पोखरामा ‘सापू’का बिरामी बढे

गण्डकी, १८ असोज । पोखरा आसपासमा आँखाको रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामी बढेका छन् । महिनादिनमा २६ जनामा ‘सापू’को सङ्क्रमण भेटिएको पोखरास्थित हिमाल आँखा अस्पतालले जनाएको छ ।
“यस वर्षको पहिलो बिरामी पहिचान गत भदौ २४ गते भएको हो, गएको मङ्गलबारसम्ममा २६ जनामा सापू देखिएको छ”, अस्पतालका मेडिकल निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. इलिया श्रेष्ठले भनिन्, “सङ्क्रमण विस्तारै बढ्दो क्रममा छ ।”
उनका अनुसार सो अस्पतालमा गोरखा, तनहुँ, म्याग्दी, बागलुङ, स्याङ्जालगायत ठाउँका बिरामी उपचाररत छन् । सात महिनाको शिशुमासमेत उक्त रोगको सङ्क्रमण देखिएको डा. श्रेष्ठले बताइन् ।
“सङ्क्रमणले आँखा जटिल अवस्थामा पुगेका बिरामीको पनि हामीले उपचार गरिरहेका छौँ, कोही निको भएर घर फर्किसक्नुभएको छ”, उनले भनिन्, “बेलैमा उपचार भएमा यो रोग निको हुन्छ, नत्र दृष्टि नै गुम्ने खतरा रहन्छ ।”
वर्षायाम सकिएपछि नेपालको मध्यपहाडी क्षेत्रमा ‘सापू’को सङ्क्रमण फैलने गरेको डा. श्रेष्ठले उल्लेख गरिन् । विशेष गरि असोजदेखि मङ्सिरसम्म ‘सापू’ले प्रकोपको रुप लिने गरेको उनको भनाइ छ । पहिलोपटक सन् १९७५ मा पोखराको नारायणटारमा ‘सापू’ रोग भेटिएको थियो ।
नेत्ररोग विशेषज्ञ डा. मदन उपाध्यायले यो रोग पत्ता लगाएका थिए। बर्सेनि पोखरा र आसपासका क्षेत्रमा यो रोगको सङ्क्रमण बढी देखिने गरेको हिमालय आँखा अस्पतालले जनाएको छ । बत्तीमा झुम्मिने कालो धर्सा भएको सेतो पुतलीको सम्पर्कबाट ‘सापू’ रोग लाग्ने गरेको डा. श्रेष्ठले बताइन् ।
“सापूको रोगको एकिन कारण अझै पत्ता लागेको छैन, सेतो पुतलीको रौँ आँखामा पुग्दा यसको सङ्क्रमण हुने गरेको छ”, उनले भनिन्, “लक्षण देखिएको ४८ घण्टाभित्र उपचार नपाए दृष्टि नै गुम्न सक्छ, यो रोगबारे समुदायमा सचेतनाको जरुरी छ ।”
जटिल अवस्थाका बिरामीलाई आँखाभित्र औषधिको सुइँ लगाएर शल्यक्रियामार्फत उपचार गर्ने गरिएको चिकित्सक बताउँछन् । उक्त रोगबाट जोगिन स्वास्थ्य सजगता अपनाउनुपर्ने नेत्र सहायक गणेश महतोले बताए । ‘सापू’को सङ्क्रण भएमा आँखा रातो हुने, उज्यालोमा हेर्न गाह्रो हुने, आँखाको गेडी दुख्ने, दृष्टि क्षमता कमजोर हुने जस्ता लक्षण देखिने गरेको उनको भनाइ छ ।
“रातिमा धेरै उज्यालो बत्ती बालेर नसुत्ने, हात या कुनै माध्यमबाट सेतो पुतलीको सम्पर्कका नजाने, झुलभित्र सुत्ने गरेमा सापूको सङ्क्रमणबाट जोगिन सकिन्छ”, उनले भनिन्, “सापूको शंकास्पद लक्षण देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिएर उपचार सुरु गर्नुपर्छ ।” रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









