रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौँ– काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन् । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व बहन गर्नेगरी स्थानीय तह साझा कार्यक्रममा आबद्ध भएका हुन् ।
रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने यसको उद्देश्यसहित संविधान दिवसको दिन पारेर स्थानीय तहका प्रमुखहरूले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका तथा बुढानिलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरी नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुने । साझा यातायातका तर्फबाट अध्यक्ष शुशिलराज प्याकुरेलले हस्ताक्षर गर्नुभएको छ । साझा यातायातको कार्यालयमा आयोजना गरिएको समारोहमा हस्ताक्षर गरिएको हो । त्यसलगत्तै छ वटा रुटका लागि ३० वटा बस सञ्चालन थालिएको थियो ।
समारोहमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले संविधानले नागरिकका लागि प्रत्याभूत गरेका आधारभूत आवश्यकताको पहुँच बढाउँदै जाने क्रममा रात्रिकालीन बस सेवालाई थप विकास र विस्तार गर्दै लगिएको बताउनुभयो । उहाँले भन्नुभयो, “परीक्षण कालमा अभ्यास गरिएको दुई वटा रुटमा चार वटा थपेका छौँ । सात वडा गाडीलाई ३० वटा पुर्‍याएका छौँ । चार वटा नगरपालिकाको सहकार्यमा नौ वटा पुगेका छौँ । यसलाई अझ विस्तार गर्ने र आवश्यकताका आधारमा आर्थिक दायित्व पनि वहन गर्ने गरी सहकार्य थालेका छौँ । अब यो सेवा रोकिँदैन । निरन्तर र दिगो रूपमा चल्छ ।”
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भन्नुभयो, “उपत्यकाबासीको यातायात सहजताका लागि सङ्घ सरकारबाट मेट्रो सञ्चालन गर्ने विषयमा योजना ल्याउनुपर्ने थियो । त्यो अहिले आएको देखिएन । मेट्रो नभएपछि बीआरटी (बस र्‍यापिड ट्रान्जिट) हुनुपथ्र्यो । त्यसको पनि केही सङ्केत छैन । सङ्घीय सरकारबाट केही आएन भनेर हामीले चुप लाग्ने अवस्था छैन । यसकारण स्थानीयस्तरमा सञ्चालनमा ल्याउन सकिने प्रणालीमा सहकार्य थालेका छौँ । यसलाई विकास र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।”
सर्वसाधारणले रातको समयमा सुरक्षित आवतजावत गर्ने एउटा भरपर्दो सेवा सुरु भएको बताउँदै उहाँले यो नागरिकसँग जोडिएको ठूलो उपलब्धिका रूपमा रहेको उल्लेख गर्नुभयो ।
साझाका अध्यक्ष प्याकुरेलले भन्नुभयो, “साझाले स्थानीय तहलाई अभिभावक बनाउन पाउनु हाम्रो इतिहासका लागि पनि ठूलो उपलब्धि हो ।” विस्तारित सेवाअन्तर्गत जगाती-सूर्यविनायक हुँदै ठमेलसम्म छ, साबिक लगनखेल-बुढानिलकण्ठलाई विस्तार गरी गोदावरीसम्म छ, रिङरोडमा घडीको दिशामा र विपरीत दिशामा आठ, कीर्तिपुर-जमलमा चार, टाखेल-ठमेलमा दुई तथा साबिक नागढुङ्गा-एयरपोर्ट रुटमा चार वटा बस सञ्चालन गरिनेछ ।
यसअघि लगनखेलबाट बुढानीलकण्ठ तथा नागढुङ्गाबाट एयरपोर्टसम्म राति ८ः०० बजेदेखि ११ः०० बजेसम्म सात वटा बसमार्फत नमूना सेवा सञ्चालन गरिएको थियो । सेवाको प्रभाव तथा मूल्याङ्कन, लाभलागत विश्लेषणका आधारमा नाफाघाटाभन्दा सेवा ठूलो विषय भएको निष्कर्ष निकालिएको थियो ।
रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च यात्रुबाट प्राप्त हुने टिकट आम्दानीले धान्न नसकेमा त्यसबाट अपुग हुने रकमको ५० प्रतिशत सम्बन्धित सात वटा नगरपालिकाले समान रूपमा ब्यहोर्ने र बाँकी ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको जनसङ्ख्याका आधारमा काठमाडौँ महानगरपालिकाले १८ दशमलव ५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८ दशमलव ५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले नौ प्रतिशतका दरले ब्यहोर्ने सहमति गरिएको छ । सेवा सञ्चालन गर्न खर्च नपुग भए साझा यातायातले त्रैमासिक रूपमा माग गर्ने सहमतिमा उल्लेख छ ।
रुटमा यात्रु चढ्ने तथा ओर्लने स्थान सम्बन्धित नगरपालिकाले निर्धारण गर्नेछन् । ती स्थानमा आर्थिक वर्ष २०८३/८४ भित्र डिजिटल साइनेज बोर्ड जडान गरी डिजिटल बस स्टप निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ । सम्बन्धित नगरपालिकाले आवश्यक समन्वय तथा सहजीकरण गर्नेछन् ।
निर्धारित रुटको अन्तिम बिन्दुमा बस चार्जिङ स्टेसन निर्माणका लागि सम्बन्धित नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने र साझा यातायातले चार्जिङ स्टेसन जडान गर्ने दायित्व लिनेछ । चार्जिङ स्टेसनको सुरक्षाको जिम्मेवारी सम्बन्धित नगरपालिकाले लिनेछन् ।
सहमतिले यात्रुको चाप र आवश्यकता बढ्दै गएमा भविष्यमा अन्य क्षेत्रमा समेत यस प्रकारको बस सेवा विस्तार गर्ने बाटो खुला गरेको छ । चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपियाँ भाडा लाग्नेछ ।
टिकटबाट हुने आर्थिक चुहावट रोक्न साझाले यही असोज १ गतेदेखि डिजिटल टिकेटिङ प्रणाली विकास गरेको छ । यसमा क्यूआरबाट वा क्यास नै दिएर पनि टिकट लिन सकिनेछ । आर्थिक चुवावट रोकिएपछि साझाको घाटा रकम कम हुने अपेक्षा छ । साझा यातायातमा नेपाल सरकारको रु तीन अर्ब, काठमाडौँ महानगरपालिकाको रु १५ करोड शेयर लगानी छ । अहिले साझा यातायातमा १११ वटा बस छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   3   =