प्रभाव पार्न सक्ने देखिएको छ। अधिकारीका अनुसार तीन नेता एक ठाउँमा उभिँदा उनीहरूसँग निकट रहेका ठूलो संख्याका नेता–कार्यकर्ता पनि एकै ठाउँमा रहने अवस्था बनेको छ।बैठकमा तीन नेताले आफूहरूबीचको एकता कुनै व्यक्तिविशेषलाई पराजित गर्ने उद्देश्यले नभई पार्टीभित्र बृहत्तर एकता कायम गर्ने उद्देश्यले भएको स्पष्ट पारेका थिए।
‘हामीबीचको एकता कसैलाई हराउनका लागि होइन, पार्टी बलियो बनाउनका लागि हो। यो पार्टीभित्रको बृहत्तर एकताका लागि थालिएको पहल हो,’ नेताहरूको भनाइ उद्धृत गर्दै अधिकारीले भने।उनका अनुसार तीन नेताले आफूहरूसँग निकट रहेका समूहलाई मात्र केन्द्रमा नराखी कांग्रेसका अन्य नेता तथा समूहलाई समेत समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। ‘उहाँहरू मात्र होइन, अरू नेताहरूलाई समेत समेट्दै जाने पक्षमा हुनुहुन्छ,’ अधिकारीले भने।
बैठकले वडा तहमा पार्टी संगठनका लागि निरन्तर सक्रिय रहेका, निर्वाचनका क्रममा पार्टीको पक्षमा अग्रपंक्तिमा रहेर काम गरेका तथा संगठन निर्माणमा योगदान पुर्याएका नेता–कार्यकर्तालाई क्षेत्रीय प्रतिनिधि चयनमा प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।धादिङ कांग्रेसले बाढी प्रभावित जिल्लाका लागि तय गरिएको संशोधित कार्यतालिकाअनुसार सोमबार जिल्लाका सबै १०४ वटै वडामा अधिवेशन गर्दैछ। जिल्ला कांग्रेसले असोज ७ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन र असोज १० गते प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
धादिङमा वडा अधिवेशनको पूर्वसन्ध्यामा शीर्ष नेताहरूबीच बनेको यो सहमति कार्यान्वयनमा कति प्रभावकारी हुन्छ भन्ने विषय भने वडा तहबाट सुरु हुने क्षेत्रीय प्रतिनिधि चयनको परिणामपछि थप स्पष्ट हुनेछ। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहबाट चयन भएका प्रतिनिधिहरूले क्रमशः माथिल्ला तहका अधिवेशनमा सहभागिता जनाउने व्यवस्था छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन ५, सोमबार ०७:५५वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
समाचार२०८३ आश्विन ५, सोमबार ०७:२१डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा
समाचार२०८३ आश्विन ४, आईतवार १७:२२रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ४, आईतवार १६:३३स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल








