सकिमना पुन्ही मनाउँदै नेवार समुदाय

भक्तपुर- कात्तिक शुक्ल पूर्णिमाको अवसरमा आज नेवार समुदायले घरघरमा पिँडालु र सख्खरखण्ड उसिनेर खाँदै ‘सकिमना पुन्ही’ अर्थात पिँडालु उसिन्ने पूर्णिमा मनाउँदैछन् ।
यो पुन्ही नेवार समुदायका भजन खलः, दाफा भजन खलःहरुले पर्वको रुपमा मनाउने गर्दछन् । कोजाग्रत पूर्णिमाको दिन सुरु गरिएको एक महिने रात्रिकालीन भजनकीर्तनलाई समापन गर्ने दिनको रुपमा आज पिँडालु उसिनेर खाने र नसाः (मकै, भटमास, गहुँ र ताय)बाट भगवानका आकृति बनाइ त्यसलाई प्रसादको रुपमा बाँड्ने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।
यस दिन नेवार समुदायमा आ–आफ्नो टोलमा रहेका दाफा भजन खलःले नसाःबाट मठमन्दिर तथा भगवानको आकृति बनाउँछन् । आकृति बनाउँदा गहुँ विछ्याएर ताय (धानको लावा) र कालो भटमासले भगवानको स्वरुप बनाइने उहाँले बताउनुभयो । “उक्त स्वरुपलाई चारैतिर भुटेको मकैले घेरा बनाउँछन् र त्यसमाथि पुरी र माल्पुवाले घेरेर फुलको मालाले शुङ्गारपटार गरी दक्षिणा चढाइ दियो बालेर भजनकीर्तन गाउने गर्छन्”, श्रेष्ठले भन्नुभयो ।
कोजाग्रत पूर्णिमाको दिनदेखि दैनिक रुपमा हुने भजनकीर्तन आज समापन हुने भएकाले नेवार समुदायका प्रत्येक घरमा एक÷एक जना व्रत बसी विभिन्न ठाउँका नारायण र महादेव मन्दिरमा गई पूजा गर्दछन् ।
पूजामा माल्पुवा, पुरी, नसाः, गाईको दूधले बनेको खिर, सुन्तला, बदाम, उसिनेको पिँडालु र सख्खरखण्डलगायत परिकार टोलका देवीदेवता, महादेव र नारायणलाई प्रसादका रुपमा चढाउने परम्परा रहेको श्रेष्ठले बताउनुभयो । “यसरी पूजा चढाउँदा प्रसादका रुपमा मन्दिरबाट नसाः लिएर आउने गर्छन्”, उहाँले भन्नुभयो, “साँझ चन्द्रमा उदायपछि चन्द्रमा र तुल्सीलाई गाईको दूधको अध्र्य दिई विधिवत रुपमा पूजा गरी प्रसाद चढाएर पूजा सम्पन्न गरिन्छ ।”
मन्दिरबाट ल्याइएको प्रसादस्वरुप नसाः राखेर घरका सबै सदस्यलाई पिँडालु, सखरखण्ड, माल्पुवा र पुरी प्रसाद दिई आषिश लिएर भोजन गर्ने परम्परा रहको छ । ऋतु अनुसारको भोजन भगवानलाई चढाएर मात्र खाने पर्वको रुपमा सकिमना पुन्हीलाई लिने गरिएको संस्कृतिविद प्रा डा श्रेष्ठको भनाइ थियो ।
आज विषेशगरी नारायणको पुजाआराधना गरिने हुनाले नेपाल संवत्को बाह्र महिनाको पहिलो पुन्हीमा भगवान् नारायणलगायत महादेव र आफ्नो इष्टदेवतालाई प्रसाद चढाएर खानाले पुण्य प्राप्तिका साथै शारीरिक शक्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
वर्षभरिको बाह्रवटा महिनाको प्रत्येक पुन्हीमा भगवानलाई फरक–फरक भोजन प्रसादको रुपमा चढाइने नेवार समुदायको संस्कार र संस्कृति अनुसार कात्र्तिक शुक्ल पुन्हीको दिन कण्डमूल, खिर र नसाःलाई प्रसादको रुपमा चढाइने संस्कृतिकर्मी बताउँछन् ।
नेवार समुदायले ऋतु अनुसारको उब्जनी भएका अन्न पहिला आफ्नो ईष्ट देवतालाई चढाएर मात्र खाने प्रचलन अनुसार आजको दिन पिँडालु, सख्खर खण्ड, नसाः लगायतका भोजन चढाएर मात्रै खाने प्रचलन रहेको श्रेष्ठले बताउनुभयो । यसले शरीरमा ताकत दिनुका साथै शरीर स्वस्थ हुने जनविश्वास रहेको उहाँको भनाइ थियो ।
अन्नपातबाट बनाइएका भगवानको आकृतिबाटै मठमन्दिर तथा मूर्तिको विकास भएको पुरोहित एवं संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताउनुभयो । उहाँका अनुसार आदिमकालमा मानिसले अन्नपात उत्पादन गर्न नजानेको समयमा कण्डमूललाई सबै भन्दा पहिलो भोजनका रुपमा ग्रहण गरेका थिए ।
“पछि मानिसले अन्नबाट विभिन्न मठमन्दिर र भगवानको आकृति कोरेपछि विस्तारै यसको विकसित रुपमा विभिन्न मठमन्दिरको निर्माण हुन थाल्योे”, पुरोहित राजोपाध्ययले भन्नुभयो, “त्यसको स्वरुप सकिमना पुन्हीका दिन नसाःमा भगवानको आकृति बनाएर पूजा गरी कण्डमूललाई प्रसादका रुपमा चढाएर खाने प्रचलन थालेको हो ।” उहाँका अनुसार नसाःलाई सकिमना पुन्हीको दिनमा मात्र नभइ गणेश चतुर्थीका दिनमा पनि प्रसादको रुपमा चढाइ विधिवत् रुपमा पूजा गर्ने परम्परा रहेको छ ।
साथै गुफा राख्दा गुफा बसेका बालिकालाई सूर्यसँग विवाह गर्ने क्रममा पनि प्रसादस्वरुप नसाः खुवाउन जाने परम्परा रहेको पुरोहित राजोपाध्ययले बताउनुभयो । नेवार समुदायमा जन्म दिनको अवसरमा भुटेको मकै, गहुँ, भटमासलगायतको समिश्रणबाट बनाइएको नसाः दान गर्ने प्रचलन रहेको उहाँको भनाइ थियो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ९, मंगलवार ०८:२२चाम्सको निर्देशनमा मदनकृष्ण श्रेष्ठको जीवनमाथि चलचित्र ‘मदनकृष्ण’ बन्ने
खेलकुद२०८३ असार ९, मंगलवार ०७:०६मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा
समाचार२०८३ असार ९, मंगलवार ०६:५९सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ८, सोमबार १२:५७नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा








