शुल्क तिर्न नसक्दा विद्यालयले दिएन शैक्षिक कागजात, अधुरै रह्यो अभिभावक गुमाएकी खेलाडीको उच्च शिक्षाको सपना

कञ्चनपुर, १२ फागुन । कराँते खेलाडी रिया पुजाराले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको सात महिना भए पनि ‘प्लस टू’को प्रमाणपत्र भने लिन सकेकी थिइनन् । उनका सहपाठी स्नातक तहमा भर्ना भइसकेका छन् तर उनी भने घरमै थन्किएकी छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकीकी रियाले स्थानीय डायमण्ड पब्लिक ऐकेडेमीबाट ‘प्लस टू’ उत्तीर्ण गरेकी हुन् । उनी उक्त विद्यालयमा कक्षा ३ देखि पढ्न थालेकी हुन् ।
कक्षा ३ देखि हालसम्मको शुल्क तिर्न नसक्दा रियाले स्नातक तह पढ्न नपाएकी हुन् । यसबीचमा शैक्षिक प्रमाणपत्रका लागि उनी पटक–पटक विद्यालय धाइन् तर धेरै शुल्क रकम तिर्न बाँकी रहेकाले विद्यालयले शैक्षिक कागजात दिन मानेन ।
केही दिनअघि कराँतेका पूर्वप्रशिक्षक मकेन्द्रबहादुर सिंहले रियाको हालसम्मको शुल्क तिरिदिएपछि प्रमाणपत्र उनको हातमा परेको छ तर स्नातक तह पढ्न बाटो खुले पनि उनको कमजोर आर्थिक अवस्थाका कारण हालसम्म क्याम्पस भर्ना हुन सकेकी छैनन् । उच्च शिक्षा हासिल गर्न उनी आर्थिक जोहो कसरी गर्ने भन्ने चिन्तामा छन् ।
‘कक्षा ३ देखि ‘प्लस टू’सम्मको तीन लाख ६१ हजार रुपैयाँ शुल्क तिर्न बाँकी थियो’, रियाले भनिन्, ‘आर्थिक अवस्था कमजोर हुँदा शुल्क तिर्न सकेकी थिइनँ ।’ पूर्वप्रशिक्षक सिंहले विद्यालयको दुई लाख ५० हजार रुपैयाँ शुल्क तिरेपछि रियाले सात महिनापछि विद्यालयबाट एसइई र ‘प्लस टू’ को प्रमाणपत्र पाएकी छन् । अब उनी स्नातक तह पढ्नेबारे योजना बुन्दैछिन् ।
पछिल्लो समय अमेरिकामै बस्दै आएका पूर्वप्रशिक्षक सिंह यही फागुन पहिलो साता महेन्द्रनगरमा आयोजना गरिएको सुदूरपश्चिम प्रदेशस्तरीय सितोरियो कराँतेको दीक्षान्त समारोहमा भाग लिन आएका थिए ।
त्यही क्रममा रियाको सिंहसित भेट भयो । उनको आर्थिक अवस्थाका बारेमा कराते प्रशिक्षक बिमल खडायत, मदन नाथ र दीपक चन्दले कराते महासङ्घका केन्द्रीय उपाध्यक्षसमेत रहेका सिंहलाई अवगत गराए ।
‘मकेन्द्र गुरु मेरो बारेमा जान्न बुझ्न घरमै आए’, रियाले भनिन् । अवस्था अवगत भएपछि पूर्वप्रशिक्षक सिंहले विद्यालयमै पुगेर रियाको दुई लाख ५० हजार रुपैयाँ शुल्क तिरिदिए ।
विद्यालयले अढाइ लाख शुल्कमै शैक्षिक प्रमाणपत्र उपलब्ध गराएको उनले बताइन् । बाँकी एक लाख ११ हजार रुपैयाँ शुल्क उनको विद्यालयले मिनाहा गरिदियो ।
अठार वर्षीया रिया कराँतेकी पदकधारी खेलाडी हुन् । शुल्क तिर्न बाँकी रहेको कुरा उनले साथीभाइ र प्रशिक्षकहरुलाई अवगत गराएकी थिइन् तर कहीँकतैबाट पनि सहयोग जुटेन ।
‘शैक्षिक प्रमाणपत्र लिन पटक पटक विद्यालय धाए, तर विद्यालय प्रशासनले शुल्क नतिर्दा दिन नसकिने बतायो’, रिया भन्छिन्, ‘शुल्कका विद्यालयबाट फोन आउन थालेपछि दुई महिनासम्म मोबाइल बन्द गरेर बसेँ ।’
रिया कराँतेको ५० तौल समूहमा प्रतिस्पर्धा गर्दै आएकी छन् । उनले २०७४ माघदेखि करोत खेल्न थालेकी हुन् । यसबीचमा रियाले छवटा पदक प्राप्त गरेको बताइन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ मंसिर ८, आईतवार ०९:५५सोमबार जनकपुरसँग विराटनगर र कर्णालीसँग सुदूरपश्चिम भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८२ मंसिर ८, आईतवार ०८:२३आधुनिक हतियारसहित एक युवक पक्राउ
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ८, आईतवार ०७:४६चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ७, शनिबार १९:३१चलचित्र ‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई सहयोग र छुट दिने







