अस्पताल निर्माण गर्न चार वर्षदेखि जग्गाको खोजी

ढोरपाटन, पुस २६ । सङ्घीय सरकारले आर्थिक वर्ष २०७७/०७८ मा बागलुङका आठ पालिकालाई आधारभूत अस्पताल निर्माणका लागि छनोट गरेको थियो । जिल्लामा १० पालिका रहे पनि काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाबाहेक अन्य स्थानीय तह अस्पताल निर्माणका लागि छनोट भए ।
अहिले केही पालिकाले स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी पालिका स्तरीय आधारभूत अस्पतालको सेवा प्रवाह गरिरहेका छन् भने कहीँ पालिकामा अस्पताल निर्माणाधीन छन् । कतिपय पालिकाले अहिलेसम्म कहाँ अस्पताल बनाउने भन्ने टुङ्गोसमेत लगाउन सकेका छैनन् । हाल जिल्लाको गलकोट नगरपालिका र तमाखोला गाउँपालिकाले सेवा सुरु गरी रहेका छन् ।
गलकोटले हरिचौर स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पतालबाट हुने सेवा प्रवाह गरेको छ, भने तमानखोलाले बोङ्गादोभान स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी सेवा सुरु गरेको हो । गलकोटले गत वर्ष पुस १७ गतेदेखि १५ शय्याको नगर अस्पताल सुरु गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए। नगर अस्पताल निर्माणका लागि सङ्घीय सरकारले रु १८ करोड विनियोजन गरेको उनको भनाइ छ । उनले भवन निर्माणका लागि हाल सञ्चालन रहेको अस्पताल छेउमा जग्गा व्यवस्थापन भइरहेको जानकारी दिए ।
हाल अस्पतालमा एक विशेषज्ञ चिकित्सक, एक मेडिकल अधिकृत, छ जना नर्सिङ, हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोक्राफर एक, डेल्टलहाइजेनिस्ट एक, ल्याब टेक्निसिएन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी पाँच र एक जना एम्बुलेन्स चालक रहेको उनको भनाइ छ । अस्पताललाई थप व्यवस्थापन गर्नका लागि थप भवन आवश्यक रहेको प्रवक्ता भण्डारीले बताए । जग्गा खरिदका लागि अहिले आर्थिक सङ्कलन भइरहेको उहाँले जानकारी दिए ।
प्रवक्ता भण्डारीले भने, ‘पोहोर साल कार्यपालिकाले निर्णय गरेर नगर अस्पताल सञ्चालन गरेका छौँ, एक जना विशेषज्ञ डाक्टर पनि हुनुहुन्छ, मेडिकल अधिकृत पनि हुनुहुन्छ, अहिले यहाँको स्वास्थ्य सेवामा ठूलो परिवर्तन आएको छ, स्वास्थ्यचौकीको भवनबाट सेवा दिई राखेका छौँ, अब छिट्टै जग्गा व्यवस्थापन हुनेछ, जग्गा व्यवस्थापन भयो भने नयाँ भवन बनाउने प्रक्रिया अगाडि बढाउँछौँ, नगर यहाँ सेवा सुरु भएदेखि पोखरा, काठमाडौँ र बागलुङ जान परेको छैन ।’
तमानखोलाले पनि बोङ्गादोभान स्वास्थ्यचौकीबाट आधारभूत अस्पतालको सेवा सुरु गरेको छ । यस पालिकामा पाँच शय्याको आधारभूत अस्पताल बन्ने छ । जसका लागि सङ्घीय सरकारले रु ११ करोड विनियोजन गरेको छ । गाउँपालिकाले यही पुस ३ गतेदेखि आधारभूत अस्पालको सेवा सुरु गरेको स्वास्थ्य शाखा संयोजक तिलक छन्त्यालले बताए । गाउँपालिकाले एक जना मेडिकल अधिकृत, एक जना स्वास्थ्य सहायक, दुई जना अहेव, तीन जना अनमी, एक जना ल्याब असिस्टेन्टको व्यवस्थापन गरी सेवा प्रवाह गरेको उनको भनाइ छ ।
‘स्वास्थ्य मन्त्रालयले पठाएको नमूना दरबन्दीअनुसार जनशक्ति नहुँदा गाउँपालिकाले एक जना मेडिकल अधिकृतसहित एक जना अनमी र एक जना कार्यालय सहयोगी थप गरी स्वास्थ्यचौकीमा मौजुदा रहेका कर्मचारीबाट आधारभूत अस्पताल तहको सेवा प्रवाह गर्न थालेका छौँ’, संयोजक छन्त्यालले भने, ‘अस्पताल बनाउनका लागि जग्गा प्राप्त भएको छ, तर विभिन्न प्रक्रिया नपुग्दा निर्माण हुन सकेको छैन, अब केही समयमै भवन बनाउने छौँ ।’
