Home कला, विचार/मनोरञ्जन अफगान युद्धमा गोली लागेर बेहोस भएको सुनाउँदा भावुक भए अभिनेता रितेश

अफगान युद्धमा गोली लागेर बेहोस भएको सुनाउँदा भावुक भए अभिनेता रितेश

4
Google search engine

काठमाडौं। फागुन ११ गतेबाट प्रदर्शन भईरहेको चलचित्र ‘गोर्खा वारियर’को अभिनेता रितेश चाम्सले मंगलवार एक समारोहमा आफ्नो आँशु रोक्न सकेनन् । यो चलचित्रको निर्माण टिमले सञ्चारकर्मीलाई धन्यबाद ज्ञापन गर्न राखेको ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा पत्रकारद्धारा सोधिएको एउटा प्रश्नको जवाफमा रितेशले आफ्नो बास्तविक कथा सुनाउँदै सबै भावुक भएका हुन् ।

आफु बेलायती सेनामा भएको र अफगानिस्तानको युद्धमा बेलायतको तर्फबाट भाग लिएको घटना उनले यस अघि लुकाउँदै आएका थिए । युद्धको दर्दनाक पीडा उनले अहिलेसम्म खोल्न चाहेका थिएनन् । आफ्नो त्यो कालो इतिहाँस भएकाले सुरुमा उनले बताउन चाहेनन् । सञ्चारकर्मीको आग्रहमा उनको त्यो घटनाबारे निर्देशक मिलन चाम्सले केही खुलासा गरेपछि अभिनेता रितेशले आफ्नो कथा यसरी सुनाए ।

‘म गाउँमा सामान्य परिवारमा जन्मेको हुँ । स्कुलको पढाई सकिएपछि बैदेशिक रोजगारीमा जाने निर्णय गरेँ । मसँग अमेरिका, अष्ट्रेलिया जाने पैसा नभएका कारण बेलायती सैनिकमा भर्ती लाग्नुबाहेक अरु बिकल्प थिएन, त्यसैले म बेलायती सेनामा भर्ती लागेँ ।’

यसरी बेलायती सेनामा सिपाहींको रुपमा छानिएपछि नेपालबाट बेलायत जाने क्रममा रितेशले पहिलो पटक हवाईजहाज चढ्ने अबसर पाए । त्यतिबेला आकाशमा यती ठुलो जहाज उडेको देखेर उनी छक्क परे । त्यो जहाज कसरी उड्छ भनेर उनमा कौतुहलता जाग्यो र भविष्यमा आफुले पनि जहाज उडाउने सपना उनले सोही दिन साँचे ।

‘बेलायती सेनामा केही वर्ष जागिर खाएपछि मैले बिदा लिएर पाईलट कोर्ष गर्ने निर्णय लिएँ र त्यो कार्षको तयारीमा जुट्दै थिएँ । एक्कासी मलाई अफगानिस्तानको युद्धमा पठाउने निर्णय मेरो अफिसरहरुले गर्नु र त्यो निर्णयलाई मैले मान्नु बाहेक अरु बिकल्प थिए ।’ त्यतिबेला अफगानको युद्धमा बृटिस गोर्खा सेनाका नेपालीहरुको मृत्यु र घाईतेको खबर आईरहेको थियो । तैपनि शिरमा कात्रो बाँधेर गोर्खालीहरुको इज्जत जोगाउन र कतव्र्य पुरा गर्न उनले अफगानिस्तान जाने निर्णय गरे ।

‘हामी अफगानिस्तानको मरुभूमिमा झर्दै थियौं, जताततै धुलो उडेको थियो । हाम्रो हेलीकोप्टरमाथि लगातार तालिवानले गोली बारुद बषाएका थिए । हेलिकोप्टरबाट झरेर जवाफी फायर गर्ने क्रममा मेरो तिघ्रामा कतीबेला गोली लाग्यो मैले वास्तै गरिन् । तिघ्रामा पालेको जस्तो लागेको थियो, एकछिनमा म रगताम्मे भएछु भने मलाई छाडेर हेलिकप्टर माथि आकाशमा उड्न थालेको थियो । तर माथिबाट एकजना अफिसरले मलाई तर लडेको देख्नु भएपछि उहाँहरुले सबैको ज्यान जोखिममा पारेर भएपनि मलाई त्यहाँबाट उद्दार गरेर हेलिकोप्टरमा लानु भएछ । म चार दिनपछि होसमा आउँदा अस्पतालको बेडमा थिएँ र मेरो एउटा खुट्टा नचल्ने अबस्थामा थियो ।’

