Home राजनीति अमेरिका र चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री आज स्वदेश फर्कंदै

अमेरिका र चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री आज स्वदेश फर्कंदै

3
0
अमेरिका र चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री आज स्वदेश फर्कंदै

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ । अमेरिकापछि आठ दिनको चीन भ्रमण सकेर उहाँ स्वदेश फर्कन लाग्नुभएको हो ।

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो । संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उहाँले सम्बोधन गर्नुभयो ।

न्युयोर्कमा रहँदा उहाँले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग विशेष भेटवार्ता गर्नुभएको थियो । साथै उहाँले अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभयो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिकाबाट सिधै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । चीनमा रहँदा उहाँले चीनका राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुभयो ।

सो क्रममा उहाँले चीनमा भएको एसियाली खेलकुदलगायत विविध समारोहमा सहभागिता जनाउनुभएको थियो । त्यस्तै प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग राजधानी बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय वार्ता गर्नुभयो ।

त्यस क्रममा दुई देशबिच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उहाँ चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणपछि आज स्वदेश फर्कन लाग्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleलण्डन फिल्म फेस्टिभलको डेलिगेटको रुपमा छनोट भए भरत रेग्मी
Next articleकाठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै