Home राजनीति प्रधानमन्त्रीलाई काम गरेर देखाउन कांग्रेस महामन्त्री थापाको आग्रह

प्रधानमन्त्रीलाई काम गरेर देखाउन कांग्रेस महामन्त्री थापाको आग्रह

20
0
कटारी – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न सोध्ने बेला भएको बताउनुभएको छ । नेपाली कांग्रेस उदयपुरको प्रथम जिल्ला सम्मेलनलाई आज कटारीमा सम्बोधन गर्दै उहाँले एक वर्षभित्रमा प्रधानमन्त्रीले भनेको जस्तो काम किन गर्न सकिएन भनेर सोध्ने बेला आएको बताउनुभयो ।
पुस १० गते प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएको भन्दै कांग्रेस नेता थापाले आगामी माघ १० गतेसम्म एकपटक पनि कतै केही नबोली काम गर्ने प्रतिबद्धता जनाउन आग्रह गर्नुभयो । “माघ १० गतेसम्म केही उद्घाटन गर्दिन, शिलान्यास गर्दिन, केही बोल्दिन बिहानदेखि बेलुकासम्म काम गर्छु भन्नुभएको छ”, महामन्त्री थापाले भन्नुभयो, “हामीलाई बोल्ने मात्रै मान्छे होइन काम गर्ने मान्छे चाहिएको छ ।”
विसं २०६० देखि आन्दोलन सफल होला, संविधान बन्दा देशमा केही होला भनेर पर्खिएका जनता अहिलेसम्म निराश रहेको नेता थापाको भनाइ थियो । “त्यसैले हामीले अब कामको परिणाम देखाउनुपर्छ”, थापाले भन्नुभयो, “२०८४ को चुनाव हारिएला भन्ने होइन, चुनाव हारे पनि केही हुन्न, तर जनतालाई कामको परिणाम देखाउन कांग्रेसले केही गर्नुपर्छ ।” भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने कांग्रेसको दायित्व रहेको उहाँले बताउनुभयो ।
कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्गदेम्बेले कांग्रेसले देशलाई अप्ठ्यारो पर्दा भरोसा दिनुपर्ने बताउनुभयो । गणतन्त्र, सङ्घीयता, समावेशिता, लोकतन्त्रमाथि कुदृष्टि राख्नेप्रति सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
नेतृ डिला सङ्ग्रौलाले तीन तहमा कांग्रेस सरकारमा रहेकाले कांग्रेसले जनताको अधिकार दिन सक्यो की सकेन भन्ने विषयमा छलफल गर्नुपर्ने बताउनुभयो । जिल्ला सभापति हिमाल कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रम पश्चात बन्दसत्रमा सङ्गठनका बारेमा थप छलफल गरिने सम्मेलन आयोजक समितिका संयोजक राजेशचन्द्र श्रेष्ठले बताउनुभयो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleप्रहरीको गाडीबाट हत्कडी सहित थुनुवा फरार
Next articleअर्थतन्त्रका अधिकांश सूचकहरूमा राम्रो प्रगति भएको छ : प्रधानमन्त्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here