प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा परेनन् : मुख्यमन्त्री पाण्डे

विराटनगर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका अधिकार र समस्या संघ सरकारको प्राथमिकतामा नपरेको बताएका छन्। संघ सरकारको यही अवस्था कायम रहे संघीयताबारे नै सोच्नुपर्ने अवस्था आउने उनको भनाइ छ।

कोशी प्रदेशको आयोजनामा विराटनगरमा सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले चार वर्षदेखि प्रदेशका साझा समस्या उठाउँदै आए पनि समाधानका लागि अपेक्षित पहल हुन नसकेको बताए।

संविधानले प्रदेशलाई दिएका अधिकार कार्यान्वयन नहुँदा र संघीय कानुन तथा नीतिगत जटिलताका कारण प्रदेशले बनाएका कानुनसमेत कार्यान्वयन गर्न समस्या भइरहेको उनले उल्लेख गरे। संविधानप्रदत्त अधिकार हस्तान्तरण, आवश्यक संघीय कानुन निर्माण र वित्तीय संघीयतालाई प्रभावकारी बनाउन संघ सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशले घरेलु मदिराको ब्रान्डिङ तथा बजारीकरण व्यवस्थित गर्न कानुनी व्यवस्था गरे पनि अन्तःशुल्कसम्बन्धी संघीय कानुनका कारण कार्यान्वयनमा समस्या रहेको बताए। औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीसम्बन्धी कानुन कार्यान्वयनमा पनि संघीय कानुनी व्यवस्था बाधक बनेको उनको भनाइ थियो।

प्रदेशलाई आवश्यक अधिकार र स्रोतसाधन नदिने तर अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आलोचना गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले भने, “हातखुट्टा बाँध्ने, अनि दौडन सकेन भन्ने।”

तीनै तहका सरकारमध्ये प्रदेशको प्रशासनिक खर्च सबैभन्दा कम रहेको उल्लेख गर्दै उनले तथ्यभन्दा भ्रमका आधारमा प्रदेशमाथि प्रश्न उठाउने प्रवृत्तिलाई कामबाटै चिर्नुपर्ने बताए।

यसअघि २०८० असार १५ गते पोखरामा मुख्यमन्त्री पाण्डेको नेतृत्वमा पहिलो अन्तरप्रदेश मुख्यमन्त्री बैठक बसेको थियो। उक्त बैठकले १७ बुँदे साझा पत्र तयार गरी तत्कालीन प्रधानमन्त्रीसमक्ष पेस गरेको थियो। त्यसैगरी, २०८० पुस १३ गते हेटौँडामा बसेको बैठकले नौ बुँदे साझा पत्र संघ सरकारसमक्ष प्रस्तुत गरेको थियो।

अघिल्ला बैठकका निर्णयसमेत पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले प्रदेशका साझा समस्या समाधान गर्न र तीनै तहका सरकारबीच समन्वय तथा सहकार्य प्रभावकारी बनाउन संघ सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

यो पनि पढ्नुहोस् :  असल छिमेकी सहकारीको अध्यक्षमा अधिकारकर्मी सुवेदी

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22860, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   8   =