प्राधिकरणले बेच्यो रु १५ अर्ब २४ करोडको बिजुली

काठमाडौ – यस वर्षको वर्षायाममा रु १५ अर्ब २४ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।
प्राधिकरणले यस वर्षको जेठदेखि २० मङ्सिरसम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी रु १५ अर्ब २३ करोड ८० लाख आर्जन गरेको हो । प्राधिकरणले यस अवधिमा दैनिक रुपमा अधिकतम सात सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७७ पैसा छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि २० मङ्सिरसम्ममा रु १३ अर्ब २३ करोड ६७ लाखको विद्युत् निर्यात गरिएको छ । यस अवधिमा एक अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ९६ पैसा छ ।
सुक्खायाम सुरु भएसँग खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका जलविद्युत् गृहहरुबाट उत्पादन घट्न सुरु भएको छ । तर जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भएको छ । शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द हुनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रुपमा विद्युत्को अधिकतम माग एक हजार सात सय मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको बताउनुभयो । “अहिले विद्युत् उत्पादन र माग करिब करिब बराबरी छ, हाम्रा अर्धजलाशययुक्त विद्युत् गृहहरुमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक सययमा चलाइरहेका छौँ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।
“पिक समयमा आयात गर्दा विद्युत्को दर महँगो पर्छ भने दिउँसो र रातिको दर सस्तो पर्छ, त्यसैले देशभित्रका अर्धजलाशययुक्त आयोजनाहरुमा दिउँसो र राति पानी जम्मा गरी उक्त समयमा आयात गर्दा सस्तो दरमा पाइने विद्युत् थोरै परिमाणमा मात्र आयात सुरु गरिएको छ”, उहाँले भन्नुभयो ।
उहाँले चैत र वैशाखमा विद्युत् आयातको परिणाम केही बढेता पनि यस वर्ष आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था प्रक्षेपण गरिएको जानकारी दिनुभयो । “आगामी वैशाखको दोस्रो हप्ताबाट विद्युत् निर्यात पुनः सुरु हुने छ । यस वर्ष करिब नौ सय मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिँदैछ, त्यसैले अर्को वर्ष करिब रु २५ अर्बको विद्युत् निर्यात हुनेछ”, घिसिङले थप्नुभयो, “दुई देशबीचको प्रसारण सञ्चालन सुधारका लागि ठूलो क्षमताका लाइनहरु बनिरहेका छन् भने देशभित्र पनि जलविद्युत् आयोजनाहरुको निर्माण भइरहेका छन् त्यसैले आगामी पाँच वर्षभित्रमा वार्षिक रुपमा करिब रु एक खर्ब बराबरको विद्युत् निर्यात हुने अवस्था बनिरहेको छ ।”
प्राधिकरणले जेठमा रु २१ करोड ६० लाख, असारमा रु एक अर्ब ७८ करोड ५३ लाख, साउनमा रु दुई अर्ब १४ करोड ७६ लाख र भदौमा रु तीन अर्ब ४७ करोड ८५ लाख बराबरको विद्युत् निर्यात गरेको छ । यसैगरी, असोजमा रु चार अर्ब १७ करोड ७७ लाख, कात्तिकमा रु दुई अर्ब ६९ करोड ७० लाख र २० मंसिरसम्ममा रु ७३ करोड ५९ लाख विद्युत् निर्यात गरी आर्जन भएको छ ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब एक सय १० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको थियो । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरेको थियो ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै पाँच सय २२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय ४७ मेगावाट र एनभिभिएनलाई एक सय १० मेगावाट गरी छ सय ५७ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २९, बुधबार २३:२२चलचित्रमार्फत पर्यटन प्रवर्द्धन : विकास बोर्ड र पर्यटन बोर्डबीच चार बुँदे सहकार्य
समाचार२०८२ माघ २९, बुधबार १९:२५रवि-बालेन एकता रहरको होइन,अरूले कसैले गराइदिएका हुन्- काँग्रेस प्रवक्ता
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २९, बुधबार १६:०८चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
समाचार२०८२ माघ २९, बुधबार १३:४९जलवायु परिवर्तनसँगै पूर्वाधार विकास, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा








