सेलिब्रेटी नेपाल। अर्घाखाँची जिल्लामा जन्मिएका बिक्रम खड्का नेपाली कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने लक्ष्यसहित अघि बढिरहेका छन्। व्यवसायलाई मुख्य प्राथमिकतामा राख्दै आएका खड्काले फुर्सदको समय नेपाली कला क्षेत्रमा समेत खर्चिने गरेका छन्।
उनले हालसम्म आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। अभिनयप्रतिको रुचि र कलाक्षेत्रमा केही गर्ने हुटहुटीले उनलाई व्यवसायसँगै मनोरञ्जन क्षेत्रमा पनि सक्रिय बनाएको छ।

कला क्षेत्रसँगै खेलकुदमा समेत रुचि राख्ने खड्काले आफ्नै क्रिकेट टिम निर्माण गरेका छन्। उनी कोशी प्रिमियर लिगमा सहभागी गोर्खा बोल्ड एभेन्जर टिमका मालिकसमेत हुन्।
व्यवसाय र खेलकुदसँगै नेपाली कला क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्ने योजनामा रहेका खड्का अब चलचित्र निर्माणमा समेत हात हाल्ने तयारीमा छन्। आफ्नै लगानीमा चलचित्र निर्माण गर्ने योजनाअनुसार उनले आवश्यक प्रक्रिया अघि बढाइरहेका छन्।

नेपाली कला क्षेत्रलाई अहिलेसम्म आफ्नो सोखका रूपमा लिँदै आएका खड्का यसलाई भविष्यमा व्यावसायिक यात्राको एउटा महत्वपूर्ण पाटो बनाउने सोचमा छन्। म्युजिक भिडियोमा अभिनय गर्दै चलचित्रसम्म पुग्ने र कलाकारका रूपमा आफ्नै पहिचान स्थापित गर्ने लक्ष्यसहित उनी निरन्तर अघि बढिरहेका छन्।