यो सुनाउँदै गर्दा निकै भावुक हुँदै रितेशले भने,‘जब मलाई डक्टरहरुले अब तिम्रो एउटा खुट्टा चल्दैन भन्नु भयो, त्यतिबेला मैले आफ्ना सबै सपनाहरु तुहिएको महसुुस गरेँ । अस्पतालबाट डिस्चार्ज भएर म यस्तो डिप्रेसनमा गएँकी मलाई सामान्य हुन तीन वर्ष लाग्यो । तर मैले हिम्मत हारिन् । सबै प्रकारको थेरापी र आत्म विश्वासका कारण तीन वर्षमा म राम्ररी हिड्न सक्ने भएँ र सामान्य जीवनमा आएँ । त्यसपछि मैल अमेरिकाबाट पाईलटको कोर्ष पुरा गरेर इन्टरनेशलन हवाई जहाज उडाउन थालेका हुँ ।’

डक्टरले उनलाई ‘डिसेबल’को प्रमाणपत्र दिएपछि बेलायत सरकारले पनि रितेशलाई सेनाबाट सोही प्रमाणपत्रको कारण अबकास दियो । तर रितेशले आत्म विश्वास गुमाएनन्,‘मैले आफुलाई सामान्य नागरिकझैं प्रस्तुत गर्न तेक्वान्डो खेल्दै गएँ र आफुलाई शारीरिक एवम मानसिक रुपमा फिट बनाएँ । अहिले म तेक्वादोमा थ्रि डान बन्न सफल भएको छु । मैले सो क्रममा नेपालको ८००० मिटर माथिको हिमाल पनि चढेँ भने स्काई डाईभिङ पनि गरेँ । बेलायतबाटै अभिनयमा मास्टर डिग्री गरेपछि बल्ल म चलचित्र गोर्खा वारियरमा अभिनेता बन्न सफल भएको हुँ ।’

चलचित्र गोर्खा वारियर नै खेल्नुको कारणबारे रितेशले भने,‘मेरा हजुरबुबा पनि ब्रिटिस सेनाको सिपाही हुनुहुन्थ्यो र उहाँ मलायको युद्धमा घाईते हुनु भएको थियो । म पनि बेलायती सेना भएर अफगानिस्तानको युद्धमा घाईते भएको थिएँ । गोर्खा वारियरको कथा हजुर बुबाको, मेरो र हामीजस्ता कैयौं बास्तविक वारियर सिपाहीहरुको कथा थियो । जसरी भए पनि यो फिल्म खेल्नु पर्छ भनेर निर्देशकज्यूले भनेका सबै प्रकारका शारीरिक तथा मानसिक अभ्यासमा पास भएर यो फिल्ममा म छानिएको हुँ ।’
आँखाबाट आँसु पुच्दै अभिनेता रितेशले भने,‘युद्धदेखि जनयुद्धसम्म गोली लागेका हजारौं सिपाहीहरुको नेतृत्व गर्दै उहाँहरुको हौसला बढाउन पनि मैले यो फिल्म खेलेको हुँ । गोली लागेर डाक्टरले डिसेबल भनेका हामीजस्ता योद्धाले त्यसपछि पनि आफुलाई समाजमा सक्षम रुपमा प्रस्तुत गर्न सक्छन भनेर देखाउनु पनि मेरो उदेश्य थियो ।’ आफ्नो नीजि पीडा अरुलाई किन सुनाउनु भनेर यो कुरा यस अघि लुकाएको उनले बताए । यसरी उनले आफ्नो पीडा सुनाउँदा कार्यक्रममा सञ्चारकर्मीको पनि आँखा रसाएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here