बागलुङ नगरपालिकाले वडा नम्बर १३ स्थित पैयुँपाटा स्वास्थ्यचौकीबाट नगर अस्पतालको सेवा प्रवाह गर्दै आएको छ । पन्ध्र शय्याको अस्पताल निर्माणको अन्तिम चरणमा रहेको भन्दै दुई वर्ष अगाडिदेखि यहाँ नगरपालिकास्तरीय अस्पतालको स्वास्थ्य सेवा दिइएको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । अस्पताल निर्माणका लागि सङ्घीय सरकारले रु १८ करोड विनियोजन गरेको उनको भनाइ छ । अस्पतालमा एक जना एमबिजिपी, तीन जना मेडिकल अधिकृत, चार जना स्वास्थ्य सहायकलगायतका जनशक्ति रहने प्रावधान रहे पनि अहिले कार्यरत एक जना मेडिकल अधिकृत, एक जना जनस्वास्थ्य निरीक्षक, एक जना स्वास्थ्य सहायक, एक जना स्टाफ नर्स, एक जना सिनियर अनमी, अनमी र एक जना ल्याब असिस्टेन्ट कार्यरत रहेको खनालले बताए ।
ढोरपाटन –९ पाखाथर उपत्यकामा १५ शय्याको अस्पताल बन्न थालेको १५ महिना भए पनि यस अवधिमा ४० प्रतिशत काम भएको छ । समयमै भुक्तानी नहुँदा हाल काम रोकिएको छ । विसं २०८२ असार २३ सम्ममा सकी सक्नुपर्ने अस्पतालको भवन करिब आधा सकिँदा पनि कामअनुसारको भुक्तानी नभएको निर्माण कम्पनी एसी कन्ट्रक्सनका प्रमुख दीपक अदैले बताए। अस्पातलको भवन निर्माणका लागि रु १२ करोड ९६ लाखमा जिम्मा उहाँको भनाइ छ । काम गर्नुभन्दा पहिले सुरुमा पेश्की रकम रु दुई करोड ४६ लाख मात्रै आएको उनले बताए । तीन महिना अगाडि रु छ करोड ६१ लाखको बिल नगरपालिकामा पठाए पनि हालसम्म भुक्तानी नभएको अदैको भनाइ छ ।
निसीखोला गाउँपालिका–४ झिम्पामा दुई वर्ष अगाडि सुरु भएको १० शय्याको पालिका स्तरीय आधारभूत अस्पतालको काम हालसम्म ८५ प्रतिशत काम सकिएको छ । यही पुस महिनामा सम्पन्न गर्ने गरी निर्माण भए पनि बजेट अभावका कारण काम हुन सकेको छैन । गाउँपालिकाले रु १० करोड ९४ लाखको ‘स्टिमेट’ गरेकोमा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले रु आठ करोड २४ लाखमा निर्माण गर्ने गरी जिम्मा लिएर काम गरेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए । सङ्घीय सरकारले बजेट पठाए काम सुरु हुने जनाइएको छ ।
बडिगाड गाउँपालिका–५ को रिखेटारीमा १५ शय्याको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिए । केन्द्र सरकारले विनियोजन गरेको रु २४ करोड विनियोजन गरेको बजेटले काम भएको उनको भनाइ छ । अस्पतालको काम ९० प्रतिशत सकिएको भण्डारी बताउँछन् । हाल सात वटा स्वास्थ्यचौकी र चार वटा आधारभूत स्वास्थ्य केन्द्रबाट बडिगाडका नागरिकले स्वास्थ्य सेवा लिएको उनी बताउँछन् ।
जिल्लाको ताराखोला गाउँपालिकामा तीन वर्ष अगाडिनै पालिका स्तरीय पाँच शय्याको अस्पताल निर्माण गर्ने भनिए पनि अहिलेसम्म जग्गा व्यवस्थापन हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए । जग्गा व्यवस्थापनको प्रक्रियामा रहेको जनाउँदै मापदण्डअनुसारको पाइए कामलाई अगाडि बढाउने उनको भनाइ छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २३, सोमबार १७:३०‘कुलिङ अफ पिरियड’ गडबडी छानविन गर्न संसदीय विशेष समिति गठन
कला, विचार/मनोरञ्जन२०८२ असार २३, सोमबार १७:२३‘मोहर’को ‘झुम झुम झुम्किका’मा नाँचे पल र बेनिशा
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २३, सोमबार १०:०५लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा
समाचार२०८२ असार २३, सोमबार ०७:१२सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता