शुक्रवार विराटनगरमा नेकपा एमाले कोशी प्रदेश अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकको निर्वाचन प्रणालीका कारण राजनैतिक स्थिरता आउन नसक्ने भएकाले पार्टी सुदृढ र सुसंगठित बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
उहाँले राजनैतिक स्थिरता नभए कुनै पनि पार्टी आफ्नो नीति तथा कार्यक्रम लागू गर्न नसक्ने भएकाले निर्वाचन प्रणाली सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकमा केही तत्वले राजनैतिक स्थिरता नचाहेको गुनासो समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र अत्यन्त खराब अवस्थामा पुगेको, शान्ति सुरक्षाको स्थिति संवेदनशिल बनेेको, जातिय तथा साम्प्रदायिक सद्भाव भड्काउने प्रयास भईरहेकेा बेला मुलुकको कार्यकारी प्रमुख लामो विदेश भ्रमणमा जानु गलत भएको टिप्पणी गर्नुभयो ।
उहाँले विदेश भ्रमणमा गएपनि मुलुकको सार्वभौमिकता र सिमा मिचिएको कुरा समेत नउठाउने अर्को लज्जाजनक कार्य भएको बताउनु भयो ।
दुई दिनसम्म चल्ने कोशी प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । सो अधिवेशनमा कोशी प्रदेशका १ सय ३७ वटा पालिका र विभिन्न भातृ संघ संगठनका करिब १ हजार ५० जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।